सूचना माग कर्तालाई पक्राउ गरेको ब्यहोरा पेस गर्न आयोगको पत्र, प्रेम श्रेष्ठ पक्राउको बिषयमा आयोग र महासंघ दुवै मौन

-


     सुचनाको हक     
     असार ६ गते २०८१ मा प्रकाशित



राष्ट्रिय सूचना आयोगले सूचना माग गरेको आधारमा अभियानकर्मी पक्राउ परिएको घटनाको यथार्थ ब्यहोरा पठाउन पत्राचार गरेको छ । आयोगका सचिव होमप्रसाद लुइँटेलले जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई लेखेको पत्रमा घटनाका विषयमा छानबिन गरी गराई यथार्थ विवरण पेस गर्न भनेको छ ।

गोकर्णेश्वर नगरपालिकामा सूचना मागेको आधारमा प्रहरी वृत्त बौद्धले तिनजना अभियानकर्मी पक्राउ गरेको भन्ने सूचनाको हकको लागि राष्ट्रिय महासंघको भनाइलाई आधार मानेर आयोगले जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई पत्राचार गरेको हो । सूचना माग गर्ने अभियानकर्मीलाई प्रहरीले पक्राउ गरी विभिन्न नाममा मुद्दा चलाइएकामा महासङ्घको ध्यानाकर्षण भएको विज्ञप्तिमार्फत सार्वजनिक गरेको छ ।

महासङ्घले जारी गरेको विज्ञप्तिमा जिल्ला कार्य समिति काठमाडौँका सदस्य अस्मिता खत्री, महासङ्घ गोकर्णेश्वर नगर समिति संयोजक आदर्श क्षेत्री एवं सूचनाको हकका अभियानकर्मी राजु सुनारले सूचना माग गरेर आतङ्कित गरेकाले पक्राउ गरेको भनी प्रचार गरेकामा आपत्ति जनाएको हो । अनियमितता, भ्रष्टाचार र बेथिति भएका विषयमा सूचना माग गरी सार्वजनिक गर्दा यस्तो आरोपमा पक्राउ गर्नु निन्दनीय रहेको महासङ्घले जनाएको छ । यता यो बिषयमा नगरपालिकाका प्रबक्ता, सूचना अधिकारी र उप मेयर सबै अनबिज्ञ रहेको पाइन्छ l सूचना अधिकारीले भने अस्मिताले सूचना मागेको आफुलाई थाहा नभएको तर राजु जी र आदर्शले भने सूचना माग गर्ने गरेको कुरा बताउदै सूचना माग गरेको कारण प्रहरीले पक्राउ नगरेको र यसमा आफु अनविज्ञ रहेको बताउनुभयो l यो संगै पक्राउ परेका प्रेम श्रेष्ठ को बारेमा भने आयोग र महासंघ दुवै मौन रहेका छन् l

बौद्ध वृत्तका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले भने जिल्ला अदालत काठमाडौँको पक्राउ पुर्जी प्राप्त भएकाले चारजनालाई पक्राउ गरिएको जानकारी दिए । चारजनालाई जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा पेस गरिएको जनाएका डी एस पी ले सूचना माग गरेको कारण आफुहरुले पक्राउ नगरेको र उहाहरुको नाममा जाहेरी परेको कारण कानुन अनुसार पक्राउ गरि अनुसन्धान चलिरहेको हुँदा थप कुरा भन्न नसकिने र जाहेरी वालाको नाम उहाको सुरक्षाको दृष्टिकोणको कारण पनि आफुले बताउन नसक्ने बताउनुभयो l प्रहरीका अनुसार समाजमा अशान्ति पैदा गरेको अभियानको नाममा धाक धम्कि दिएको लगायतको आरोप उहाहरुमाथि लागेको छ l

चारजना अभियानकर्मीलाई प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले गोकर्णेश्वर नगरपालिकाका विभिन्न स्थानबाट पक्राउ गरेको थियो तर महासंघ र आयोग भने अस्मिता, राजु र आदर्शको बारेमा मात्र बोलेको छ पक्राउ परेका प्रेम जिको बारेमा भने सबै मौन रहेका छन् । ।

सूचना माग्न पाउनु नागरिकको संवैधानिक र कानुनी हक भएको उल्लेख गर्दै महासङ्घले सूचना मागेकै कारण प्रहरीले पक्राउ गर्नु विधिको शासनविपरीत भएको विज्ञप्तिमा उल्लेख गरेको छ । सूचना माग गर्नेले कानुनविपरीत कुनै कार्य गरेका छन भने निष्पक्ष छानबिन गरी कानुनअनुसार कारबाही गर्न पनि महासङ्घले बताएको छ ।

पक्राउ परेका तिन जनालाई निःसर्त तत्काल रिहाइका लागि महासङ्घले माग गरेको छ । सूचना माग गरेकै आधारमा पक्राउ गरेर नागरिकलाई प्रश्न गर्नेलाई तर्साएर अनिमियतता र भ्रष्टाचारलाई बढावा दिन खोजेको हो भन्ने बुझाइ बढेको समेत जनाएको छ l