हाम्रो समाज कता जाँदैछ?

-


     सुचनाको हक     
     पौष २३ गते २०७९ मा प्रकाशित


हाम्रो समाजमा नयाँनयाँ विकृति देखिन थालेका छन्। यस्ता विकृतिले जरा गाड्दै गएका छन्। त्यसैले समाज विविध समस्याले जकडिएको छ। समाज कुनै बेला अभावमा थियो। यहाँ त्यही अभाव पूरा गर्ने निहुँमा विकृति फैलँदै गएको हो। यसलाई बेलैमा रोक्न आवश्यक छ।

सामाजिक विकृति रोक्न हामी आफैँ सजग हुनुपर्छ। नेताले मात्र यहाँ केही गर्न सक्दैनन्। समाज जस्तो छ नेता पनि त्यस्तै आउने हुन्। जोसँग पैसा हुन्छ ऊ नै ठूलो मानिस भन्ने चलन छ। त्यस्ता व्यक्तिको अथाह पैसा कहाँबाट कसरी आयो खोजीमा कोही हुँदैन। कसैले त्यसको खोज्छ भने त्यो बीचमा रोकिन बाध्य हुन्छ। त्यसलाई चिर्न गुणस्तरीय शिक्षा र सूचनाको सही सम्प्रेषण गर्नैपर्छ।

समाज गुणस्तरीय शिक्षाबाट वञ्चित छ। शिक्षामा व्यापार भइरहेको छ। अर्बपतिहरूले आफ्नो जग्गामा शिक्षालय खोलेर व्यापार गरिरहेका छन्। पूर्वजहरू एकैजनाले ५० बिघा जग्गा दिएर विद्यालय खोलेको इतिहास छ। उदाहरणका लागि वीरगन्जको ठाकुराम क्याम्पस हेरौँ, नारायणगढको मैयादेवी क्याम्पस स्थापनामा योगदान दिनेलाई स्मरण गरौँ।

बटुवा थाक्छन् भनेर चौतारो बनाउने, खानेपानी राखिदिने, घरमा दूधदही भए बटुवालाई खुवाउने समाज हो हाम्रो। अब त यस्ता सेवामूलक काम टाढाकोे विषय भइसकेको छ। त्यसैले हामी कता गइरहेका छौँ? हाम्रा नेता र अर्बपतिहरूले कुनै सामाजिक योगदान दिएका छन्? शाहवंश हराउँदा त्यो वंशको एक कुनै हिस्साले कतै त्यस्तो छाप छोडेको छ? नेतृत्वमा बस्नेहरू के गरिरहेका छन्? कर्मचारीतन्त्रमा कस्ता मानिस बाँकी छन्? हाम्रो समाज कस्तो थियो, अहिले कता गइरहेको छ? त्यसमा घोत्लिनुपर्ने बेला आएको छ। सधैँ राजनीति–राजनीति भनेर हिँडेर मात्र हुँदैन।

शिक्षण संस्थाहरू नाफा कमाउने उद्देश्यले खुलेका छन्। विद्यार्थीबाट अधिक शुल्क उठाउने गरिएको छ। राम्रा शिक्षक नराखी सस्ताबाट काम चलाइन्छ। आफैँ ज्ञानबाट वञ्चित भएकाहरूले ज्ञान बाँडिरहेका छन्। बालबालिका पढाउने शिक्षकले कुनै प्रशिक्षण लिएका हुँदैनन्। हामी त्यस्ता स्कुलमा बच्चा पढ्न पठाएर अत्यन्त राम्रो गरेको ठान्छौँ। प्रशिक्षण लिएका सरकारी शिक्षक पनि असल उत्पादनभन्दा आफ्नै तालमा रमाइरहेका छन्। उनीहरू आफ्नो जिम्मेवारी पूरा गर्नुभन्दा राजनीतिक दलको झन्डा बोक्दा खुसी हुन्छन्।

टाठाहरूले अल्टेरियर मोटिभ (फरक प्रकारका मनसाय) राखेर काम गर्ने समाज भइसकेको छ। यहाँ टाठाबाठाले सीधासाधालाई गलत प्रयोग गरेर लाभ उठाउने काम भइरहेको छ। राजनीतिमा पनि गलत व्यक्तिले फाइदा उठाइरहेका छन्। निर्वाचनमा पैसाको चलखेल, मासु र जाँडरक्सी बाँड्ने काम देखिएको छ।

