बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले सुशासन स्थापनामा सूचनाको महत्त्वपूर्ण भूमिका रहेको टिप्पणी गरेका छन् । नागरिकहरूमा सत्य तथ्य र वास्तविकताबारे सूचित गराउन नसक्दा सुशासनको परिकल्पना गर्न नसकिने उनले बताए ।
बिहीबार प्रदेश सूचना पुनरावेदन समिति बागमती प्रदेशले रामेछापमा आयोजना गरेको सूचनाको हक प्रवर्द्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लामिछानेले सूचनाको हक नागरिकको हकको रूपमा रहेको बताए । लोकतन्त्रमा सूचना हक बलियो हुने उनको भनाई छ ।
मन्त्री लामिछानेले सूचनाले नै सत्यको नजिक पुग्न र सही मार्गमा हिँड्न सहयोग पुग्ने बताए । उनका अनुसार कोही कसैले पनि सूचना दिँदा गलत, भ्रमपूर्ण र मिथ्या सूचना दिएर दुःख दिने तथा दुरुपयोग गर्ने कार्य नगर्न सम्बन्धित निकायलाई निर्देशन समेत दिए ।