सरकारी जग्गा व्यक्तिको नाममा दिने अधिकृत लाइ अख्तियारले चलायो मुद्धा

-


     सुचनाको हक     
     चैत्र ८ गते २०८० मा प्रकाशित


काठमाडौं उपत्यका विकास प्राधिकरण, जिल्ला आयुक्तको कार्यालय, काठमाडौं अन्तर्गत वाग्मतीनगर जग्गा एकीकरण आयोजनाको कार्यालय, बौद्ध तथा अतिरिक्त जिम्मेवारीको रुपमा कागेश्वरी मनोहरा, गोकर्णेश्वर तथा शंखरापुर नगरपालिकाद्वारा संचालित पूर्वी काठमाडौं नयाँ शहरी विकास आयोजना, माकलवारीमा खटिई काम गर्दै आएका शाखा अधिकृत (रा.प. तृतीय श्रेणी/करार) याम कुमार कार्कीले पदीय मर्यादा विपरीत सरकारी जग्गालाई व्यक्तिको नाममा दर्ता गराई गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज याम कुमार कार्की सार्वजनिक सेवा प्रवेश गरेको मिति 2058।04।16 गतेदेखि मिति 2079।12।30 गते सम्मको अवधिलाई जाँच अवधि कायम गरी आयव्ययको विश्लेषण गर्दा आयतर्फ निजको पारिश्रमिक बचत, भत्तावापतको वचत, जग्गा बिक्रीवापतको आय, सापटी फिर्ता पाएको रकम, बैंक तथा वित्तीय संस्थामा रहेको मौज्दातमा प्राप्त ब्याज, घर तथा जग्गा वहाल आय र बैंकबाट लिएको ऋण गरी कुल आम्दानी रु.3,77,13,646।60 रहेको र व्ययतर्फ घर तथा जग्गा खरिदमा भएको खर्च, सन्तती अध्ययन खर्च, घर जग्गा रजिष्ट्रेशनवापतको खर्च, बैंक ऋणको साँवा र ब्याज भुक्तानी,  बीमा प्रिमियम भुक्तानी, स्कुटर खरिद, गरगहना खरिद, घर जग्गा वहाल कर, शेयर खरिद, सापटी तथा बैनावापत दिएको रकम र बैंक तथा वित्तीय संस्थामा रहेको रकम मौज्दात गरी कुल रु.6,98,46,603।35 खर्च तथा लगानी गरेको देखिंदा उक्त खर्च तथा लगानीमा आयआर्जन रु.3,77,13,646।60 घटाउँदा हुन आउने रु.३,२१,32,956।75 (तीन करोड एक्काइस लाख बत्तीस हजार नौ सय छपन्न रुपैंया पचहत्तर पैसा) बराबरको खर्च तथा लगानी (सम्पत्ति) को बैधानिक स्रोत नखुलेको हुँदा निज याम कुमार कार्कीले साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ र सो कसुरलाई निरन्तरता दिएको प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि भएको हुँदा निजलाई रु.३,२१,32,956।75 (तीन करोड एक्काइस लाख बत्तीस हजार नौ सय छपन्न रुपैंया पचहत्तर पैसा) बिगो कायम गरी साबिक भ्रष्टाचार निवारण ऐन, 2017 को दफा 15 ले निर्देश गरेबमोजिम सोही ऐनको दफा 3 तथा दफा 29 को उपदफा (२), प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिमको जरिवाना र कैद हुने तथा गैरकानूनी रुपमा आर्जन गरेको उल्लिखित सम्पत्ति जफत गरी पाउन समेत मागदाबी लिइएको छ।

साथै साबिक भ्रष्टाचार निवारण ऐन, 2017 को दफा १६(ग), दफा २९ को उपदफा (१) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९(ख) बमोजिम गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्तिबाट छोरी गृष्मा कार्कीको नाममा जग्गा खरिद गरेको देखिएकोले निजलाई जग्गा जफतका लागि मात्र र गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति र सोबाट बढेबढाएको सम्पत्ति एकासंगोलकी पत्नी देवका अधिकारीको नाममा समेत राखेको देखिएको हुँदा साबिक भ्रष्टाचार निवारण ऐन, 2017 को दफा १६ (ग), दफा २९ को उपदफा (१) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९(ख) बमोजिम जफत/असुल उपर गर्ने प्रयोजनका लागि मात्र निजकी पत्नी देवका अधिकारीलाई समेत प्रतिवादी कायम गरी स्रोत नखुलेको सम्पत्ति जफतको मागदाबी लिई बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको छ।