राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाडौंमा कार्यरत मेडिकल ल्याब टेक्नोलोजिष्ट लेखनाथ भट्टराईले ल्याब दर्ता प्रक्रिया अगाडि बढाउन सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज मेडिकल ल्याब टेक्नोलोजिष्ट लेखनाथ भट्टराईलाई सेवाग्राहीबाट रु.५०,०००।–(पचास हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो।
अनुसन्धानको सिलसिलामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाडौंमा कार्यरत मेडिकल ल्याब टेक्नोलोजिष्ट लेखनाथ भट्टराईले ल्याब दर्ता प्रक्रियामा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस/रिसवत रु.५०,०००।–(पचास हजार रुपैयाँ) माग गरी लिएको पुष्टी हुन आएको हुँदा निज लेखनाथ भट्टराईलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुरमा बिगो रु.५०,०००।–(पचास हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजायसमेत हुन मागदावी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर भएको छ।