हाम्रो शिक्षा र राजनीतिक व्यवस्थाले पनि आमजनतालाई नागरिक बनाउन सकेको छैन। त्यसमा सोचेर काम गर्न आवश्यक छ। जनता (पिपुल) र नागरिक (सिटिजन) बीच फरक हुन्छ। हाम्रा आमजनता कहाँ कस्तो अवस्थामा छन्? कतिपय जनता अझै पनि आदिम जस्ता छन्। तालिबानले महिलालाई पढ्न बन्देज गरेको हामी सबैले सुनकै छौँ। त्यसको प्रभाव हामीकहाँ पनि परेको छ। चेतना फैलाउने प्रक्रियाबाट नागरिकलाई बाहिर राख्ने काम भएको छ।

समाज घुसखोरी र कमिसनतन्त्रले चलेको छ। त्यस्तो रोग निको हुन सकेको छैन। चलखेलबाट मात्रै समाज बलियो हुँदैन। यस्ता कार्यले समाजमा ठग प्रवृत्तिका मानिस बलिया हुनेछन्। उनीहरूले समाजलाई गुमराहमा राखेर आफूलाई मसिहा बनाउने गर्छन्। अनि समाज देखाएर आफ्नो जीविकोर्पाजन मात्र ध्यान दिएर काम गर्छन्।

विहारमा जस्तो फोहोरी राजनीति यहाँ पनि प्रवेश गरेको छ। त्यो भनेको पैसा कमाउन राजनीति गर्ने प्रथा हो। विहारमा एकपटक ठूलाठूला माफिया नेता भए। हामीकहाँ पनि त्यस्तो प्रवृत्ति सर्दै आएको छ। यहाँको राजनीति पनि माफियाको हातमा जाने देखिन्छ।

बिचौलिया बलियो हुनै सक्दैन। तर हामीकहाँ बिचौलिया शक्तिशाली छन्। बिचौलियालाई बलियो बनाउनु भनेको ठालु र तस्करहरूलाई शक्तिशाली बनाउनु हो। पैसा भएकालाई ठूलो मानिस मान्ने प्रचलन छ। चरित्रवान्, सचेत, मूल्यमान्यतामा अडिग र आदर्श मानिसको संख्या बढेमा मात्र समाज राम्रो हुन्छ।

सम्पत्ति शुद्धीकरण, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतले स्वतन्त्रतापूर्वक काम गर्न पाउनुपर्छ। ती निकायमा राजनीतिक हस्तक्षेप अपरिहार्य छ। सच्चा राजनीतिज्ञले मात्रै ती निकायलाई बलियो बनाउन सक्छन्।

अमेरिकाको छेउमा मेक्सिको छ। मेक्सिकोको आधा राज्य माफियाको कब्जामा छ। त्यहाँ गैरसंवैधानिक व्यक्तिले राज्य चलाएका छन्। आफ्नो आदेशका भरमा राज्य र समाज नियन्त्रण गर्न खोजिएको छ। यसले समाजलाई बलियो बनाउँदैन। यसबाट स्पष्ट हुन्छ– छिमेकमा सुशासन छ र राम्रो छ भन्दैमा हामी पनि राम्रो हुन्छौँ भन्ने होइन। मेक्सिकोमा के भएको छ र अमेरिका कहाँ छ? आफैँले अध्ययन गर्दा भइहाल्छ।

हाम्रो ‘रोलमोडल’ फिनल्यान्ड, नर्वे, स्विडेनलगायत हुनुपर्छ। अमेरिका, भारत र चीन हाम्रो रोलमोडल हुँदै होइनन्। समाजवाद र लोकतन्त्रलाई सँगै लैजाने हो भने स्केन्डिभियन मुलुकको असल अभ्यास आवश्यक छ।

