साढे ७८ लाख नगदसहित दुई जना हुन्डी कारोबारका आरोपितलाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दुई जनालाई पक्राउ गरेको एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए।
धनगढी उपमहानगरपालिका-९ घर भई काठमाडौंको बिजुलीबजार बस्ने २३ वर्षीय किशोर चौधरी र ५९ वर्षीय दिपेन्द्रबहादुर मल्ललाई पक्राउ गरेको हो।
प्रहरीले उनीहरूमाथि हुन्डी कारोबार गरेको आरोप छ। प्रहरीले उनीहरूबाट साढे ७८ लाख नगद र चार लाखको चेक पनि बरामद गरेको छ।
न्युरोडमा नेपाल राष्ट्र बैंकले जारी गरेको आदेश/निर्देशन विपरीत हुने गरी इजाजतपत्र नलिई हुन्डी कारोबार गरिरहेको भन्ने सूचना प्रहरीले पाएको थियो।
उक्त सूचनाको आधारमा खटिएको टोलीले शुक्रबार उनीहरूलाई पक्राउ गरेको हो।
उनीहरूमाथि थप अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर टेकु, काठमाडौंमा पठाएको कार्यालयले जनाएको छ।
एसपी कोइरालाका अनुसार दिपेन्द्रले विगत ५ वर्षदेखि र किशोरले विगत ४ वर्षदेखि न्युरोडमा विभिन्न व्यक्तिहरूबाट हुन्डी संकलन गर्ने र बैंकमा डिपोजिटमार्फत रकम व्यवस्थापन गर्थे।
उनीहरूले दैनिक करोड करोडभन्दा माथिको कारोबार गर्ने देखिएको उनले बताए।
यसमा अर्का एक जनाको संलग्नता रहेको प्रहरीले जनाएको छ।