१० रूपैयाँमा एक जार पानी पाइने ‘पँधेरो’

-


     सुचनाको हक     
     श्रावण १२ गते २०७९ मा प्रकाशित


काठमाडौंको सिनामंगलस्थित गैरीगाँउ-९ मा १० रूपैयाँको एक जार पानी पाइने आधुनिक पँधेरो बनाइएको छ। 

बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको पहलमा डिभिजन-५ खानेपानी कार्यलय र शक्तिविनायक खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको संयोजनमा यो योजना सम्पन्न भएको हो। 

महंगो जारको पानीको लागि यो उत्तम विकल्प रहेको समितिका अध्यक्ष विकास गौतमले बताए।

‘पानी पँधेरोको मुख्य उद्देश्य सस्तोमा शुद्ध खानेपानी उपलब्ध गराउनु हो’, समितिका अध्यक्ष गौतमले भने, ‘प्रत्येक दिन बिहान र बेलुकी दुई घण्टा पानी वितरण गर्छौं।’

लुसेन्ट ड्रप नेपालले परीक्षण गर्दा पानी पिउन योग्य भएको प्रमाणित गरेको छ। योसँगै समितिले प्रति दिन सय जार बढी पानी वितरण गर्दै आएको छ।

सस्तो मूल्यमा स्वच्छ पानी पिउन पाउँदा उपभोक्ताले सो कार्यको प्रोत्साहन पनि गरेका छन्।

स्थानीय मीठु थापाले सस्तोमा पानी पाउँदा आफूलाई खुसी लागेको बताइन्। 

‘४० रूपैयाँ तिरेर पानी खानुपर्थ्यो, १० रूपैयाँमा पाउँदा खुसी छौं’, स्थानीय मीठु थापाले भनिन्, ‘मीठो नि छ, सधैंभरि यही पानी खान पाए हुन्थ्यो।’

झण्डै ३५ लाख रूपैयाँ लगानीमा पानी पँधेरो बनाइएको गौतमले बताए। 

हाललाई एक बोतल पानी निःशुल्कमा वितरण गरिरहेको समितिले भावी दिनमा घर-घरमा पानी पुर्‍याउने व्यवस्थाको योजना बनाएको बताएको छ। सुसन चौधरी ले सेतोपाटिमा लेख्नुभएको छ यो समाचार l