२ लाख रुपैयाँ लिएर ६२ लाख रुपैयाँ ऋण थाप्लोमा बोकेर हिँडिरहेका रामसागर वातकले आफ्नो व्यथा सुनाउँदै गर्दा शान्तिवाटिकामा सरकारी वार्ता टोली मिटरब्याज पीडितसंग परिचय गर्दै थियो ।
शान्तिवाटिकालाई आफ्नो मुकाम बनाएर मिटरब्याज पीडित काठमाडौंमा आन्दोलित भएको ६ दिनपछि सरकारी वार्ता टोली आइतबार पीडित पक्षको वार्ता टोलीको नाम ठेगाना सोध्न आइपुगेको थियो ।
राज्य सञ्चालनका केन्द्रहरु सिंहदरबार, बालुवाटार र बानेश्वरमा क्षेत्रमा २० चैतदेखि आफ्नो पीडा सुनाइरहेका पीडितसंग परिचय गर्न भनेर गृहमन्त्रालयका सहसचिव प्रदिप कोइरालाको टोली शान्तिवाटिका पुग्यो ।
‘आज हामीले उहाँ (पीडित) हरुसंग परिचय ग¥यौं । भोलिदेखि वार्ता सुरु हुन्छ,’ शान्तिवाटिकामा पाल टाँगेर बासिरहेका पीडितसंगको भलाकुसारीपछि गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले भने ।
सरकारी टोलीले मिटरब्याज पीडितका गुनासा सम्बोधन भन्दा अगाडि पीडितका तर्फबाट वार्ता टोली ठूलो भएको आफ्नो गुनासो राख्यो । ‘उहाँहरुको वार्ता टोली १९ जनाको भयो, त्यो टोली अलिक सानो भए हुन्थ्यो भन्ने छ’, गृह प्रवक्ता बस्नेतले गुनासो गरे ।
सरकासँग वार्ता गर्न मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले अध्यक्ष अवधेश कुशवाहको नेतृत्वमा १९ सदस्यीय टोली बनाएको छ ।
सरकारी टोलीमा भने सहसचिव प्रदीप कोइरालासँगै गृह मन्त्रालयका उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी, कानुन मन्त्रालयका उपसचिव जंगबहादुर डाँगी र प्रहरी उपरीक्षक दिनेशराज मैनाली छन् । सरकारले पीडितका तर्फबाट पनि पाँच जनाकै वार्ता टोली बनाउन अनुरोध गरेको छ ।
लिएको २ लाख तिर्नुपर्ने ६२ लाख !
सरकारी टोली र मिटरब्याज पीडितको वार्ता टोलीबीच परिचय आदानप्रदान भइरहँदा नजिकै मिटरब्याज पीडितहरु भने आफ्ना दुःखेसो सुनाउँदै थिए । महोत्तरीको भंगाहा नगरपालिका– २ का रामसागर वातकले पुरानो कागज र डायरी देखाए । त्यो डायरीमा लेखिए अनुसार उनले २० कात्तिक ०७५ मा दुई लाख रुपैयाँ ऋण लिएका थिए । ‘गाउँकै राजाराम कापरसंग २ लाख लिएको हुँ’, वातकले भने ।
यो ऋण रामसागर र उनका भाइ विदेश जानका लागि लिइएको हो । रामसागरका अनुसार उनीहरुले ब्याज मात्र १० लाख १२ हजार ५ सय ९५ रुपैयाँ तिरिसके । तर, वातकको ऋण सकिने छाँटकाटै छैन ।
