हुण्डी मार्फत मासिक १ अर्ब रकम विदेशियो

-


     सुचनाको हक     
     श्रावण २ गते २०७९ मा प्रकाशित


देशभर रहेका सवारी साधनको स्पेयर्स पार्ट्सको व्यापार व्यवसाय गर्दै आएका व्यापारीबाट मासिक रुपमा करोडौ रुपैयाँको राजश्व छली हुदै आएको भेटिएको छ । नेपालमा सबैभन्दा धेरै बिक्री हुनेमध्ये स्पेयर्स पार्ट्सका सामान समेत चोरी पैठारीबाट नेपाल भित्राएर अत्याधिक मुल्यमा बिक्री हुदै आएपनि सरकारी ढुकुटीमा जम्मा हुनुपर्ने राजश्व र कर भन ठूलो परिमाणमा छली हुदै आएको भन्सार विभागले नै जनाएको छ ।

यस क्षेत्रमा सरकारको ध्यान नगएकै कारण मासिक रुपमा नेपालबाट अबैधरुपमा भारतमा १ अर्ब रुपैयाँभन्दा बढी रकम लैजाने गरेको समेत पाइएको छ । सो रकम हुण्डीमार्फत भारत लगायत अन्य देश पठाउदै आएको आरोप सम्बन्धित क्षेत्रका व्यवसायीमाथी लागेको छ । वर्षभरिनै कारोबार हुने स्पेयर्स पार्ट्स आयात विभागको रेकर्डमा नगन्य मात्रामा देखिए पनि बजारमा भने ठूलो परिमाणमा सो पार्ट्स अत्याधिकमात्रामा बिक्री हुदै आएको छ ।

तर, सरकारी रेकर्डमा भने मासिक रुपमा कति पार्ट्सको कारोबार हुन्छ भन्ने विश्वासिलो तथ्याङक समेत विभागसंग नभएको पाइएको छ । ‘मोटरसाइकल, कार, जीपलगायत सवारी साधनको बिक्री दिनानुदिन बढ्दै जाने तर, त्यसैसँग सम्बन्धित स्पेयर्स पार्ट्सको आयात नगन्य मात्रामा सरकारी निकायमा देखाउदै सामान अबैधरुपमा नेपाल भित्रिएको विभागले नै जनाएपनि सो बारे अनुसन्धान र अनुगमन भने सरकारी निकायबाट भएको छैन ।

जसको फाईदा व्यापारीले लामो समयलेदेखि लिदै आएका छन् । सवारी सधानसँग सम्बन्धित स्पेयर्स पार्ट्सको आयातमै सम्बन्धित भन्सार कार्यालयकै कर्मचारीको संलग्नतामा चोरीपैठारीको सामान विना रोकतोक नेपाल प्रबेश पाउने गरेको आरोप समेत सरकारी निकायमाथी लाग्दै आएको छ ।

थोरै परिमाणमा सामान आयातको अनुमति विभागबाट लिने र सोही अनुमतिकै आधारमा तस्करसँग मिलेर पार्ट्स भित्राउने खेल वर्षौदेखि चल्दै आइरहेको छ । तस्करसँग मिलेर ठूलो परिमाणमा यस्ता सामान भित्राउने र अर्बौं रुपैयाँ राजस्व छली हुने गरेको विभागले बताएपनि सो अबैधधन्दाको नियन्त्रण गर्न भने चासो देखाएको छैन ।

वर्षभरि निरन्तर कारोबार हुने र सामान आएको रेकर्ड भन्सारमा नहुने भएकैले यो व्यवसायबाट ठूलो राजश्व छली भएको आरोप लागेको ।
उता व्यापारीले भने सामान नै बिक्री नभएको भन्दै नक्कली विवरण सरकारी निकायमा पेश गर्दै आएको समेत खुलेको छ । नेपालका हरेक ठाउँमा खुलेका वर्कसपबाट त्यस्ता सामानको बिक्री हुदै आएको छ ।

चोरीपैठारीबाट भित्राएको सामान बेच्दा मुल्यअभिबृद्धि कर (भ्याट) १३ प्रतिशत, अन्तशुल्क, र भन्सार राजस्व सरकारले गुमाउदै आएको छ । विक्री भएको सामानको समेत नक्कली बील (कोटेशन) बील मार्फत आर्थिक कारोबार गर्दै आएको पाइएको छ । स्पेयर्स पार्ट्सको चोरीपैठारीलाई रोक्न सरकारले विशेष पहल चालिरहेको भन्सार विभागले जनाएपनि सो पहल अहिलेसम्म कार्यान्वयनमा भने आएको छैन । सबैभन्दा धेरै कारोबार हुने क्षेत्रबाट राजस्व किन कम उठिरहेको छ भन्ने विषयमा अर्थमन्त्रालयमा छलफल भएपनि कारबाही भने गर्ने आँट सरकारले गरेको छैन ।