रूकुम पश्चिम तरूण दलका अध्यक्ष पक्राउ

-


     सुचनाको हक     
     श्रावण ५ गते २०७९ मा प्रकाशित


रूकुम पश्चिमको बाँफीकोट गाउँपालिकामा कार्यरत सव-इन्जिनियरलाई नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दलका अध्यक्षसमेत रहेका निर्माण व्यवसायी रागेन्द्र शाही (राजु) ले कुटपिट गरेका छन्।

सव-इन्जिनियर दीपक शाहलाई बुधबार अपरान्ह ३: ३० बजे शाहीले कुटेको आरोप छ। प्रहरीले शाहीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका प्रहरी नायब उपरीक्षक विष्णु सोतीले सव-इन्जिनियरमाथि कुटपिट गरेका शाहीलाई पक्राउ गरी अनुसन्धान सुरू गरिएको बताए।

शाहीले गाउँपालिका अध्यक्ष जनककुमार बाठा मगरकै अगाडि सव-इन्जिनियरमाथि कुटपिट गरेको आरोप छ। वैशाखमा भएको चुनावमा जनककुमार नेपाली कांग्रेसबाट अध्यक्ष जितेका हुन्।

जनककुमारले शाहीलाई सम्झाउन खोजेका थिए तर उनी नमानेको गाउँपालिकाले निकालेको विज्ञप्तिमा उल्लेख छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर ओलीले सव-इन्जिनियरमाथि कुटपिट गर्नेलाई कानूनअनुसार कारबाही हुनुपर्ने बताएका छन्।

शाहीमाथि कारबाही नगर्दासम्म आफूहरूले कुनै काम पनि नगर्ने उनले विज्ञप्ति निकालेर चेतावनी दिएका छन्।

आफूले गरेको सडकको काममा कम मूल्यांकन गरेको भन्दै शाही सव-इन्जिनियरमाथि खनिएका थिए।

वडा नम्बर ९ को मोरावाङ-दोमै सडक निर्माणको जिम्मा शाहीले लिएका थिए। उक्त सडकको मूल्यांकन गर्ने विषयमा उनीहरूबीच बिबाद भएको थियो।

गाउँपालिका अध्यक्ष जनककुमारले घटनाबारे बताउन चाहेनन्। उनले आफू बैठकमा रहेको बताएका थिए।

प्रहरीका अनुसार जाहेरी दिन पीडि पक्ष आज प्रहरीकोमा आउने तयारीमा छन्।

सव-इन्जिनियर कुटपिट अभियोग लागेका तरूण दल अध्यक्ष शाही भने हिरासतमा छन्।