‘साहुले ६२ लाख तिर्न बाँकी छ भनेको छ,’ वातकले साहुले नै लेखेर दिएको कागज देखाए । त्यो कागजमा ६२ लाख ७ हजार ५ सय ८३ रुपैयाँ तिर्न बाँकी रहेको लेखिएको छ ।
२ लाखको बदलामा वातकले ४ दाजुभाइको अंशवण्डा लाग्ने २२ कट्टठा ऐलानी जमिन पनि साहुको नाममा गराइसके । ‘हाम्रो त सप्पै लुट्यो साहुले’, वातक हात जोड्छन्, ‘अब हामीसंग केही छै्रन ।’
वातककै छिमेकी रञ्जी देवीले पनि राजाराम कापरबाट आफू पनि पीडित रहेको सुनाइन् । डेढ लाख ऋण लिएकी उनले साहुलाई ४ लाख रुपैयाँ नगद र ५ कठ्ठा जमिन दिइसकिन् । तर, उनको ऋण सकिएको छैन ।
‘अझै ६ लाख रुपैयाँ बाँकी छ भन्छ,’ रञ्जी देवीले भनिन् । उनले आफू मात्र नभई आफ्नो गाउँका अधिकांश मानिस राजाराम कापरबाट पीडित भएको सुनाइन् ।
१७ दिनदेखि रोजा बसिरहेका बारा कलैयाका सलिमुल्ला मियाँ सरकारी वार्ता टोली शान्तिवाटिका आउँदैछ भन्ने थाहा पाएपछि बीच बाटैबाट फर्किए । पटक पटक गरेर १२ लाख रुपैयाँ ऋण लिएका उनले २८ लाख रुपैयाँ तिरिसके । तर, उनको नाममा ३६ लाख रुपैयाँ ऋण छ ।
‘घरजग्गा पनि लगिसक्यो साहुले’, मियाँ सुनाउँछन् । झोला बनाउने घरेलु उद्योग चलाउने उनको परिवार यही ऋणका कारण बारा छाडेर काठमाडौंमा बस्न बाध्य भएको छ । घरजग्गासहित सगोलको परिवारमा रहेको २० कठ्ठा जमिन साहुले हडपेपछि मियाँको १४ जनाको परिवार यतिखेर काठमाडौंको डल्लुमा बसिरहेको छ ।
अचम्म त के छ भने उनले ऋण लिएको तमसुक कागजको पुछारमा २ लाख रुपैयाँ लेखिएको छ । तमसुकको पुछारमा लेखिएको २ लाख सुनाएपछि मियाँले भने, ‘मैले लिएको त्यति नै हो ।’
तर, तमसुक कागजमा भने उनले ६ लाख ऋण लिएको लेखिएको छ । तमसुकमा के लेखिएको छ भनेर सोध्दा उनी भन्छन्, ‘मलाई लेख्न, पढ्न आउँदैन ।’
यस्तै जाली तमसुकले पीडितहरुको घरजग्गा साहु महाजनको पोल्टामा पुग्न लागेको समस्या देखाउँदै पीडितहरुले यस्ता तमसुक र लिखत तत्काल अवैध घोषित गर्न माग गरेका छन् । मिटरब्याज पीडितले सरकारसमक्ष राखेको ६ बुँदामा मुख्य माग यही छ ।
झोला बनाउने उद्योग खोल्न भनेर ऋण लिएका उनी अहिले बेघर भएका छन् । आइतबारको रोजा पनि नफुकाएका उनी अल्लाहको नाम लिँदै भन्छन्, ‘अल्लाह कसम मैले १२ लाख लिएको हुँ । अहिले २८ लाख तिरिसके, घरजग्गा सबै गइसक्यो । ऋण अझै बाँकी छ ।’
७५ हजारको बदलामा १५ कठ्ठा जग्गा !
