नेपाली कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले वर्तमान परिवर्तन र उपलब्धिलाई संस्थागत गर्दै जनआकाङ्क्षा पूरा गर्न नवनिर्वाचित शक्ति र सरकारलाई आग्रह गरेका छन्। प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले आफूहरू इतिहासको साक्षी र सङ्घर्षको उत्तराधिकारीका रूपमा सदनमा उपस्थित भएको उल्लेख गर्दै नयाँ जनमतलाई परिवर्तनको संवाहकका रूपमा स्वीकार गरेको बताए।
पुनले विगतका आन्दोलन र जनयुद्धकै कारण आज राज्यका हरेक निकायमा महिला, दलित र उत्पीडित समुदायको प्रतिनिधित्व सम्भव भएको स्मरण गराए। २० वर्षअघिको तुलनामा आज महिलाहरूको सम्पत्तिमाथिको स्वामित्व र राज्यका उच्च पदमा उनीहरूको पहुँच पुग्नु ठुलो क्रान्ति भएको उनको तर्क छ। १८ वर्षअघि १९ हजार किलोमिटर रहेको सडक सञ्जाल आज सवा लाख किलोमिटर पुग्नुलाई उनले विकासको गतिको उदाहरणका रूपमा प्रस्तुत गरे। यद्यपि, भदौ २३ र २४ को युवा विद्रोहले वर्तमान विकास र सुशासनको गति पर्याप्त छैन भन्ने स्पष्ट पारेकाले त्यसलाई आत्मसात् गरेर अघि बढ्नुपर्नेमा उनले जोड दिए।
पूर्वमन्त्री समेत रहेका पुनले राष्ट्रिय स्वतन्त्र पार्टी र प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा रहेको सरकारलाई आफ्नो ऐतिहासिक अनुभव सुनाउँदै सतर्क रहन सुझाव दिए। २०६४ सालमा माओवादीले र २०७४ सालमा तत्कालीन नेकपाले पाएको झण्डै दुई तिहाइको जनमतलाई सदुपयोग गर्न नसकिएको स्वीकार गर्दै उनले नयाँ शक्तिलाई ती कमजोरीबाट शिक्षा लिन आग्रह गरे। "हामीले जनमत सदुपयोग गर्न सकेनौँ, हाम्रा ती सीमा र कमीहरूबाट शिक्षा लिएर तपाईंहरूले देश र पार्टीलाई अगाडि बढाउनुहोस्," उनले सदनमा भने।
संविधान संशोधनका सन्दर्भमा बोल्दै पुनले लोकतन्त्र, गणतन्त्र र समावेशिता जस्ता उपलब्धिहरूमा कुनै पनि प्रकारको सम्झौता हुन नसक्ने स्पष्ट पारे। उनले यी विषयलाई अझ परिमार्जन र सुदृढ गर्न सहयोग गर्ने तर पछाडि फर्कन नसकिने बताए। सङ्क्रमणकालीन न्याय र शान्ति सम्झौताका बाँकी कामहरूलाई टुङ्ग्याउन सरकारले स्वामित्व लिनुपर्ने उनको भनाइ छ। राष्ट्रिय स्वाधीनता, सामाजिक न्याय र युवाहरूका लागि देशभित्रै रोजगारी सिर्जना गर्ने सवालमा आफ्नो पार्टीले रचनात्मक सहयोग गर्ने प्रतिबद्धता जनाउँदै उनले सरकारको कामकारबाहीमा भने सचेत रूपले खबरदारी गरिरहने बताए।
सम्माननीय सभामुख महोदय, हामी यो पहिलो अधिवेशनमा उपस्थित छौँ। सर्वप्रथम, हामी जनप्रतिनिधिको रूपमा मात्र नभई इतिहासको साक्षी, सङ्घर्षका उत्तराधिकारी र भविष्यका निर्माणकर्ताको रूपमा यहाँ उपस्थित भएका छौँ। यसै सन्दर्भमा, म मेरो दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का तर्फबाट यहाँहरू सबैलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु।
