कानुनमन्त्री : मैले बोलेका शब्दले चोट पुर्‍याएको भए क्षमाप्रार्थी छु


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले राष्ट्रिय सभाबारे आफूले दिएको अभिव्यक्तिबारे स्पष्टीकरण दिँदै क्षमा मागेकी छन्। बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले आफ्नो अभिव्यक्तिलाई लिएर सांसदहरूको भावनामा चोट पुगेको भन्दै माफी मागेकी हुन् ।जेनजी स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा मन्त्री गौतमले राष्ट्रिय सभामा आफ्नो दल (राष्ट्रिय स्वतन्त्र पार्टी) को प्रतिनिधित्व नभएका कारण कानुन निर्माणमा समस्या भइरहेको आशयको अभिव्यक्ति दिएकी थिइन्।उनको उक्त अभिव्यक्तिको संसदीय समितिदेखि राष्ट्रिय सभासम्म चर्को आलोचना भएपछि उनले संसद्‌मै उभिएर जवाफ दिएकी हुन्। ‘मैले तथ्यभन्दा बाहिर गएर कुनै पनि यस्तो कुरा भनेको छैन जसले यहाँहरूको भावनामा चोट परोस्,’ उनले भनिन् ।

‘मेरो भनाइ तोडमोड गरियो’

मन्त्री गौतमले आफूले राष्ट्रिय सभाले कानुन निर्माणमा असहयोग गर्‍यो भनेर कतै पनि नबोलेको जिकिर गरिन्। प्रतिनिधिसभामा दुई तिहाइ बहुमत हुँदैमा मात्रै कानुन नबन्ने भन्दै उनले कानुन निर्माणको जटिल प्रक्रियाबारे मात्रै आफूले प्रस्ट्याउन खोजेको दाबी गरिन्।‘मैले तथ्यभन्दा बाहिर गएर माननीयज्यूहरूको भावनामा चोट पुग्ने गरी कुनै पनि कुरा भनेको छैन,’ बैठकमा प्रस्टीकरण दिँदै उनले भनिन्, ‘कानुन निर्माण प्रक्रिया प्रतिनिधिसभाको बहुमतले मात्रै पूर्ण हुँदैन। यो प्रतिनिधिसभा, राष्ट्रिय सभा हुँदै राष्ट्रपतिले प्रमाणीकरण गरिसकेपछि मात्र बन्ने जटिल प्रक्रिया हो। मैले राष्ट्रिय सभाले कहीँ कतै असहयोग गर्‍यो भनेर त्यस्तो भाषा र शब्द प्रयोग गरेकी छैन।’आफू राजनीतिक व्यक्ति भएका कारण आफूले बोलेको प्राविधिक तथ्यलाई राजनीतीकरण गरेर फरक अर्थ लगाइएको उनको गुनासो थियो। अन्त्यमा मन्त्री गौतमले प्रतिनिधिसभा र राष्ट्रिय सभाबीचको समन्वय र सहकार्यलाई अझ प्रभावकारी बनाउन आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारेकी छन्।सम्बोधनको अन्त्यमा उनले भनिन्, ‘मैले बोलेको कुराले यहाँहरूलाई केही चोट परेको छ भने त्यसमा म क्षमाप्रार्थी पनि छु ।’

 

 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई suchanakohak753@gmail.com मा पठाउनु होला । धन्यवाद ।