रुकुम (पूर्व) र (पश्चिम) मा सूचनाको हक सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सोमबार राष्ट्रिय सूचना आयोग काठमाडौँको आयोजनामा रुकुमकोटमा जिल्लास्थित सरकारी कार्यालय प्रमुख, सूचना अधिकारी, सञ्चारकर्मी र विभिन्न सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम भएको हो ।
सूचनाको हक सम्बन्धिका कुराहरू सम्बन्धित सरोकारवालाहरूलाई जानकारी गराउने उद्देश्यले रुकुम (पूर्व) मा कार्यक्रमको आयोजना गरिएको आयोगले बताएको छ ।
कार्यक्रममा सूचना आयोगका उपसचिव विश्वबन्धु पौडेलले स्वागत मन्तव्य राख्दै कार्यक्रमको उदेश्य बारेमा प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा राष्ट्रिय सूचना आयोगका सचिव भागिरथ पाण्डेले सूचनाको हक सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । पाण्डेले सूचनाको हक के हो, यसका सिद्धान्तहरू, सार्वजनिक निकाय, सूचनाको हकका संवैधानिक र कानुनी पक्ष, सूचना प्रवाह गर्ने विषयहरू, सार्वजनिक कार्यालयहरूको दायित्व, सूचना अधिकारीहरूको काम कर्तव्यलगायतका विषयमा जानकारी गराउनुभएको थियो ।
आयोगका आयुक्त मैनालीको अध्यक्षतामा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समित प्रमुख गजेन्द्र बहादुर ओलीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बराल, पुथाउत्तरगंगा गाउँपालिका अध्यक्ष ओमप्रकाश घर्तीमगर, सिस्ने गाउँपालिका उपाध्यक्ष गोवर्धन बूढा, प्रमुख जिल्ला अधिकारी कृष्ण खड्का, नेपाल पत्रकार महासंघ रुकुमका अध्यक्ष लक्ष्मण केसी लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा जिल्लास्थित कार्यालय प्रमुख, कार्यालयका सूचना अधिकारी, सञ्चारकर्मी र सरोकारवालाको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन पत्रकार सर्जना कार्कीले गर्नुभएको थियो ।
रुकुम पश्चिमको मुसीकोट नगरपालिकामा सूचनाको हक सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मंगलबार सूचना हाम्रो अधिकार, सुशासन र विकासको आधार भने उद्देश्यका साथ मुसीकोटमा कार्यक्रम सम्पन्न भएको हो ।
राष्ट्रिय सूचना आयोगको आयोजना, नेपाल पत्रकार महांसघ रुकुमको सहजिकरणमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन मुसीकोट नगरपालिकाका नगर प्रमुख देविलाल गौतमले गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख गौतमले सूचना दिने कुरामा स्थानीय सरकार सँधै तत्पर रहेको बताउनुभयो । नगरपालिकामा भएका गतिविधि कार्यक्रमका विषयमा जानकारी गराउनु र त्यो विषयमा सूचना दिनु नगरपालिकाको दायित्व भएको उहाँले बताउनुभयो ।
त्यस्तै कार्यक्रममा बोल्दै विषेश अतिथि जिल्ला समन्वय समिति उपप्रमुख इन्दिरा विएमले सवै निकायले मागेको सूचना दिनु पर्ने बताउनुभयो । सूचना पाउनु सबैको अधिकार भएको भन्दै उहाँले सबै पालिकाहरूलाई मागेको सुचना दिन आग्रह गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले सबै सरकारी कार्यालयबाट दिन मिल्ले सूचना दिएको दावी गर्नुभयो ।
त्यस्तै कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ रुकुम शाखाका अध्यक्ष लक्ष्मण केसीले जिल्लाका सरकारी तथा गैर सरकारी कार्यालयमा सूचना अधिकारी तोकिए पनि सूचना अधिकारीहरूले सूचना नपाएकोले सूचना लिन अप्ठ्यारो भएको बताउनुभयो ।
कार्यक्रममा जिल्ला स्थीत सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, सूचना अधिकारी, सञ्चारकर्मी एंब सरोकारवाला निकायको उपस्थिति रहेको थियो ।
राष्ट्रिय सूचना आयोगका सूचना आयुक्त रत्नप्रसाद मैनालीको अध्यक्षतामा भएको कार्यक्रममा मुसीकोट नगरपालिकाका प्रमुख गौतमको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यस्तै जिल्ला समन्वय समितिका उपप्रमुख इन्दिरा विएम, अर्थमन्त्रीका प्रेस तथा जनसम्पर्क सल्लाहकार गोविन्द रोका, राष्ट्रिय सूचना आयोगका सचिव भगिरथ पाण्डे, प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन पत्रकार दिपेन्द्र महताराले गर्नुभएको थियो ।