सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका–५ का वडाध्यक्ष सब्दुल मिया ५० हजार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई पक्राउ गरेको हो ।
हिरावती आधारभूत विद्यालय बकधुवाको निर्माणाधीन भवनको वडा कार्यालयबाट निर्माण सम्पन्न भएको सिफारिस दिन उनले घुस मागेका हुन् ।
घुस रकम लिएलगत्तै आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले उनलाई मंगलबार बिद्यालयबाटै पक्राउ गरेको हो ।
आयोगको बिज्ञप्ति
जिल्ला सप्तरी, अग्निसाइर कृष्णासवरन गाउँपालिका वडा नं. ५ का वडाअध्यक्ष सब्दुल मियाँले भवन निर्माण सम्पन्न भएको सिफारिस दिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिई गएको टोलीले निज वडाअध्यक्ष सब्दुल मियाँलाई सेवाग्राहीबाट रु.५०,०००।–(पचास हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित मिति २०८०।०२।२३ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।