सुनको सिक्काद्वारा दैनिक कारोवार

-


     सुचनाको हक     
     श्रावण १४ गते २०७९ मा प्रकाशित


गत सोमबारदेखि जिम्बावेले जनतालाई सुनको सिक्का बिक्री गर्न सुरु गर्न थालेको छ । जिम्बावेको रिजर्भ बैंकले देशको कमजोर गएको मुद्रालाई बलियो बनाउने उपायका रुपमा सुनको सिक्काको प्रयोग थालेको हो ।

जिम्बावेको रिजर्ब बैंकका गभर्नर जोन मंगुड्याकाअनुसार पसलहरूमा खरिदका लागि पनि सुनका सिक्का प्रयोग गर्न सकिने छ ।

अब कुनै पनि व्यक्ति वा कम्पनीले जिम्बावेका बैंकहरू जस्ता आधिकारिक आउटलेटहरूबाट सिक्का किन्न सक्ने छन् । सिक्काहरू बैंकमा राख्न वा घर लैजान सकिनेछ । विदेशी नागरिकले विदेशी मुद्रामा मात्र सिक्का किन्न सक्ने केन्द्रीय बैंकले जनाएको छ ।

सिक्का भएका व्यक्तिहरूले खरिद गरेको १८० दिनपछि मात्र यसलाई नगदमा कारोबार गर्न सक्नेछन् । २२ क्यारेट शुद्धता भएको प्रत्येक एक ट्रय औंस तौलका सिक्कालाई ऋण तथा ऋण सुविधाको सुरक्षाका लागि पनि प्रयोग गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ । सिक्काको मूल्य एक औंस सुनको लागि अन्तर्राष्ट्रिय बजारदर र सिक्का उत्पादन लागतको पाँच प्रतिशतले निर्धारण गरिएको बताइएको छ ।

केन्द्रीय बैंकले सोमबार वाणिज्य बैंकहरुलाई २ हजार सिक्का वितरण गरेको छ । यसको पहिलो ब्याच देश बाहिर छापिएको थियो । अब क्रमैसँग स्थानीय रूपमा उत्पादन गर्ने योजना छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार २००८ मा भएको उच्च मूल्यवृद्धि र स्थानीय मुद्राको ठूलो अवमूल्यनका कारण धेरै मान्छेको बचत रकम अवमूल्यन ठूलो नोक्सान भएको थियो । त्यो विनाशकारी मुद्रास्फीतिको कारण जिम्बाब्वेका जनताले अमेरिकी डलरम घरमै बचत गर्ने गरेका छन् ।

जिम्बावेमा दैनिक लेनदेनको रूपमा समेत डलर प्रगोग गर्ने क्रम व्याप्त छ । जिम्बावेको स्थानीय मुद्रामा विश्वास यति गिरिसकेको छ कि धेरै खुद्रा विक्रेताहरू डलरकै भुक्तानी माग्छन् ।

मुद्रास्फीतिलाई नियन्त्रण गर्नका लागि सुनका सिक्काहरु प्रभावकारी हुने जिम्बावेको विश्वास छ । यसले स्थानीय मुद्रामाथि विश्वास बढाउने अपेक्षा गरिएको छ ।

जिम्बाब्वेका अर्थशास्त्री प्रोस्पर चिताम्बारा डलरको उच्च माग आपूर्तिसँग मेल नखाइरहेको बताउँछन् । सरकारले अमेरिकी डलरको उच्च मागलाई मध्यस्थता गर्ने प्रयास गरिरहेको उनी बताउँछन् । ‘अन्तर्राष्ट्रिय रूपमा, चीन, दक्षिण अफ्रिका र अष्ट्रेलिया जस्ता देशहरूमा मुद्रास्फीति विरुद्ध ‘हेज’ गर्न र लगानीको अवसरको रूपमा सुनको सिक्का प्रयोग गरिन्छ, यद्यपि तिनीहरू जिम्बावेको केन्द्रीय बैंकले परिकल्पना गरेको मुद्राको रूपमा व्यापक रूपमा प्रयोग गरिएको छैन’ चिताम्बारा भन्छन् ।

उनका अनुसार धेरै नगद भएका कम्पनीहरूले मुद्रा भण्डारण गर्न र वैकल्पिक लगानी सम्पत्तिको रूपमा सिक्का उपयोगी बन्न सक्छन् । तर, व्यक्ति र कम्पनीहरूले डलरलाई प्राथमिकता दिने सम्भावना पनि छ । किनभने डलर जम्मा गर्नु सुविधाजनक र सरल छ ।

जिम्बावेमा पर्याप्त सुनको भण्डार छ र यो बहुमूल्य धातुको निर्यातबाट प्रमुख विदेशी मुद्रा कमाउने देशमध्ये एक हो । सन् २०२० मा १७ टनको तुलनामा २०२१ मा सुनको उत्पादन बढेर २७ टन पुगेको आधिकारिक तथ्यांकले देखाएको छ ।

कानुनी रूपमा जिम्बावेमा उत्खनन गरिएका सबै सुन केन्द्रीय बैंकलाई बेच्नु पर्छ, तर धेरै उत्पादकहरूले अमेरिकी डलरमा भुक्तानी प्राप्त गर्न देश बाहिर सुन तस्करी गर्न रुचाउँछन् ।

गृहमन्त्री काजेम्बेका अनुसार जिम्बावेबाट सुन तस्करी ह्वात्तै बढेको छ । तस्करीबाट देशले मासिक करिब १०० मिलियन डलर बराबरको सुन गुमाउने अनुमान गरिएको छ, काजेम्बेले भनेका छन् ।

एजेन्सीको सहयोगमा