तिमीले मलाई चुनौती बनायौ,
तर म अवसर खोजिरहेँ।
तिमीले मेरो खोट खोज्यौ,
मैले आफ्नो कोट मैलो हुन दिइनँ।
तिमीले आत्मसम्मानमा चोट दिन खोज्यौ,
तर मेरो मनले त्यसलाई स्वीकार गरेन।
तिमीले मेरा आँखामा देख्न चाहेको आँसुलाई
मैले साहसमा रूपान्तरण गरिदिएँ।
रोजाइँ, खोजाइँ, बुझाइँ र भोगाइँमा
संघर्ष गरेँ, जङ्घार तरेँ,
रणनीति बनाएँ, चक्रव्यूहभित्र परेँ।
म निर्दोष थिएँ,
तर दोषारोपणको पात्र भएँ।
सायद दोष तिम्रो थिएन,
तिमीले लगाएको चस्मा नै फरक थियो,
जसमा रङ फरक थियो।
कसरी वास्तविक देख्थ्यौ तिमी?
मानिसले संसारलाई आफ्नो मानसपटलमा जस्तो छ,
त्यस्तै त देख्ने हो।
नत्र कसलाई रहर होला र
चाँदी जस्तो आकाशको बादललाई
रणभूमिको कालो मडारिएको देख्ने?
दृष्टि जस्तो हुन्छ,
दृश्य पनि त्यस्तै देखिन्छ।
मनमा मैलो भए
उज्यालोमा पनि अँध्यारो देखिन्छ,
मनमा उज्यालो भए
अँध्यारोभित्र पनि बाटो भेटिन्छ।
मानवताभित्रै सोचिएको
सिंहको व्यवहार कस्तो हुन्छ?
सायद मनभित्रको उज्यालोले नै
उसलाई निडर बनाउँछ।
त्यसैले आज म तिमीलाई दोष दिन्नँ।
तिमीले दिएको नकारात्मकतालाई
मैले आफ्नो जीवनको सकारात्मकता बनाएँ।
सायद तिमीलाई थाहा थिएन—
कसैलाई कमजोर बनाउन खोज्दा
कहिलेकाहीँ उसैभित्र नयाँ शक्ति जन्मिन्छ।
सबै युद्ध जितेर मात्र
मानिस विजयी हुँदैन।
कहिलेकाहीँ कसैलाई क्षमा गरेर
र आफूलाई जोगाएर अघि बढ्नु नै
सबैभन्दा ठूलो विजय रहेछ।
तिमीले दिएको पाठ बिर्सन्नँ।
तिमीलाई क्षमा गर्छु,
तर आफ्नो आत्मसम्मान गुमाउँदिनँ।
बिर्सनु कमजोरी होइन,
क्षमा गर्नु हार होइन—
कहिलेकाहीँ आफ्नो शान्तिका लागि
दुवै आवश्यक हुन्छन्।
आज म तिमीप्रति कुनै गुनासो राख्दिनँ।
किनकि तिमीले मलाई जे सिकायौ,
त्यसको सबैभन्दा ठूलो उत्तर मेरो शान्ति हो।
न प्रतिशोध, न गुनासो—
केवल आफ्नो बाटो,
आफ्नो शान्ति र आफ्नै उज्यालो।