जनयुद्धका कमान्डर, शान्ति सम्झौता र जनआन्दोलनका नेतृत्वकर्ता कमरेड प्रचण्डले २०७९ सालको निर्वाचनताका एउटा कुरा भन्नुभएको थियो। जतिखेर स्वतन्त्र उम्मेदवारका रूपमा वर्तमान सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाह र धरानमा हर्क साम्पाङ जित्दै हुनुहुन्थ्यो, अनि माननीय रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी बनाएर नयाँ अभियान चलाउँदै हुनुहुन्थ्यो, त्यतिखेर उहाँले भन्नुभएको थियो— 'यो पुराना दलहरूलाई चुनौती आएको मात्र होइन, यी त लोकतान्त्रिक र गणतान्त्रिक फूलबारीका सुन्दर फूलहरू हुन्।' आज हामी यही संसद्मा तिनै सुन्दर फूलका रूपमा जम्मा भएका छौँ भन्ने कुराको स्मरण भइरहेको छ।
१० वर्षको जनयुद्ध, शान्ति सम्झौता र जनआन्दोलनको समयलाई फर्केर हेर्ने हो भने, विगतमा संसद्मा मुस्किलले ७ जना महिला सांसद हुनुहुन्थ्यो। तर, आज यो संसद्मा ३४ प्रतिशत महिला माननीयज्यूहरूको उपस्थिति छ। १२ वर्षअगाडि हामीले बजेट बनाउँदै गर्दा 'लैङ्गिक उत्तरदायी बजेट' को अभ्यास सुरु गरेका थियौँ। त्यतिबेला ७-८ प्रतिशत महिला दिदीबहिनीको नाममा मात्रै चल-अचल सम्पत्ति थियो भने आज २४ प्रतिशत घरजग्गा र सम्पत्तिको स्वामित्व महिलाको हातमा पुगेको छ। हिजो छोरी जन्मिँदा 'अर्काको घर जाने जात' भनेर हेला गरिने समाजमा आज महिलाहरू राष्ट्रपति, प्रधानन्यायाधीश र मुख्यसचिव जस्ता उच्च ओहोदामा पुगेर नयाँ कीर्तिमान कायम गर्नुभएको छ। आज महिलाको अवस्था हिजोको जस्तो कमजोर छैन।
अघि भर्खरै दलित समुदायबाट आउनुभएका एक जना माननीय सदस्यले चर्चा गर्नुभयो— 'हिजो माओवादी र अन्य राजनीतिक दलहरूले नै हामीलाई बोल्न सिकाउनुभयो। हामीमाथि अन्याय, दमन र उत्पीडन रहेछ भन्ने कुरा महसुस गर्न सिकाइयो।' उहाँको यो भनाइले मलाई गौरव महसुस गराएको छ। हामी यहाँ कसले जित्यौँ, कसले हार्यौँ वा को कुन पार्टीबाट आयौँ भन्ने भन्दा पनि समग्रमा नेपाली जनताले जितेका छन्। त्यसैले, यो वा त्यो पार्टी भन्दा पनि हाम्रा अग्रजहरूले लडेर ल्याएका नीति र सङ्घर्षकै कारण आज हामीले व्यवस्था बदलेका छौँ। लोकतान्त्रिक, सङ्घीय, समावेशी र सामाजिक न्यायसहितको व्यवस्था निर्माण भएकै कारण आज हामीले यो रङ्गीन इन्द्रेणीरूपी संसद् पाएका छौँ। यो हाम्रो साझा गौरव हो। निश्चय पनि, हामी पुराना भनिएका दलहरूको विचार, राजनीति र व्यवहारमाथि प्रश्न उठेका छन्। यद्यपि, हामीले गर्दै नगरेका भने होइनौँ।
दुई वर्षअगाडि मैले बजेट पेस गर्दा रास्वपाका माननीयज्यूहरू र केही समकालीन मन्त्रीज्यूहरू यही संसद्मा हुनुहुन्थ्यो। त्यतिबेला मैले तथ्याङ्क प्रस्तुत गर्दै भनेको थिएँ— '१८ वर्षअगाडि जम्मा १९,००० किलोमिटर बाटो रहेछ, तर आज सवा लाख किलोमिटर बाटो निर्माण भएको छ।' लोकतान्त्रिक गणतन्त्रपछिको यो विकास आफैँमा एउटा क्रान्ति र उपलब्धि हो। विद्युतीकरण र अन्य पूर्वाधारमा पनि ठूलो फड्को मारिएको छ। तर, आजका नवयुवाहरूले यति मात्रको विकासलाई स्वीकार गरेनन्। उनीहरूले 'यस प्रकारको विकास, गति र सुशासनले मात्र पुगेन' भन्दै सडकमै विद्रोह गरे। त्यसैको परिणामस्वरूप आजको यो नयाँ जनमत निर्माण भएको छ। हामीले त्यो जनमतलाई हृदयदेखि नै स्वीकार गरेका छौँ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) लोकतान्त्रिक आचरण, व्यवहार र पद्धतिमा विश्वास गर्छ। हाम्रो संविधानमाथि पूर्ण विश्वास छ। हामी रचनात्मक रूपले सरकारलाई सहयोग गर्न तयार छौँ र आलोचनात्मक प्रतिपक्षको सशक्त भूमिका पनि निर्वाह