नवलपरासी भुजहवाका राजन मुराव कोइरीका बुबा रामचन्द्र कोइरीको नाममा रहेको १५ कठ्ठा जमिन साहु रामश्री मुराउले ७५ हजार रुपैयाँ लिए बापत अदालतमा कागज गरेर दृष्टिबन्धक बनाएका थिए । त्यो पनि २०५२ सालमा ।
कागज गर्दा लिने र दिनेबीच दुई वर्षको भाका राखेर जमिन फिर्ता गर्ने भनिएको थियो । दुई वर्षसम्म मुराउले उक्त जमिनमा खेती लगाएपछि पीडित कोइरीको परिवार ऋण लिएको ७५ हजार रुपैयाँ जम्मा गरेर फिर्ता गर्न गएका थिए । तर, साहु मुराउले ‘तिमीहरू अहिले गरिब छौ, कमाउन सक्दैनौ’ भनेर लिन मानेनन् ।
सोही जमिनमा १६ वटा सिसौका रुख थिए । प्रति रुख डेढ लाखसम्ममा बिक्री हुने अनुमान राजनको छ । ती सबै रूखहरू काटेर पनि साहुले बेचिसकेपछि कहिले पैसा लिने त कहिले नलिने गर्न थाले । खेतमा रहेका सबै रुख बेचिसके पछि भने साहुले दिएको सबै रकम चुक्ता हुने गरी पैसा लिए । पटकपटक गरेर जब उनको सबै पैसा चुक्ता भयो त्यसपछि साहु मुराउले जमिन फिर्ता नगर्ने धम्की दिन थाले । २८ वर्षदेखि उक्त जमिन साहुको कब्जामा छ । पीडितले जे जति गर्दा पनि आफ्नो जग्गा फिर्ता पाउने देखेनन् ।
राजन कोइरी
अघिल्लो वर्ष मात्रै काठमाडौंमा मिटरब्याज पीडितको आन्दोलन चर्किएपछि समस्या समाधानका गर्न भन्दै सरकारले कार्यदल बनायो र पीडितहरूसँग निवेदन माग ग¥यो । त्यसपछि राजन आफ्नो तमसुक खोज्न परासीको अदालत पुगे, जसले उनका बुबा र साहु मुराउबीच कागज गराएको थियो ।
तर, अदालतमा दृष्टिबन्धक बनाइएको कागज भेटिएन । बरु, रामचन्द्रको औंठाछाप प्रयोग गरी ०५२ सालमा नै उनको जग्गा साहुको नाममा राजीनामा भइसकेको व्यहोराको कागज भेटियो । कागजमा दृष्टिबन्धन भनेर गरेको कागजमा जग्गा नामसारी मात्रै गरिएको छैन, लिएको ७५ हजारको सट्टा डेढ लाख लिएको भनेर उल्लेख गरिएको छ ।
उनले त्यही कागज लिएर निवेदन दर्ता गराएका छन् । उनको परिवारले लिएको ७५ हजार हो । कागजमा डेढ लाख उल्लेख छ । उनले राखेको दृष्टिबन्धक हो । तर, काजगमा राजीनामा पास गरेको उल्लेख छ । कागजी हिसाबले उनीसँग पर्याप्त आधार छैन । तर दशकौंदेखि आफ्नै जमिन गुमेको यथार्थ उनका सामुन्ने छ ।
उनी आफ्नो जमिन सरकारले फिर्ता गरिदिन्छ भन्ने विश्वाससहित मिटरब्याजी विरुद्ध हुने हरेक आन्दोलनमा सहभागी हुन काठमाडौं आइरहन्छन् । यसपटक पनि उनी काठमाडौं आएर हप्ता दिनदेखि शान्तिवाटिकामा चिसो रात कटाइरहेका छन् ।
न्याय पाउने आशामा उनले आफूले बोकेर ल्याएको कागजको प्रमाण गृहमन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतको हातमा थमाएका छन् ।
१ लाख ऋण दिएको तीन दिनमै साहुले २५ लाखमा बेचिदियो जग्गा
रौतहटको यमुनामाई गाउँपालिका–२ का अनुठा यादवले स्थानीय अमरकुमार भास्करबाट २०७६ साल कात्तिकमा १ लाख रुपैयाँ ऋण लिए । त्यसबापत पाँच कट्टा जग्गा उनको नाममा रजिष्ट्रेसन पास गरिदिए । महाजनले उक्त जमिन रजिष्ट्रेसन गरेको तीन दिनमै २५ लाखमा मनिषकुमार जैसवाल भन्ने व्यक्तिलाई बेचिदिए । जब यो खबर अनुठाले थाहा पाए, उनको परिवार आफ्नो जग्गा फिर्ता चाहियो भनेर महाजनको घरमा पुग्यो ।
