उच्च सरकारी वकिल कार्यालय, पोखराका तत्कालीन सह-न्यायाधिवक्ता (हाल निलम्बित) सुरेन्द्र बहादुर थापा आफू बिभिन्न कार्यालयमा पदमा बहाल रहँदा स्रोत नखुलेको सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी सम्वन्धमा अनुसन्धान हुँदा निज सुरेन्द्र बहादुर थापाले मिति २०४५।०३।०५ गते सार्वजनिक सेवाको पदमा प्रवेश गरेदेखि आ.व. २०७५/०७६ सम्मको जाँच अवधिमा सिर्जित सम्पत्ति एवं खर्च तथा लगानीहरुमा गरिएको कुल खर्च र सोही अवधिको आयहरुको आयव्ययको प्रवाह विवरण Cash Flow Chart अनुसार जाँच अवधिमा स्रोत खुल्न आएको निजको वैध आय रु.१,७६,७६,१२०।९५ (एक करोड छयात्तर लाख छयात्तर हजार एकसय बीस रुपैयाँ पन्चानब्बे पैसा) को अनुपातमा सोही अवधिमा निजले सिर्जना गरेका सम्पत्ति एवं खर्च तथा लगानी रु.२,३७,७८,१९७।९२ (दुई करोड सैतीस लाख अठहत्तर हजार एक सय सन्तानब्बे रुपैयाँ बयानब्बे पैसा) खर्च तथा लगानी गरेको देखिँदा आयभन्दा बढी देखिएको रू.६१,०२,०७६।९७ (अक्षरूपी एकसठ्ठी लाख दुई हजार छयात्तर रुपैयाँ सन्तानब्बे पैसा) रकमको स्रोत खुल्न नसकेको, निज राष्ट्रसेवक भएपश्चात के कस्तो श्रोतबाट आर्जन गरेको हो भन्ने कुराको श्रोत पुष्टि गर्न नसकी गैरकानूनी सम्पत्ति आर्जन गरेको पुष्टि हुन आएको हुँदा मनासिव कारणबिना निजले र निजको परिवारले अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको, आफ्नो हैसियतभन्दा बढी रकम श्रीमती अन्जु खड्का थापाको नाममा ट्रक खरिद, जग्गा खरिद, घर निर्माण एवं विभिन्न बैंकहरुमा जम्मा गरेको देखिंदा सार्वजनिक पद धारण गरी निज सुरेन्द्र बहादुर थापाले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसूर गरेको पुष्टि हुन आएकोले निजलाई बिगो रु.६१,०२,०७६।९७ (अक्षरूपी एकसठ्ठी लाख दुई हजार छयात्तर रुपैयाँ सन्तानब्बे पैसा) कायम गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ मा उल्लेख भएवमोजिम सोही ऐनको दफा ३ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम सजाय हुनका साथै निज सुरेन्द्र बहादुर थापाले जाँच अवधिमा आर्जन गरेको श्रोत नखुलेको सम्पत्तिसमेत साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ३, १६ ग, दफा २९ को उपदफा (१) र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ख, बमोजिम असुलउपर/जफत गरी पाउन मागदावी लिइएको छ ।साथै निज सुरेन्द्र बहादुर थापाले सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदको दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्य गरी गैरकानुनी रुपमा आर्जन गरेको श्रोत नखुल्ने सम्पत्ति श्रीमती अन्जु खड्का थापाको नाममा भएका घरजग्गा तथा बैंक खाताहरुमा रकम मौज्दात लगायतमा गरिएका खर्चहरुमध्ये श्रोत पुष्टि हुन नसकेको लागत मूल्य वरावरको भागको श्रोत नखुलेको सम्पत्ति बिगो साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ग, दफा २९ को उपदफा (१) र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख, बमोजिम जफत गर्ने प्रयोजनार्थ मात्र निज सुरेन्द्र बहादुर थापाकी श्रीमती अन्जु खड्का थापासमेतलाई प्रतिवादी कायम गरी सम्पत्ति जफत गरी पाउन मागदावी लिई बिशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर भएको छ ।