काठमाडौं महानगरपालिका १४ नं. वडा कार्यालयका वडासदस्य वसन्त महर्जनले जग्गाको मोहियानी हक नामसारी र नाता प्रमाणित गरी मोही प्रमाण-पत्र र मालपोत तथा भूमि व्यवस्था कार्यालय काठमाडौंलाई सिफारिस दिनका लागि सेवाग्राहीसँग रु.२,००,०००।– घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज वसन्त महर्जनलाई सेवाग्राहीबाट रु.२,००,०००।– (दुई लाख रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा मिति २०७८।०५।२१ गते नियन्त्रणमा लिइएको थियो ।
अनुसन्धानको सिलसिलामा काठमाडौं महानगरपालिका १४ नं. वडा कार्यालयका वडासदस्य वसन्त महर्जनले सेवाग्राहीको नाता प्रमाणित र जग्गाको मोही नामसारी सिफारिस प्रयोजनार्थ रु.२,००,०००।- घुस/रिसवत माग गरी लिएको अनुसन्धानबाट पुष्टि हुन आएकोले निजले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएको हुँदा निज बसन्त महर्जनलाई बिगो रु. २,००,०००।- (दुई लाख रुपैयाँ) कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) देहाय खण्ड (घ) बमोजिम सजाय हुन मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम बिशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।