२८ लाख धुस सहित २ जनालाई भ्रष्टाचारको मुद्धा

-


     सुचनाको हक     
     मंसिर २७ गते २०७९ मा प्रकाशित


खानेपानी तथा सरसफाई डिभिजन नं. ४, वागमती, प्रदेश, मन्थली रामेछापका इन्जिनियर (आठौं तह) नवराज सत्याल र प्लम्बर बखत बहादुर थापाले खानेपानी सम्बन्धी कामको भुक्तानी वापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज इन्जिनियर नवराज सत्याल र प्लम्बर बखत बहादुर थापालाई सेवाग्राहीबाट रु.१६,००,०००।–(सोह्र लाख रुपैयाँ) नगद र १२,००,०००।– (बाह्र लाख रुपैयाँ) को चेक लिइसकेको अवस्थामा मिति २०७९।०७।०२ गते नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, रामेछापका इन्जिनियर नवराज सत्याल र प्लम्बर बखत बहादुर थापाले बिभिन्न आर्थिक बर्षहरुको भुक्तानी भएको रकमको धरौटी फिर्ता गर्ने क्रममा रु.२८,००,०००।– घुस/रिसवत माग गरी लिएको पुष्टि हुन आएकोले निज इन्जिनियर (आठौ तह) नवराज सत्याल र प्लम्बर (टेक्निसियन) बखत बहादुर थापाले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएको हुँदा निजहरु नवराज सत्याल र बखत बहादुर थापालाई बिगो रू.२८,००,०००।–(अठ्ठाइस लाख रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (छ) बमोजिम सजाय हुन मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर भएको छ।