निर्वाचन हुँदैमा लोकतन्त्र हुँदैन। समाज सभ्य बनाउनुपर्छ अनि मात्र प्रजातन्त्र रहन्छ। निर्वाचन लड्नेले करोडौँ रकम खर्च गर्छन्। तर त्यो रकम कस्तो हो भनेर खोजी हुँदैन। व्यक्ति हत्याको मुद्दा लागेका मानिस निर्वाचित हुने र कागजपत्र नक्कली पेस गरेको आरोप लागेकाहरू उपप्रधानमन्त्री बन्ने मुलुक हो हाम्रो। मेरै क्षेत्रबाट निर्वाचित सांसदमाथि हत्या आरोपमा मुद्दा दर्ता भएको छ। आर्थिक अपचलनको आरोप लागेका व्यक्ति निर्वाचित भएर समाजलाई गिज्याइरहेको अवस्था छ। जसले पैसा खर्च गरेर भ्रम छर्न सक्यो उसैले चुनाव जितेको छ। त्यसैले लोकतन्त्र भनेको निर्वाचन मात्र होइन।

विहारमा जस्तो फोहोरी राजनीति यहाँ पनि प्रवेश गरेको छ। त्यो भनेको पैसा कमाउन राजनीति गर्ने प्रथा हो। विहारमा एकपटक ठूलाठूला माफिया नेता भए। हामीकहाँ पनि त्यस्तो प्रवृत्ति सर्दै आएको छ। यहाँको राजनीति पनि माफियाको हातमा जाने देखिन्छ।

लोकतन्त्रका खतरा र चुनौतीबारे पनि बहस हुन आवश्यक छ। सर्वप्रथम कानुन कठोर बनाउनुपर्‍यो। खराब चरित्रका मानिस चुनाव लड्न नपाउने व्यवस्था हुनुपर्छ। व्यक्ति हत्यामा संलग्न व्यक्तिले चुनाव लड्दा प्रहरी मौन देखिन्छ। प्रहरीले निर्वाचन आयोगलाई र आयोगले प्रहरी देखाउँदै पन्छिने गरेका छन्।

सुधारको पहिलो प्रयास नागरिक शिक्षाबाट थालनी गर्नुपर्छ। नागरिकलाई सडकमा कसरी हिँड्ने, कोसँग कसरी बोल्ने, मुुलुक र समाजप्रतिको जिम्मेवारी के हो भन्ने बारेमा सिकाउनुपर्छ। अतः नागरिक शिक्षामा लगानी गर्नैपर्छ। मुख्य सरोकार लोकतन्त्रलाई कसरी लोकतान्त्रिक कसरी बनाउने भन्ने हो।

सांसदमा जनताका जल्दाबल्दा समस्याबारे प्रश्न उठाएर ‘इन्पुट’ दिने खालका नेता खोइ? संसद्‌मा बौद्धिक बहस कसरी गर्ने? हामीकहाँ अनेक तहका चुनौती छन्। कर्मचारीतन्त्र भ्रष्टाचारको चंगुलमा छ। कर्मचारीहरू कसरी पैसा कमाउने भन्ने ध्याउन्नमा हुन्छन्। विश्वविद्यालयहरूमा त्यस्तै विकृति छ। विश्वविद्यालयहरू स्वायत्त हुनुपर्छ। समाजसुधार एक रातमा हुने होइन। क्रमिक रूपमा हुन्छ। त्यसका लागि सर्वप्रथम नेता इमानदार हुन जरुरी छ। तर अहिलेका नेता कति इमानदार छन्? गम्भीर प्रश्न हो यो।

हामीले अझै पनि गुणस्तरीय शिक्षामा जोड दिएका छैनौँ। गुणस्तरीय शिक्षाबिना मुलुकको विकास असम्भव छ। हामीले स्केन्डिभियन मुलुकलाई आदर्श मानेर त्यहाँको जस्तै शिक्षामा जोड दिन आवश्यक छ। हाम्रो ‘रोलमोडल’ फिनल्यान्ड, नर्वे, स्विडेनलगायत हुनुपर्छ। अमेरिका, भारत र चीन हाम्रो रोलमोडल हुँदै होइनन्। समाजवाद र लोकतन्त्रलाई सँगै लैजाने हो भने स्केन्डिभियन मुलुकको असल अभ्यास आवश्यक छ।

(कांग्रेस नेता एवम् पूर्वमन्त्री चौधरीसँगको कुराकानीमा आधारित)