लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचन मार्फत सबैभन्दा बढी सांसद रुपन्देही जिल्लाबाट सङ्घीय संसद् प्रवेश गर्ने भएका छन् । प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीबाट गरी रुपन्देहीबाट १२ जना सांसद प्रतिनिधिसभामा प्रतिनिधित्व गर्दैछन् ।
निर्वाचन आयोगमा दलहरूले बुझाएको समानुपातिक सूचीअनुसार रुपन्देहीबाट ७ जना सांसद समानुपातिकतर्फबाट प्रतिनिधिसभामा जाने भएका छन् । प्रत्यक्ष निर्वाचनबाट ५ जना उम्मेदवार विजयी भइसकेका छन् ।
प्रत्यक्षतर्फ रुपन्देहीका पाँचै निर्वाचन क्षेत्र जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फ पाँच जनाको नाम सिफारिस गरेको छ । यससँगै रुपन्देहीबाट रास्वपाका मात्रै १० जना सांसद प्रतिनिधिसभामा पुग्ने भएका छन् । प्रत्यक्ष निर्वाचनमा रास्वपाबाट क्षेत्र नम्बर १ बाट सुनिल लम्साल, क्षेत्र नम्बर २ बाट सुलभ खरेल, क्षेत्र नम्बर ३ बाट डा. लेखजंग थापा, क्षेत्र नम्बर ४ बाट कन्यौय बानियाँ र क्षेत्र नम्बर ५ बाट तोफिक खाँ निर्वाचित भएका हुन् ।
समानुपातिकतर्फ रास्वपाले रुपन्देहीबाट श्रद्धा कुँवर, मञ्जु भुसाल, ज्ञानु पौडेल, अमृता विक र पुनमकुमारी अग्रवालको नाम सिफारिस गरेको छ । रास्वपाका लुम्बिनी प्रदेश उपाध्यक्ष शालिकराम घिमिरेले पार्टीबाट १० जना सांसद पाउने जिल्ला रुपन्देही भएको बताए । उनले आफ्नो पार्टी र अन्य पार्टीका सांसदहरू जोड्दा प्रदेशबाट सबैभन्दा धेरै प्रतिनिधिसभामा जाने रुपन्देही जिल्लाका सांसद रहेको बताए ।
लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये प्रत्यक्षमा पनि रुपन्देहीमा सबैभन्दा धेरै निर्वाचन क्षेत्र तोकिएको छ । लुम्बिनीका तराईका अन्य जिल्लामा २ देखि ३ निर्वाचन क्षेत्र छन् भने पहाडी जिल्लामा एक वा दुई निर्वाचन क्षेत्र छन् । रूपन्देहीमा ५ वटा क्षेत्र छन् । यसैगरी समानुपातिक सांसद पनि धेरै आएपछि यो जिल्ला प्रदेशका सबैभन्दा धेरै सांसद पाउने जिल्ला बनेको हो ।
नेपाली कांग्रेसले गंगा शाही र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ताहिर अलीलाई समानुपातिक सांसदका लागि सिफारिस गरेका छन् । रास्वपा र कांग्रेसबाट सिफारिस गरिएका सबै महिला छन् भने राप्रपाबाट पुरुष उम्मेदवार सिफारिस भएका छन् ।
राप्रपाबाट समानुपातिक सांसदमा सिफारिस भएका ताहिर अली रुपन्देहीको रोहिणी गाउँपालिकाका निवासी हुन् । उनलाई पार्टीले मुस्लिम कोटाबाट सिफारिस गरेको हो ।
त्यस्तै, रुपन्देहीको तिलोत्तमा निवासी गंगा शाहीलाई कांग्रेसले समानुपातिक सांसदमा सिफारिस गरेको छ । विगतका निर्वाचनहरूमा रुपन्देहीमा एमालेको बलियो प्रभाव देखिएपनि यसपटक भने प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीबाट एमालेका कुनै पनि उम्मेदवार प्रतिनिधिसभामा पुग्न सकेनन् ।
गत निर्वाचनमा रुपन्देहीबाट शून्य प्रतिनिधित्व भएको कांग्रेसले भने यसपटक समानुपातिकतर्फबाट एक सांसद प्राप्त गर्ने भएको छ ।