संविधान संशोधन प्रक्रिया अगाडि बढाउन कांग्रेस-एमालेले गरे कार्यदल गठन: सहरी विकास मन्त्री प्रकाशमान सिंह

-


     सुचनाको हक     
     पौष १० गते २०८१ मा प्रकाशित


उपप्रधानमन्त्रीसमेत रहेका सहरी विकास मन्त्री प्रकाशमान सिंहले संविधान संशोधन गर्न सत्तारूढ नेपाली कांग्रेस र नेकपा (एमाले) ले कार्यदल बनाएर आन्तरिक रूपमा काम सुरू गरिसकेको बताएका छन्।

रूपन्देहीमा बुधबार पत्रकारहरूसँग कुराकानी गर्दै उपप्रधानमन्त्री सिंहले असार १७ मा भएको ७ बुँदे सहमतिअनुसार संविधान संशोधनका लागि कार्यदल बनेको र काम पनि सुरू भइसकेको बताएका हुन्। 

कांग्रेस र एमालेले बनाएको कार्यदलले संविधानमा के-के विषय संशोधन गर्ने भन्नेबारे आन्तरिक रूपमा तयारी गर्नेछन्। त्यसपछि सबै राजनीतिक दलहरूसँग छलफल गरेर संविधान संशोधन अघि बढ्ने पनि उनले बताए।

‘संविधान संशाेधनकाे प्रक्रियालाई अगाडि बढाउन कांग्रेस र एमालेकाे कार्यदल गठन भइसकेकाे छ। कार्यदलले सबै राजनीतिक दलसँग छलफल गर्छ। सबै दलहरूसँग गरेर नै संविधान संशोधनकाे प्रक्रिया अगाडि बढ्छ,´ उपप्रधानमन्त्री सिंहले भने।

साथै उपप्रधानमन्त्री सिंहले रूपन्देहीकाे सियारी गाउँपालिकामा सियारी पर्यटन करिडाेरकाे शिलान्यास र दयानगर दानव लिफ्ट सिँञ्चाइ याेजनाकाे उद्घाटन गरेका छन्।

471194302_10162729415952329_2502660088733782337_n-1735106751.jpg

पर्यटन करिडाेर र लिफ्ट सिँञ्चाइ आयाेजनाले सियारी गाउँपालिकाका नागरिककाे आर्थिक अवस्था परिवर्तन गराउने उनले बताए।

नागरिककाे जीवनमा परिवर्तन ल्याउन सियारी गाउँपालिकाले कृषि र पर्यटन क्षेत्रमा गरेकाे काम उदाहरणीय भएकाे भन्दै उनले प्रशंसा पनि गरेका छन्।