वडा अध्यक्ष बुलन यादव उपर घुस लिएको सम्बन्धी आरोप-पत्र दायर।

-


     सुचनाको हक     
     असार २२ गते २०८० मा प्रकाशित


जिल्ला धनुषा, नगराइन, नगरपालिका वडा नं. २ का वडाअध्यक्ष वुलन यादव र सोही वडाका वडा सचिव अमृत नारायण मिश्रले सडक निर्माण कार्य सम्पन्न सिफारिस गरिदिए वापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, वर्दिवासबाट खटिई गएको टोलीले निज वडाअध्यक्ष वुलन यादव र वडासचिव अमृत नारायण मिश्रलाई सेवाग्राहीबाट रु.७०,०००।–(सत्तरी हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

अनुसन्धानको सिलसिलामा जिल्ला धनुषा, नगराइन नगरपालिका वडा नं. २ का वडा अध्यक्ष बुलन यादव र वडा सचिव अमृत नारायण मिश्रले सडक निर्माणको कार्य सम्पन्न पश्चात भुक्तानीको लागि पूर्वाधार विकास कार्यालय, धनुषालाई सिफारिस गरी दिएवापत सेवाग्राहीसँग घुस/रिसवत रु.७०,०००।–(सत्तरी हजार रुपैयाँ) माग गरी लिएको पुष्टी हुन आएको हुँदा निजहरु वुलन यादव र अमृत नारायण मिश्रलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो रु.७०,०००।–(सत्तरी हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजायसमेत हुन मागदावी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर भएको छ।