जेनजी आन्दोलनपछि बढ्दैछ चार दलभित्र नेतृत्व हस्तान्तरणको दबाब


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भ्रष्टाचार र बेथितिविरुद्ध जेनजी युवाहरूले गरेको विद्रोहले झण्डै दुई तिहाइ मत प्राप्त केपी शर्मा ओली नेतृत्वको शक्तिशाली गठबन्धन सरकार ढल्यो । भदौ २३ गते काठमाडौँ लगायत देशका विभिन्न सहरमा भएको विद्रोहमाथि १९ जनाको ज्यान जानेगरी सरकारले दमन गरेको थियो ।

 

 

राज्य दमनबाट आक्रोसित भएका उनीहरूले भदौ २४ गते राज्यका प्रमुख अंग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका नियन्त्रणमा लिएर ध्वस्त पारे । संघ, प्रदेश र स्थानीय तहका सरकारी सम्पत्ति, दलका कार्यालय, नेताहरूको निजी निवास, ठुला उद्योगमा आगजनी गरेपछि अर्बौंको क्षति भयो ।

अत्यधिक प्रविधिको विकाससँगै हुर्किएका जेनजी पुस्ताका मनोविज्ञान पुराना राजनीतिक दल र तीनका नेतृत्वले समयमै बुझ्न नसक्दा राज्यलाई ठुलो क्षति भएको विश्लेषण भइरहेको छ । सरकार ढलेसँगै जेनजीको सिफारिसमा सर्वोच्च अदालतकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउन राष्ट्रपति रामचन्द्र पौडेलले परामर्श गरिरहेका छन् । तर शुक्रबार बेलुकासम्म कुन प्रक्रियाबाट सरकार गठन गर्ने भन्नेमा राष्ट्रपति र जेनजी प्रतिनिधिबिच कुरा मिलेको छैन ।

 

जेनजीको विद्रोहले वर्षौंसम्म कब्जा जमाएर बसेका परम्परागत दलहरूको राज्यसत्ता मात्र ढालेको छैन, तिनीहरूका दलभित्र पनि पार्टी पुनर्गठनको सशक्त आवाज उठेका छन् । सरकारमा पटक-पटक सहभागी भएका नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रभित्र पार्टी पुनर्गठनको माग जोडतोडले उठ्न थालेको छ । 

 

२०४६ सालमा बहुदलीय व्यवस्था पुनर्स्थापनापछि कांग्रेस, एमाले लगायत दलहरू लगातार सत्ता राजनीतिमा छन् । माओवादी २०६३ सालदेखि लगातार सत्तामा छन् । तीनवटै दलबाट आलोपालो सत्ता सञ्चालन हुँदा समेत आम नागरिक सन्तुष्ट हुन सकेका छैनन् । नेतृत्वको कार्यक्षमतालाई लिएर पार्टीका नेता तथा कार्यकर्ताहरूले पनि तीव्र असन्तुष्टि व्यक्त गरेका छन् ।

एमालेका सचिव योगेश भट्टराईले विकसित घटनाक्रमलाई राम्रोसँग विश्लेषण गरी आफ्नो कमजोरीको समीक्षा गरी गल्तीप्रति आत्मालोचित हुनुपर्ने बताएका छन् । पार्टी संगठन र नेतृत्वको नयाँ ढंगले पुनर्गठन गर्नुपर्नेमा स्पष्ट पारे ।

‘पार्टी संगठन र नेतृत्वको नयाँ ढंगले पुनर्गठन गरौँ । यो काम होसियारीपूर्वक गरौँ । जसले हाम्रो पार्टी एकता कायम गरोस् । पार्टीमा आम सदस्यहरूको अपनत्व र सहभागिता सुनिश्चित गरौँ । पार्टीका आन्तरिक प्रक्रियाहरूलाई पूर्णतः पारदर्शी र लोकतान्त्रिक बनाऔँ । जनतामा जाऔँ, जनतालाई सुनौँ र त्यस अनुसार निर्णय गरौँ,’ बुधबार उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

आफ्नै पार्टीको नेतृत्वमा बनेको शक्तिशाली सरकार विद्रोहको बलमा ढलेपछि मुलुकको राजनीतिक कोर्स कता जान्छ भन्नेमा अन्योल छ । संसद्को सबैभन्दा ठुलो दल कांग्रेसको समर्थनमा बनेको गठबन्धन सरकार ओलीकै अहंकारका कारण पतन भएको पार्टीभित्र र बाहिर बाहिर आलोचना भइरहेको छ । पार्टीको ११ औं महाविधेशनमा समेत अध्यक्ष बन्नेगरी  विधान संशोधन गरेपछि एमालेभित्र अन्तरसंघर्ष चर्किएको थियो । भदौ २०–२२ मा ललितपुरको गोदावरीमा सम्पन्न विधान महाधिवेशनले पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीको सदस्यता नवीकरण पेन्डिङ (विचाराधीन)मा राखेपछि अन्तरकलह थप चर्किएको थियो ।

