स्वतन्त्र पत्रकार संघ नेपालको राष्ट्रिय समितिद्वारा छ जना पत्रकारहरूलाई एक साथ पुरस्कृत गर्ने घोषणा गरिएको छ । संघको पुरस्कार छनौट समितिको यहाँ सम्पन्न बैठकको सिफारिस अनुसार ती नाम बैशाख १७ गते छनौट गरिएका हुन् । एउटै मञ्चबाट पत्रकारहरू पन्त, भण्डारी, शाह, ढकाल, तिवारी र चौधरी सम्मानित हुने हुनु भएको छ।
कोभिडका कारणले अघिल्लो वर्ष र गत वर्षको पुरस्कार संयुक्त रुपमा वितरण गर्ने गरी त्यस्तो निर्णय गरिएको हो । पुरस्कृत हुनेहरूमा समाजिक पत्रकारिता पुरस्कार– ७७ भूपनिधि पन्त(हाल पोखरा) र मोहन भण्डारी हाल विराटनगरलाई प्रदान गरिने भएको छ । उक्त पुरस्कारको राशि जनही २५ हजार नगद, दोसल्ला र सम्मानपत्र रहेको छ । उक्त पुरस्कारका लागि पोखराका समाजसेवी एवम् प्रजातन्त्र सेनानी लीलाभक्त आचार्यले पाँच लाखको अक्षयकोष समेत राखी स्थापना गरिदिनु भएको हो ।
यसैगरी, चन्द्रकान्त पौडेल उर्फ गोरखापत्र बाजे स्मृति क्रियाशील पत्रकारिता पुरस्कार– २०७७ नमस्कार शाह बाँके र नरेन्द्र ढकाल झापालाई २०७८ को पुरस्कार प्रदान गरिने भएको छ । उक्त पुरस्कारको राशी जनही ११ हजार नगद, दोसल्ला र सम्मानपत्र रहेको छ ।
यसैगरी स्वतन्त्र पत्रकार महिला सम्मान २०७७ र २०७८ क्रमशः सविता तिवारी (नवलपुर) र डिलाकुमारी चौधरी (दाङ)लाई प्रदान गरिने भएको पुरस्कार छनौट समितिका सदस्य एवम् राष्ट्रिय सल्लाहकार शान्ती राणाले बताउनु भयो । उहाँका अनुसार उक्त पुरस्कारको राशी जनही ११ हजार नगद, दोसल्ला र सम्मानपत्र रहेको छ । पुरस्कार जेठमा हुने स्वतन्त्र पत्रकार संघ नेपालको राष्ट्रिय अधिवेशन उद्घाटन समारोहमा वितरण गरिने भएको उहाँले बताउनु भयो ।
स्वतन्त्र पत्रकार संघ नेपाल प्रतिभा चयन समितिका संयोजक वरिष्ठ पत्रकार नारायण कार्कीको संयोजकत्वमा बसेको बैठकले गरेको सिफारिस अनुसार संघले उक्त निर्णय गरेको हो । ३ सदस्यीय समितिको सदस्यमा संघका संस्थापक अध्यक्ष कृष्णप्रसाद बास्तोला र राष्ट्रिय सल्लाहकार शान्ति राणा रहेका थिए । पुरस्कार छनौट समितिको बैठकमा राष्ट्रिय सल्लाहकार नवराज पहाडी आमन्त्रित सदस्यको रुपमा सहभागी हुनुहुन्थ्यो ।
स्वतन्त्र पत्रकार संघ नेपालबाट सञ्चालित सामाजिक पत्रकारिता पुरस्कारबाट यस अघि भक्तपुरको दधिकोटका वरिष्ठ पत्रकार ९३ वर्षीय भैरव रिसाल सम्मानित हुनु भएको छ ।
गोरखापत्र बाजे स्मृति युवा प्रोत्साहन स्वतन्त्र पत्रकारिता पुरस्कार पहिलो पटक वितरण गर्न लागिएको हो ।
स्वतन्त्र पत्रकार महिला पुरस्कारबाट यस अघि दुर्गा अधिकारी (कास्की) शीला गुरुङ (पर्वत) शान्ति राणा (कास्की) रवीना आले (तनहुँ), सीता दर्नाल (रुपन्देही) र इश्वरी न्यौपाने (स्याङ्जा) सम्मानित हुनु भएको छ ।
स्मरणीय छ, सम्मानका लागि छनौट हुनुभएका व्यक्तित्वहरूमा तिवारी र भण्डारी स्वतन्त्रका राष्ट्रिय सल्लाहरकार, शाह, ढकाल र तिवारी जिल्ला शाखाका अध्यक्ष तथा चौधरी जिल्ला शाखाको कोषाध्यक्ष समेत हुनुहुन्छ ।