जग्गा फिर्ता चाहियो भनेपछि महाजनले जग्गा किन्ने मान्छेलाई फिर्ता गर्नुपर्ने भयो भन्दै लिएको पैसा फिर्ता गर्नु भने । उनले तीन दिनको ३६ हजार रुपैयाँ ब्याजसहित रकम फिर्ता गरिदिए । गाउँघरका मान्छेले पनि जग्गा फिर्ता हुन्छ भने पैसा फिर्ता गर्नु राम्रो हुन्छ भनेपछि उनी ऋण निकालेरै भएपनि पैसा फिर्ता गर्न तयार भए ।
उनले यसको प्रमाण चाहिने भन्दै कागजी आधार चाहिने अडान राखे । त्यसपछि महाजन कागज गर्न तयार भए । त्यो पनि जसले ऋण दिएर जग्गा बेचेको छ उही साक्षी बसेर । अमरकुमार भाष्करले गरेको कागजमा उनले पाँच दिनमा उक्त जमिन फिर्ता नभए आफ्नो जमिन अनुठा यादवको नाममा गरिदिने भनेको अनुठा बताउँछन् ।
एकातिर जग्गा फिर्ता गरिदिने कागज, अर्कातिर नयाँ साहुको खोजी अमरकुमार भाष्कर र मनिष जैसवालले नयाँ षड्यन्त्र सुरु गरेको यादवले बताए । यादवका अनुसार एक लाख ऋणमा रजिष्ट्रेसन कागज गरेको उक्त जग्गा उनीहरूले एक करोड २५ लाखमा बेच्ने तयारी गरेका थिए । उक्त जग्गा किन्ने मान्छेले नै अनुठालाई सोधेपछि उनले वास्तविकता भनिदिए । त्यसपछि उनको जग्गा बिक्री हुनबाट जोगियो । तर उनले अझै पनि उक्त जग्गा फिर्ता पाएका छैनन् ।
पीडितले सरकारसमक्ष राखेका माग
गृह मन्त्रालयको टोली शान्तिवाटिकामा आउँदा मिटरब्याज पीडितले ६ बुँदे माग राखेका छन् । जसमा यी विषय समावेश छन् :
१) मिटरब्याजसँग सम्बन्धित सम्पूर्ण फर्जी लिखत (तमसुक, दृष्टिबन्धक रजिष्ट्रेसन (छिनुवा पास, कतिपय अवस्थामा चेक समेत आदि) मन्त्रिपरिषद् स्तरीय निर्णयबाट अवैध घोषणा गर्दै पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने ।
२) कानुन मन्त्रालयमा अड्किएको ‘मिटरब्याजी अपराध नियन्त्रण सिफारिस कार्यदल’ ले सिफारिस गरेको कानुनी मस्यौदा तत्काल संघर्ष समिति र पीडितको जानकारीमा ल्याउनुपर्ने साथै पीडितसँग छलफल गर्दै समयसीमा तोकेर फास्ट ट्रयाकमा नयाँ कानुन जारी गर्नुपर्ने ।
३) नयाँ कानुन लागू नभएसम्म फर्जी लिखतका आधारमा अदालतमा मिटरव्याजसंग सम्बन्धित मुद्धाको दर्ता तथा सम्पूर्ण अदालती प्रक्रिया स्थगित गर्नुपर्ने र फैसला भइसकेका मुद्धाको पुनरावलोकन गर्नुपर्ने साथै फर्जी लिखतका आधारमा पकाउ परेका पीडितको स–सम्मान रिहाइ गर्नुपर्ने ।
(४) जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका र दर्ता हुन आउने मिटरब्याजसंग सम्बन्धित निवेदनका आधारमा साहु महाजनलाई तत्काल पक्राउ गरी उनीहरुको सम्पत्ति छानबिन गर्नुपर्ने ।
५) साहु–महाजनद्वारा भएका मिटरब्याजसँग सम्बन्धित हत्या, दुव्र्यबहार, महिलामाथि हुने ज्यादती तथा यौन हिंसा तथा मानवअधिकार उल्लंघनका अन्य घटनाको गम्भीर छानबिन गर्दै कारवाही गर्नुपर्ने तथा पीडितलाई न्यायोचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने,
६) पीडितले गैरकानुनी व्याजदरमा ऋण लिनुपर्ने कारणको पहिचान गर्दै शोषित तथा उत्पीडित वर्ग तथा समुदाय साथै उद्यमी तथा व्यवसायी लक्षित न्यायपूर्ण आर्थिक कारोबार सुनिश्चित गर्न सहुलियतपूर्ण वित्तीय कार्यक्रम ल्याउनुपर्ने ।