नेपाल बार एसोसियसनले ललितपुर जिल्ला अदालतकी नासु प्रेमिका तामाङले आदेशको फाइल हेर्न घुस मागेकाले अधिवक्ता अमिर लामिछानसँग विवाद भएको दाबी गरेको छ ।
तामाङलाई हातपात गरेको आरोपमा पक्राउ परेका लामिछानेलाई तत्काल छाड्न माग गर्दै नेपाल बारले आइतबार जारी गरेको विज्ञप्तिमा नासु तामाङले घुस मागेको दाबी गरेको हो ।
साथै बारले घटनाको यथार्थ विवरणलाई बंग्याएर अधिवक्ता लामिछानेलाई दोषी देखाउने प्रयास गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
‘ललितपुर जिल्ला अदालतमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङले मुद्दामा भएको आदेश हेर्नलाई खर्च (घुस) मागेको विषयमा अधिवक्ता अमिर लामिछानेले इन्कारी गरेको विषयलाई अतिरञ्जितपूर्ण ढंगले घटनाको वास्तविकता र यथार्थ विवरणलाई बङ्ग्याई उल्टै अधिवक्ता लामिछानेलाई एकतर्फी दोषी देखाउने अभिप्रायले गरिएको घटना विषयप्रति नेपाल बार एसोसियसनको गम्भीर ध्यानाकर्षण भएको छ’, नेपाल बारले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
लामिछानेलाई २४ घण्टाभित्र विनाशर्त रिहा गर्न माग गर्दै बारले रिहा नगरे सोमबारदेखि देशभरका इजलास बन्द गर्ने चेतावनी दिएको छ ।