‘हाम्रो मुख्य जिम्मेवारी छुट्टै हुन्छ, त्यो जिम्मेवारी पूरा गर्नु पर्यो नै । यसको साथसाथै सूचना अधिकारीको काम पनि गर्नु पर्ने तर थप काम गरेवापत कुनै प्रोत्साहन छैन ।’ बाजुराको बुढीगंगा नगरपालिकाका सूचना अधिकारी विष्णु प्रसाद जैशीको भनाइ हो यो ।
उनी गाउँपालिकामा जनस्वास्थ्य निरीक्षक पदमा कार्यरत छन् । उनलाई प्रमुख प्रशासकीय अधिकृतले सूचना अधिकारीको जिम्मेवारी पनि दिएका छन् । सूचना अधिकारीको काम निकै झण्झटिलो भएको उनी बताउँछन् । ‘यसका लागि छुट्टै कर्मचारी आवश्यक पर्ने हो, प्रत्येक स्थानीय तहमा सूचना अधिकारीको दरबन्दी नै हुनुपर्छ, दोहोरो जिम्मेवारी सम्हाल्दा न नियमित कामनै प्रभावकारी हुन्छ, न सूचना प्रवाहको काम ।’
उनी स्थानीय तहहरुमा सूचना अधिकारी तोकिएको भएपनि सूचना शाखा व्यवस्थित नभएको बताउँछन् ।
बडीमालिका नगरपालिकाका सूचना अधिकारी पुष्पराज भट्टको पनि यस्तै बुझाइ छ । प्रशासन शाखाको मुख्य जिम्मेवारी भएका भट्ट पनि सूचना अधिकारीको छुट्टै दरबन्दी हुनु पर्ने बताउँछन् ।
‘हामीलाई आफ्नै कामबाट फुर्सद हुन्न, त्यसैमा सूचना अधिकारीको काम पनि गर्नु पर्ने’, भट्ट भन्छन्, ‘दोहोरो जिम्मेवारी पूरा गरेवापत कुनै प्रोत्साहन छैन, तर सूचना पाएन भन्ने बहानामा कति बेला कसले मुद्दा गर्छ भन्ने डर रहिरहन्छ ।’
आफूहरुलाई सूचना अधिकारीको जिम्मेवारी दिईएको तर सो विषयमा कुनै तालिम नदिइएको सूचना अधिकारीहरु बताउँछन् । ‘मैले सूचना अधिकारी नियुक्त भएपछि आफैंले अध्ययन गरें तर कानूनी कुरा धेरै बुझ्न सकिन्नँ’, बाजुरा त्रिवेणी नगरपालिकाका सूचना अधिकारी नरेशराज पन्त भन्छन्, ‘सूचना अधिकारीहरुलाई बेला बेलामा रिफ्रेस गराईराख्नु आवश्यक छ ।’
केही सूचना मागकर्ताहरुले दुःख दिने नियतले सूचना माग्ने गरेको डोटीको आदर्श गाउँपालिकाका सूचना अधिकारी डवलवहादुर भाट बताउँछन् । ‘के सूचना चाहियो, के प्रयोजनका लागि चाहियो भन्ने समेत स्पष्ट उल्लेख नगरी सूचना पाउँ भनेर ईमेलमार्फत निवेदन पठाएका हुन्छन्’, उनी भन्छन्, ‘सूचना आवश्यक परेको भन्दा पनि सूचना अधिकारीलाई दुःख दिने नियत जस्तो देखिन्छ ।’ भाट पनि सूचना अधिकारीको छुट्टै दरबन्दी हुनु पर्ने बताउँछन् ।
डोटीको बडीकेदार गाउँपालिकाका शिक्षा अधिकृत विवेक देउवालाई पनि सूचना अधिकारीको जिम्मेवारी छ । ‘हामीले सूचना पाएनौं, सूचना दिएन भन्ने गुनासोहरु धेरै आउँछन् तर हाम्रो समस्या कसैले बुझ्दैनन्’, देउवा भन्छन्, ‘छुट्टै कर्मचारी नभएसम्म सूचनाको हक प्रभावकारी रुपमा कार्यान्वयन हुन सक्दैन ।’
सूचना माग गर्नेमा अधिकांश सञ्चारकर्मी हुने गरेको सूचना अधिकारीहरुको बुझाइ छ । ‘कुन व्यक्तिसँग के चित्त बुझेको हुँदैन वा के स्वार्थ पुरा भएको हुँदैन, सूचना माग गर्न आईहाल्छन्’, एक सञ्चारकर्मीले मागेको सूचना स्मरण गर्दै उनी भन्छन्, ‘समाचार संप्रेषण प्रयोजनका लागि भन्दै ६ सय पृष्ठको सूचना माग गर्नु भयो तर उहाँले कतै समाचार प्रकाशन गरेको भेटिएन ।’ आफ्नो स्वार्थ पूरा नभएपछि सूचना माग्ने नाममा दुःख दिने गरेको उनको भनाइ छ । रामहरी ओझा ले लेखेको यो समाचार नेपाल प्रेस ले प्रकाशन गरेको छ