ललितपुरका दुई जना मतदान अधिकृतलाई कारबाही गर्न सिफारिस गरिएको छ । जिल्लाको महालक्ष्मी नगरपालिका-१० स्थित कालदेवी मावि मतदान केन्द्रमा खटिएका दुई जना मतदान अधिकृतलाई कारबाही गर्न सिफारिस गरिएको हो ।
महालक्ष्मीकी मुख्य निर्वाचन अधिकृत शारदा फुयालले ४२ मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर विहीन भेटिएपछि सम्बन्धी निर्वाचन केन्द्रका अधिकृतलाई कारबाही गर्न सिफारिस गरिएको जानकारी दिइन् ।
आइतबार १० वडाको मतगणना गर्ने क्रममा ४२ मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको भेटिएपछि रोकिएको मतगणना प्रकृया पुनः सुचारु भएको थियो । उनले हस्ताक्षर नभएको मतपत्र बदर पनि गरिएको बताइन् । कारबाहीमा पर्ने अधिकृतको नाम भने उनले खुलाउन मानेनन् ।
महालक्ष्मी नगरपालिको मेयरमा माओवादी केन्द्रबाट शिव कट्टेल, एमालेबाट हरिगोविन्द श्रेष्ठबीच प्रतिस्पर्धा छ । उपमेयरमा एमालेकी विना सुवेदी र कांग्रेसका लक्ष्मी महर्जन प्रतिस्पर्धामा छन् ।