बिदामा बसेका आफ्ना कर्मचारीमाथि कुटपिट भएकोमा झापास्थित जीवन विकास लघुवित्तले आपत्ति जनाएको छ ।
नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्थाहरूलाई कर्जा कारोबारको आधारमा थोक कर्जाको मात्र कारोबार गर्ने र खुद्रा कर्जाको कारोबार गर्ने लघुवित्त वित्तीय संस्था गरी २ प्रकारमा वर्गीकरण गर्न सकिन्छ । खुद्रा कर्जाको कारोबार गर्ने लघुवित्त वित्तीय संस्थाहरूले मात्र विपन्न तथा न्यून आय भएका व्यक्ति र महिलाहरूलाई सदस्य बनाई कर्जा प्रवाह गर्ने गर्दछन ।
साथै, लघुवित्त वित्तीय संस्थाहरूले विपन्न तथा न्यून आय भएका व्यक्ति र महिलाहरूलाई सदस्य बनाएर तिनीहरूबाट नियमित रुपमा बचत संकलन गरेको रकम र विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट विपन्न वर्ग शीर्षकमा सापटी लिएर आफ्ना सदस्यहरूलाई सामूहिक जमानीमा कृषि तथा लघु उद्यम व्यवसाय सञ्चालन गर्न विना धितो लघु कर्जा तथा स्वीकारयोग्य धितो लिई लघु उद्यम तथा लघु व्यवसाय सञ्चालन गर्न धितो कर्जा प्रवाह गर्ने कार्य गर्दछन् ।
बैंक तथा वित्तीय संस्थाविरुद्ध झापाकै दुर्गा प्रसाईं ले लगातार आन्दोलन गरिरहेका बेला उक्त संस्थाका कर्मचारी बिदाको दिन मोरङमा कुटिएका हुन् । सो घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै लघुवित्तका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले आफ्ना कर्मचारीमाथि कुटपिट गरेर उल्टै गर्भवती महिलामाथि हातपात गरेको झूठो आरोप लगाइएको बताए ।
अस्ति दिउँसो ३ बजे गौरीगञ्ज शाखामा कार्यरत फिल्ड कर्मचारी बिदाको दिन मोरङको धनपालस्थान गाउँपालिका–४ स्थित आफ्नो घर नजिकैको हाटबजार जाने क्रममा केही उच्छृंखल मानिसले कुटपिट गरेको बताइएको छ । तर, उल्टै गर्भवती महिलामाथि हातपात गरेको आरोपमा ती फिल्ड कर्मचारीलाई पक्राउ गरिएको उनको भनाइ छ ।
‘बिदामा रहेका कर्मचारीलाई मिथ्या आरोप लगाउने, मादक पदार्थ सेवन गरेका अराजक व्यक्तिहरुबाट कुटपिट गर्ने र उल्टै लाञ्छना लगाउने कार्य जो कोहीका लागि पनि असह्य एवम् निन्दनीय छ । यस्ता कार्यको वित्तीय संस्था घोर भत्र्सना गर्दछ,’ उनले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विगत २० वर्षदेखि निरन्तर सामाजिक तथा आर्थिक सेवामार्फत ग्रामीण विपन्न महिलाहरुको जीवनस्तर सुधारको क्षेत्रमा लागि परेको संस्थाका कर्मचारीप्रति सुनियोजित आक्रमण गरिएको लघुवित्तको दाबी छ ।
स्मरण रहोस
मंगलबार जाजरकोटमा एनआईसी एशिया लघुवित्तका कर्मचारी गोपालप्रसाद उपाध्यायमाथि कालोमोसो दल्ने र संकलित रकम समेत लुटेर भाग्ने कार्य भएको छ ।
लघुवित्त वित्तीय संस्थाहरुले विगत ३० वर्षदेखि ग्रामीण क्षेत्रका विपन्न महिलाहरुलाई विनाधितो कर्जा उपलब्ध गराएर जीवनस्तर माथि उकास्न निरन्तर लाग्ने क्षेत्रमाथि भएको उक्त कार्य अमानवीय भएको संघले बताएको छ ।
‘जाजरकोट जस्तो अति विकट क्षेत्रमा गरिबी न्यूनीकरण र महिला शक्तिकरणका लागि अहोरात्र खटिने लघुवित्तका कर्मचारी माथि भएको यो कारवाही अमानवीय र अराजकताको पराकाष्ठा हो । यसको जति नै निन्दा गरे पनि कमै हुन्छ नै, यसले राज्यको सुरक्षा प्रणालीमा पनि प्रश्न उठाएको छ’ संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
वित्तीय कारोबार अत्यावश्यक सेवा रहेको र उक्त सेवा शान्ति सुरक्षाविना प्रदान गर्न नसकिने लघुवित्त बैंकर्स संघले जनाएको छ ।
संघले लघुवित्त तथा अन्य बैंक वित्तीय संस्थाका कर्मचारीहरुलाई यो विषम परिस्थितीमा सजग, सचेत र संयमतापूर्वक आफ्ना ग्राहक सदस्य, अभिभावक र स्थानीय निकायसँग समन्वय गरी कार्य गर्न पनि अपिल समेत गरेको छ ।
संघका अध्यक्ष प्रकाश राज शर्माले देशमा अराजकताको अवस्था सिर्जना भएको भन्दै यस्तो परिस्थतिमा कत्ति पनि विचलित नभई आफ्नो सुरक्षाको ख्याल गर्न पनि लघुवित्तकर्मीहरुलाई अनुरोध गरेको छ ।
यस्ता गतिविधिबाट जनमानसमा नकारात्मक प्रभाव पार्ने र देशमा अराजकतालाई बढवा दिने, आर्थिक अस्थिरता निम्त्याउने र देशको अर्थतन्त्र नै दुर्घटनाग्रस्त हुने सम्भावना रहेको भन्दै यस्ता गतिविधि तत्काल बन्द गरी शान्तीपूर्ण काम गर्ने वातावरण सिर्जना गर्न संघले अपिल समेत गरेको छ ।