२६ घरधुरी हटाएर सार्बजनिक जग्गा संरक्षणमा पोखरा महानगर ।

-


     सुचनाको हक     
     श्रावण ४ गते २०७९ मा प्रकाशित


पोखरा महानगरपालिकाले पोखरा ३३ मा अनधिकृत रूपमा निर्माण गरिएका छाप्रा भत्काएको छ । महानगरका कानुन महाशाखा प्रमुख नारायण प्रसाद शर्माले विभिन्न जिल्लाबाट आएका मानिसहरूले अवैध रूपमा निर्माण गरेर बसेका छाप्रा सोमबार हटाइएको जानकारी दिनुभयो  ।

मेयर धनराज आचार्यको निर्देशन र वडाध्यक्ष रामचन्द्र अधिकारीको उपस्थितिमा ती छाप्रा भत्काइएको उहाँले बताउनुभयो । उहाँका अनुसार वडा नम्बर ३३ को दुई पिप्लेमा निर्माण गरिएका २३ छाप्रा र वडा नम्बर ३३ कै पशुपति घाटमा निर्माण गरिएका ३ छाप्रा गरी २६ वटा छाप्रा भत्काइएको हो ।

पोखरा महानगरको सार्वजनिक जग्गा संरक्षण अभियानको सुरुवात स्वरूप ती छाप्रा भत्काइएको उहाँले बताउनुभएको छ  । अन्यत्र पनि यस्ता अनधिकृत रूपमा निर्माण गरिएका संरचना क्रमशः भत्काउँदै लगिने उहाँले बताउनुभयो । सार्वजनिक जमिन कब्जा गरी विभिन्न स्थानमा आफूखुसी संरचना निर्माण गरिएका कतै पाइए महानगरमा जानकारी गराउन समेत शर्माले महानगरवासीलाई आग्रह गर्नुभएको छ  ।

सार्वजनिक जमिनमा टहरा वा अन्य संरचना निर्माण गरेकाहरूले आफैँ यस्ता संरचना हटाउन आग्रह गर्दै उहाँले नभए कानुन बमोजिम क्षतिपूर्ति तिराएर महानगर आफैँले यस्ता संरचना हटाउने बताउनुभयो । ‘अनधिकृत रूपमा जग्गा कब्जा गरी  निर्माण गरिएका २६ छाप्रा भत्काएका छौँ । पोखरा महानगरको सार्वजनिक जग्गा संरक्षणको अभियान यहीँबाट सुरु भएको छ । महानगरका अन्यत्र पनि यसरी निर्माण गरिएका संरचना क्रमशः हटाइने छ’ उहाँले भन्नुभयो, ‘यसमा मेयर सापको खास इनिसियसन छ । यो वा त्यो समूह, संस्था वा व्यक्तिका नाममा सार्वजनिक स्थानमा संरचना निर्माण गर्न महानगरले दिनेछैन । यसरी बनाइएका संरचना कानुन बमोजिम त्यसको क्षतिपूर्ति भराएर महानगर आफैले भत्काउने छ ।

नगर प्रहरी नायव निरीक्षक पुरुषोत्तम थापाका अनुसार जिल्ला प्रशासन कार्यालयको सहयोगमा नगर प्रहरी, जिल्ला प्रहरी कार्यालय कास्की, इलाका प्रहरी कार्यालय डाँडाको नाक र सशस्त्र प्रहरीको सहकार्यमा महानगरले पोखरा ३३ मा सार्वजनिक जग्गा कब्जा गरी अवैध रूपमा निर्माण गरिएका संरचना हटाएको हो ।