पछिल्लो राजनीतिक दुर्घटनापछि उपमहासचिवभन्दा माथिका सबै कार्यकारी पदमा बसेका नेताहरू हट्नुपर्नेमा पार्टीभित्र अभियान नै चलेको छ । विधान महाधिवेशनले ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाएपछि असन्तुष्ट देखिएका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, स्थायी समिति सदस्य कर्णबहादुर थापा लगायत नेताहरू यस अभियानमा लागेको बुझिन्छ । उपाध्यक्ष ज्ञवालीले आफूहरूको प्रस्ताव विधान महाधिवेशनले सम्बोधन नगरेपनि आगामी महाधिवेशनमा उठाउने बताएका छन् ।

‘पार्टीको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन हामीले विधानमा दुई कार्यकाल र उमेरहदको व्यवस्था राखेका थियौँ । अहिले त्यो व्यवस्था हटाए पनि निरन्तर बहस गर्छौं,’ केही दिनअघि रातोपाटीसँग उनले भनेका थिए ।

२०७१ सालमा एमालेको नवौं महाधिवेशनबाट अध्यक्ष बनेका ओली अझै २०-२५ वर्ष नेतृत्व नछाड्ने बताउन छाडेका छैनन् । चारपटक देशको प्रधानमन्त्री भइसकेका उनले २०८४ को निर्वाचनमा पनि प्रधानमन्त्री बन्ने चाहना राखेका थिए ।  

कांग्रेसका महामन्त्री गगन थापाले पार्टीलाई पुनर्गठन गरी बलियो बनाउन आफूले पटक-पटक प्रयास गर्दा समेत असफल भएको स्वीकार गरे । जेनजी पुस्ताका भावना समेट्ने गरी प्रभावकारी काम गर्न पार्टी सभापति शेरबहादुर देउवासँग धेरै प्रयास गर्दा समेत सुनुवाइ नभएको थापाले गुनासो गरे । नेतृत्वबाट देउवा, प्रचण्ड र ओलीले विश्राम लिन आफूले नै सुझाव दिएको उनले जिकिर गरे ।

बिहीबार पछिल्लो राजनीतिक अवस्थाबारे भिडियो सन्देशमार्फत् उनले भने, ‘तीनजना बूढा नेताहरू हटाउनुपर्छ भनेर मैले पनि भन्दै आएको हुँ । मैले त मेरो पार्टीको सभापतिसँग अब तपाईं यो देशको प्रधानमन्त्री बन्न हुँदैन भनेर दलको नेता लडेको हुँ । तर  मैले सकिनँ । संख्या पुगेन । मैले दलको नेता जितेको भए धेरै कुरा बदल्न सकिन्थ्यो । त्यसमा म असफल भएँ । यसबाट सिक्ने हो, कांग्रेसलाई जरैदेखि बदल्ने हो । फेरि एकपटक तपाईंले भनेको जस्तो पार्टी बनाउने हो,’ उनको भनाइ थियो ।

पूर्वसहमति अनुसार अर्को वर्ष ओलीले सत्ता हस्तान्तरण गर्नेमा ढुक्क भएर बसेका सभापति देउवाको राजनीतिक दुर्घटनामा घर मात्र जलेन, आन्दोलनकारको पिटाइबाट गम्भीर घाइते भए । २८ घण्टाको बिचमा देशको राजनीति नै उथलपुथल भएपछि कांग्रेसभित्रका तेस्रो पुस्ताका नेताहरूले पार्टीलाई नयाँ शिराबाट पार्टी पुनर्गठन अभियान चलाउने तयारीमा छन् ।

यता माओवादी केन्द्रमा पनि पार्टी पुनर्गठनको मत बलियो हुँदै गएको छ । २०७० सालको निर्वाचनपछि लगातार ओरालो लागेको पार्टीलाई पुनर्गठन गर्नुपर्ने आवाजको नेतृत्व उपमहासचिव जनार्दन शर्माले गरेका छन् । उनले जेनजीको विद्रोहअघि नै युवाहरूको मागलाई सम्बोधन गर्नेगरी पार्टी पुनर्गठनको अभियान चलाएका थिए । गत वर्ष स्थायी समिति बैठकमा पार्टी निर्माण र नेतृत्व हस्तान्तरणसम्बन्धी १४ बुँदे प्रस्ताव नै पेस गरेका थिए । 

