गर्मीको समयमा भान्सा कोठा, बरण्डा, छत, आँगन तथा घर वरिपरि झिंगाको प्रकोप बढ्नु आम समस्या हो । यसले जथाभावी खानेकुरामा बसेर हानिकरक कीटाणुहरू फैलाउनेदेखि लिएर जतासुकै बसेर दिसा गरी भित्ता तथा सतहमा फोहोर पनि बनाइदिन्छ । झिँगाको संख्या वृद्धि हुँदा सरुवा रोगहरूको संक्रमणको डर पनि त्यत्तिकै हुन्छ । खानेकुरामा झिँगा डुबेर त्यसलाई दूषित बनाउने अर्को ठूलो समस्या हो । त्यसैले हाम्रो सहजताका लागि झिँगाको नियन्त्रण जरूरी हुन्छ ।
झिँगा भगाउने तथा मार्ने अनेक उपाय छन् । प्रायगरी व्यावसायिक रूपमा उपलब्ध रासायनिक विषादी तथा स्प्रेहरू प्रयोग गर्ने गरिन्छ । यस्ता रसायनहरूको प्रयोगले मानव स्वास्थ्यलाई पनि असर पुर्याइरहेको हुन्छ । तर यस्ता रसायनिक विषादीको प्रयोग नगरीकन पनि झिँगा नियन्त्रण गर्ने केही उपायहरू छन् । यसै मध्येको एक हो–चिया बनाइसके पछि हामीले फाल्ने गरेको चियापति ।
प्रयोग गरिएको चियापतिको तीखो गन्धले झिंगाहरूलाई टाढा भगाउन मद्दत गर्छ । यसका लागि त्यसलाई प्रयोग गर्ने तरिका सही हुनुपर्छ ।
कसरी प्रयोग गर्ने ?
चिया बनाएपछि, बाँकी रहेका चियापतिलाई सुरुमा राम्रोसँग धुने, ताकि त्यसमा चिनी र दूधको स्वाद र गन्ध नहोस् । त्यसपछि राम्ररी घामा सुकाउने । सुकेपछि यसको गन्ध झिंगालाई मन नपर्ने खालको हुन्छ ।
यसरी सुकाएर तयार पारेको चियापतिलाई सानो कचौरा वा प्लेटमा भरेर भान्साकोठा, झ्याल र फोहोरको भाँडो नजिक राख्नुहोस् । यसले झिंगाको संख्या घटाउनेछ र घरभरि गन्ध फैलिनबाट समेत रोक्नेछ।
सुकेको चियापतिहरूमा कागतीको रसका केही थोपाहरू थप्नुहोस् । यो मिश्रणको गन्धले झिंगाहरू अझ बढी टाढा भाग्छन् । यसलाई घरको त्यस्ता ठाउँहरूमा राख्नुहोस् जहाँ झिंगा देखा पर्ने सम्भावना बढी हुन्छ ।
बिरुवाहरूमा चियापति हाल्ने
यदि तपाईंको बरण्डा, छत तथा घरको आँगन, बगैंचा क्षेत्रमा झिंगा बारम्बार आउँछन् भने, तपाईंको बिरुवा वरपरको माटोमा सुकेको चियापति छरिदिनुहोस् । यसले माटोलाई पोषण दिनुका साथै केही हदसम्म झिँगाहरूलाई टाढा भगाउन मद्दत गर्छ ।
डस्टबिनको नजिक राख्ने
डस्टबिनको वरिपरि झिंगाहरू प्रायः देखिन्छन् । यस्तो अवस्थामा, प्रयोग भइसकेको चियापतिलाई सानो, प्लेट तथा कचौरा वा कुनै खुल्ला बट्टामा हालेर डस्बिनको नजिक राख्नुपर्छ । यसले फोहोरबाट आउने गन्ध कम गर्नुका साथै र झिंगाहरूलाई टाढा राख्न मद्दत गर्छ ।
ध्यान दिनुपर्ने कुरा
चियापति प्रयोग गर्नुअघि राम्ररी धुनु र सुकाउनु महत्त्वपूर्ण छ । भिजेको वा गुलियो चियापतिले झिंगाहरू टाढा भाग्नुको सट्टा झन आकर्षित गर्छ । चियापति राख्नु मात्रै झिँगा भगाउने अचूक उपाय होइन घरको नियमित सफाई पनि आवश्यक छ ।