विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुनिता रावल बिरुद्ध भ्रष्टाचार सम्बन्धी मुद्धा ।

-


     सुचनाको हक     
     माघ २९ गते २०७९ मा प्रकाशित


श्री लोकप्रिय माध्यमिक विद्यालय, गम्था, मुगुका तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्षले वाचनालयसहितको पुस्तकालय निर्माणको लागि विद्यालय कोषको रकम लिई उक्त वाचनालयसहितको पुस्तकालय निर्माण नगरी रकम हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा लोकप्रिय माध्यमिक विद्यालय गम्था मुगुका तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुनिता रावलले विद्यालयबाट वाचनालयसहितको पुस्तकालय निर्माणको लागि रु.२,१५,०००।- बुझी लिई कुनै आधिकारिक दर्ता नै नभएको कर्णाली जनजागृति समाज नेपाल नामको गैरसरकारी संस्थासँग अनलाईन सम्झौता गरेको भनी उक्त संस्थाका अध्यक्षसँग चिनजान नै नभएकोमा सम्झौताबापतको पैसा सदानन्द भट्टराईको नाममा पठाई निज सदानन्द भट्टराईले पुस्तकालय निर्माण नगरेको पुष्टि हुन आएकोले निज सुनिता रावलले कुनै काम नगरी बदनियतका साथ विद्यालय कोषको रकम हिनामिना गरेको हुँदा निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेकोले निजलाई उल्लिखित रकम रु.२,१५,०००।–(दुई लाख पन्ध्र हजार रुपैयाँ) बिगो कायम गरी ऐ, ऐनको दफा १७ मा उल्लेख भए अनुसार ऐ.ऐनको दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम कैद तथा ऐ. ऐनको दफा ३ को उपदफा (१) बमोजिम जरिवाना गरी निजबाट उक्त हिनामिना भएको रकमसमेत ऐ.ऐनको दफा १७ बमोजिम असुल उपर हुन मागदावी लिइएको छ।

साथै प्रतिवादी सदानन्द भट्टराईले उक्त बिद्यालयका लागि पुस्तकालय निर्माण गरिदिने भनी झुट्टा (दर्ता नै नभएको कर्णाली जनजागृति समाज नेपाल) संस्थाको लेटरप्याड तयार गरेर निजले विद्यालयमा वाचनालयसहितको पुस्तकालय निर्माण गर्ने भनी सम्झौता गरी रु.२,१०,०००।- बुझिलिएको र सो सम्झौताको शर्त पालना नगरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(४) बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निजलाई बिगो रु.२,१०,०००।–(दुई लाख दश हजार) कायम गरी ऐ, ऐनको दफा ८(४) बमोजिमको कैद तथा बिगोबमोजिम जरिवाना गरी निजबाट उक्त हिनामिना भएको रकमसमेत सोही ऐनको दफा ८(४) बमोजिम जफत हुन मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर भएको छ ।