चिकित्सा शिक्षा सरोकार संघर्ष समितिले आगामी आइतबार सबै शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ । सो दिन कलेज सञ्चालकहरु, शिक्षक, कर्मचारी, विद्यार्थी तथा अभिभावकहरु देशव्यापी रुपमा शान्तिपूर्ण बृहत र्यालीमा सहभागी हुने बताइएको छ ।
चिकित्सा शिक्षा सरोकार संघर्ष समितिले १४ बुँदे मागसहित तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्ने क्रममा उक्त कार्यक्रम राखेको हो । पहिलो र दोस्रो चरणका आन्दोलनका कार्यक्रमबाट आफूहरुको माग सम्बोधन नभएको उल्लेख गर्दै समितिले तेस्रो चरणमा शान्तिपूर्ण सडक आन्दोलन कार्यक्रम राखिएको जनाएको छ ।
आज जारी विज्ञप्तिमा निरङ्कुश, स्वेच्छाचारी चिकित्सा शिक्षा ऐन परिमार्जन गर्नुपर्ने, सीटीईभीटीको पुनर्संरचना गर्नुपर्ने, स्तरोन्नती गर्न बाँकी संस्थाहरुको तत्काल भर्ना खोल्नुपर्ने, चिकित्सा आयोग र सीटीईभीटीको बदनीयतले बन्द भएका नर्सिङ कलेजहरुमा तत्काल भर्ना खोल्नुपर्ने माग राखिएको छ ।
यस्तै, कलेज बन्द हुँदा रोजगारी खोसिएकाको रोजगारीको प्रत्याभूत गर्नुपर्ने, छात्रवृत्तिमा सामानता कायम गर्नुपर्ने, नर्सिङलगायत पारामेडिकल विषयहरु चिकित्सा शिक्षाबाट अलग गर्नुपर्ने, बजार अर्थनीतिअनुसार मूल्य निर्धारण हुने व्यवस्था गर्नुपर्ने, हरेक तहका लागि छुट्टाछुट्टै अस्पताल चाहिने अव्यवहारिक कार्यविधि खारेज गर्नुपर्ने माग राखिएको छ ।
यता, विश्वविद्यालय, प्रतिष्ठान, विषयगत काउन्सिल र सीटीईभीटीको स्वायत्ततामाथि हस्तक्षेप बन्द गर्न, डब्ल्यूएचओको मापदण्डअनुसार सबै विधा समेटी दरबन्दी कायम गरी तुरुन्त पदपूर्ति गर्न, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा, सुरक्षित काम गर्ने वातावरण, वृत्ति विकास तथा उच्च शिक्षा अध्ययनको अवसरको ग्यारेन्टी गर्न, देशमा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा भएको लगानीको सुरक्षाको ग्यारेन्टी गर्न र शिक्षण संस्थाहरुमा कोटा पद्धती खारेज गर्नुपर्ने विषय पनि विज्ञप्तिमा उल्लेख छ ।
समितिले आफ्ना माग पूरा नभएमा भोलिदेखि तेस्रो चरणको आन्दोलन माइतीघर मण्डलामा शान्तिपूर्ण धर्नाबाट थाल्दैछन् ।