घाउ: शरीरको कि मनको?


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

घाँसको भारी बोकेर हिँड्ने क्रममा
एक पाइला चिप्लियो।
घुँडामा घाउ लाग्यो,
खुट्टा भाँचियो।

शल्यक्रिया भयो।
हड्डी जोडियो।
तर पुरानो घाउ
अझै निको हुन सकेन।

दिनहरू बित्दै गए,
घाउ सुक्न खोजे पनि
पीडा भने उस्तै रह्यो।

कमजोर आर्थिक अवस्था...
पैसा कहाँबाट जुटाउने?
राम्रो कमाइ छैन।
उमेर साठी नाघिसक्यो।

रक्तचापको औषधि नियमित खानुपर्छ।
सुगर पनि बढ्दै गएको छ।

सबैले एउटै कुरा भन्छन्—
"राम्रोसँग खानुस्।"

तर...
मनभित्र एउटा प्रश्न उठ्छ—

"खै... कसरी?"

रित्तो गोजीले
पोषिलो खाना चिन्दैन।

कर्तव्य अझै काँधमै छ।
शरीर थाकेको छ,
तर जिम्मेवारीले थाक्न दिएको छैन।

कहिलेकाहीँ
घाउभन्दा बढी
मन पोल्छ।

लाग्छ—
यस बुढेसकालमा
अर्धाङ्गिनी साथमै भएको भए,
सायद
यो पीडा आधा हुन्थ्यो।

उनले आफ्नै हातले
घाउ छुनुअघि
मन सुम्सुम्याइदिने थिइन्।

सायद,
शरीरको घाउभन्दा
मनको घाउ चाँडै निको हुन्थ्यो।

तर...
जीवनले सबैलाई
एउटै भाग लेख्दैन।

यस्तै रहेछ
कर्मको लेखा।

यही रहेछ
ब्रह्माण्डको नियति।

चिटचिट पसिना...
सासै रोकिएजस्तो सकस...

यति धेरै पीडा हुँदा
कहिलेकाहीँ लाग्छ—
चराजस्तै उडेर
कतै टाढा भाग्न पाए हुन्थ्यो,
जहाँ दुखाइले पछ्याउन नसकोस्,
जहाँ पीडाले नामै बिर्सियोस्।

तर भागेर कहाँ जानु?
पीडा त
आफ्नै मनको छायाँ बनेर
सँगै हिँडिरहन्छ।

आजभन्दा भोलि
घाउ झन् बढेजस्तो लाग्छ।

औषधि त चलिरहेकै छ।
तर मनले
बारम्बार सोधिरहन्छ—

"आखिर किन मलाई नै?"

"कहिले निको होला?"

त्यही बेला
एउटा आत्मीय स्वर सुनिन्छ—

"बा... अलिकति दुख्छ है..."

ती शब्दले
घाउभन्दा पहिले
मन छोइदिन्छन्।

आज पनि
कहिलेकाहीँ
तपाईंको अनुहार सम्झन्छु।

र नबोलेरै
मेरो मनले प्रार्थना गरिरहन्छ—

"Get well soon, बा..."

सायद,
शरीरका घाउ समयसँगै निको होलान्।

तर
मनका केही घाउ
मायाको स्पर्शले मात्र भरिन्छन्।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई suchanakohak753@gmail.com मा पठाउनु होला । धन्यवाद ।