साउन १९ गते बसेको स्थायी समिति बैठकमा पनि पार्टी पुनर्गठनको माग जोडतोडले उठाए । सचिव राम कार्की, स्थायी समिति सदस्य अञ्जना विशंखे लगायतले पार्टी पुनर्गठन गरेर माओवादी आन्दोलनलाई बलियो बनाउनुपर्ने मत राखे ।  तर प्रचण्डले पार्टी निर्णय नमान्नेलाई कारबाही हुने चेतावनी दिएका थिए ।

‘अब पार्टीभित्र गुट, उपगुटलाई छुट दिइँदैन । नीति, निर्णय र नियमविपरीत जाने, नेतृत्वविरुद्ध जानेलाई कारबाही हुन्छ,’चेतावनी दिँदै प्रचण्डले भनेका थिए ।

नेतृत्व हस्तान्तरणको विषयमा अवैज्ञानिक र विधिसम्मत नभएकोमा सबैभन्दा बढी आलोचना अध्यक्ष प्रचण्डले झेलेका छन् । २०४५ सालमा नेकपा (मसाल)का महामन्त्री भएका उनी त्यसयता लगातार नेतृत्वमा छन् । उनले अझै १० वर्ष नेतृत्व नछाड्ने सार्वजनिक रूपमै भन्दै आएका छन् । माओवादीमा महाधिवेशन हुने भएपनि त्यो नाम मात्रको हुने आरोप लाग्ने गरेको छ । प्रचण्ड नेतृत्वमा आएपछि २०४८ मा छैटौँ र २०६९ मा सातौं एकता महाधिवेशन गर्‍यो । २०७८ सालमा राष्ट्रिय सम्मेलनलाई रातारात आठौं महाधिवेशनमा रूपान्तरण गरी सम्पन्न गर्‍यो ।

प्रचण्डले अन्तरविरोध हल गर्न त्यतिबेला ६ महिनामा विशेष महाधिवेशन बोलाउने घोषणा गरेका थिए । तर चार वर्ष पूरा हुन लाग्दा पनि हुन सकेको छैन । पार्टी पुनर्गठनको विषयमा अहिलेको अवस्था शान्त भएपछि छलफल हुने उपमहासचिव हरिबोल गजुरेलले बताए । अहिलेका पदाधिकारी तहका सम्पूर्ण व्यक्ति हटेपनि नेतृत्वका लागि अर्को पुस्ता तयार नभएको उनले जिकिर गरे ।

‘प्रचण्डले राजीनामा दिने । मैले त पदाधिकारीमा रहेका सम्पूर्ण सदस्यले राजीनामा दिनुपर्छ भनेर बैठकमै प्रस्ताव गरेको हुँ । नेतृत्व लिन अर्को पुस्ता तयार हुनुपर्‍यो नि । पुरानो पुस्तालाई नयाँ पुस्ताले नमान्ने, नयाँ पुस्तालाई पुराना पुस्ताले नमान्ने । यस्तो अवस्थामा कसरी नेतृत्व आउँछ ?’ उनले भने ।

ठुला दल कांग्रेस, एमाले र माओवादीमा मात्र होइन, नेकपा एकीकृत समाजवादीमा पनि यो समस्या बढ्न थालेको देखिन्छ । झण्डै १५ वर्ष एमाले हाँकेका माधवकुमार नेपाल ओलीसँगकै नेतृत्व टकरावका कारण २०७८ सालमा पार्टी विभाजन गर्न ‘बाध्य’ भएका थिए । मुख्यतः पतञ्जली योगपीठको जग्गा हिनामिना प्रकरणमा विशेष अदालतबाट धरौटीमा रिहा भएपछि उनीमाथि नेतृत्व छाड्नुपर्ने एकथरीबाट चर्को दबाब छ ।

पूर्वप्रधानमन्त्री तथा सम्मानित नेता झलनाथ खनालले नेतृत्व हस्तान्तरणको विषयमा निरन्तर दबाब दिँदै आएका छन् । पार्टी केन्द्रीय सदस्य आरती लामा, कृष्ण विश्वकर्मा लगायत केन्द्रीय सदस्यहरूले नेतृत्वबाट अध्यक्ष नेपाल र सम्मानित नेता खनाल दुवैलाई विश्राम लिन सुझाव दिएका छन् । 

महासचिव घनश्याम भुसालले अपिल गरेका छन्, ‘अहिलेको राजनीतिक गतिरोध जसरी अगाडि बढे पनि हामी असाधारण सङ्कटका सामु उभिएका छौँ । यस अवस्थामा म देशभक्त, लोकतन्त्र र मुलुकको समृद्धिको आकाङ्क्षा बोकेका सबै राजनीतिकर्मीहरूलाई सबै बारबन्देज भत्काएर खुला छलफलमा उत्रिन आह्वान गर्दछु ।’ यो समाचार रातोपाटि प्रकाशन गरेको समाचार हो हामीले तयही बाट लिएका हौ 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई suchanakohak753@gmail.com मा पठाउनु होला । धन्यवाद ।