प्रेस चौतारी नेपाल बाराका जिल्ला कार्यसमिति सदस्य एवम् एसएलएफ खबरका संचालक रोशन गुप्तामाथि बिहीबार जीतपुर सिमरा उपमहानगरपालिका वडा नं. ५ को कार्यालय अगाडी दुर्व्यवहार भएको छ ।
समाचार संकलनका लागि पुगेका गुप्तालाई केही व्यक्तिले दुर्व्यवहार र हातपात गरेका हुन् । सडक ढलान योजनाको भुक्तानीको विषयलाई लिएर समाचार संकलन गर्न पुगेका गुप्तामाथि घनश्याम चौधरीसहित केही व्यक्तिले दुर्व्यवहार गरेका हुन् ।
गुप्तामाथि हातपात गर्दै उनको मोबाइल समेत फुटाइएको छ । गुप्तामाथि हातपात हुन थालेपछि स्थानीयले छुट्याएका थिए । आफूमाथि हातपात भएपछि गुप्ताले दोषीमाथि कडाभन्दा कडा कारवाहीको माग गरेका छन् ।
यसैगरी प्रेस चौतारी नेपाल बाराले विज्ञप्ति जारी गरी संचारकर्मी गुप्तामाथि हातपात र दुर्व्यवहार गर्नेलाई कारबाहीको माग गरेको छ । समाचार संकलन गरिरहेकै बेला गुप्तामाथि हातपात हुनु दुःखद् रहेको जनाउँदै चौतारी बाराले घटनाको छानविन गरी दोषीउपर कारवाहीको माग गरेको हो ।