गर्नेछौँ। सम्माननीय सभामुख महोदय, आज प्राप्त यी सबै उपलब्धिका पछाडि दशौँ हजारको बलिदान जोडिएको छ। म मेरो दलका तर्फबाट जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलनदेखि लिएर पछिल्लो समय नवयुवाहरूले गरेको आन्दोलनसम्मका सम्पूर्ण सहिदहरूप्रति उच्च सम्मानसहित श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। घाइते तथा अपाङ्गता भएका सम्पूर्ण योद्धाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु र बेपत्ता परिवारहरूप्रति उच्च सम्मान व्यक्त गर्दछु, जसको त्यागले हामीलाई यहाँसम्म ल्याइपुर्याएको छ।
विगतमा सत्ता सञ्चालन गर्दा हाम्रा के–कस्ता कमजोरी भए? कहाँनेर हाम्रा प्रयासहरू अपुग भए? हामीले केही गर्दै नगरेका होइनौँ, गर्यौँ तर ती पर्याप्त भएनन्। अपुग भएका विषयमा हामी आत्मसमीक्षा गर्दै घोत्लिएर जनताको माझमा जानेछौँ। यसै सन्दर्भमा, सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति माननीय रवि लामिछाने र सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहलगायत यहाँहरू सबैलाई म आफ्नो एउटा ऐतिहासिक अनुभव साझा गर्न चाहन्छु। २०६४ सालमा तत्कालीन नेकपा (माओवादी) ले पनि यस्तै अभूतपूर्व विजय हासिल गरेको थियो। २०७४ सालमा दुई ठूला वामपन्थी दल मिलेर चुनाव लड्दा र पछि पार्टी एकता गर्दा हामीसँग झन्डै दुई तिहाइको बहुमत थियो। तर, हामीले त्यसलाई सही ढङ्गले सदुपयोग गर्न सकेनौँ र हाम्रा सीमाहरू छताछुल्ल भए। हाम्रा ती कमीकमजोरीहरूबाट शिक्षा लिएर तपाईंहरूले पार्टी र देशलाई अगाडि बढाउनुस्। यो दिशामा हाम्रो रचनात्मक सहयोग रहनेछ।
राष्ट्र निर्माण, राष्ट्रिय स्वाधीनता र सामाजिक न्यायसहितको रूपान्तरणका लागि हाम्रा थुप्रै अभ्यासहरू भएका छन्। संविधान संशोधनका विषयहरू पनि उठिरहेका छन्। तर, लोकतन्त्र, गणतन्त्र र समावेशिताका मूल मर्ममा कुनै सम्झौता हुन सक्दैन। बरु, लोकतन्त्रलाई अझ परिमार्जन र सुदृढ गर्न हामी सधैँ तयार छौँ। नयाँ जनमतलाई सम्मान गर्दै सरकारलाई काम गर्न दिने र आवश्यकता पर्दा सचेत तथा सक्रिय रूपले खबरदारी गर्ने हाम्रो नीति रहनेछ।
सभामुखज्यूको निर्वाचनपछि यो गरिमामय संसद् एउटा जीवन्त संसद्का रूपमा अघि बढ्नेछ भन्ने मेरो विश्वास छ। नेपाली जनता र राष्ट्रियताका पक्षमा उभिएर विश्वसामु देशको शिर उच्च बनाउने, युवाहरूलाई स्वदेशमै रोजगारी सिर्जना गर्ने र चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई सुदृढ गर्ने दायित्व अब तपाईंहरूको काँधमा छ। यहाँ प्रधानमन्त्रीदेखि अर्थमन्त्री र पार्टी सभापतिहरूसम्म थुप्रै विज्ञहरू हुनुहुन्छ। यी सबै विषयलाई सन्तुलनमा राख्दै जनताका आकाङ्क्षा पूरा गर्ने सवालमा हाम्रो रचनात्मक सहयोग रहनेछ। यसका साथै, शान्ति सम्झौताका बाँकी काम र सङ्क्रमणकालीन न्याय जस्ता हिजोका दायित्वहरू पनि पूरा गर्नु छ। यी राष्ट्रिय कार्यभार हुन् र यसमा सरकारले स्वामित्व लिनेछ भन्ने मैले विश्वास लिएको छु। हामी कसैले पनि अहङ्कार वा लघुताभास पाल्न जरुरी छैन। आफ्ना विचार र सिद्धान्तलाई कायम राख्दै देश र जनतालाई केन्द्रमा राखेर सहकार्य गर्न हामी सदैव तयार छौँ।