मधुमेह नियन्त्रण गर्न के गर्ने ?


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मधुमेहलाई बोलीचालीमा सुगर भनिन्छ । शरीरमा ग्लुकोज (चिनी)को मात्रामा असामान्य रुपमा बढ्नु मधुमेह हो । अस्वस्थकर जीवनशैली, असन्तुलित खानपान तथा वंशाणुगत कारणले आजभोलि विश्वभर नै मधुमेहका बिरामी बढिरहेका छन् । 

 

रगतमा चिनीको मात्रा अत्यधिक र अत्यन्त कम हुनु दुवै अवस्थामा स्वास्थ्यमा गम्भीर समस्या निम्तिन सक्छ । 

जब शरीरको प्यान्क्रियाजले पर्याप्त मात्रामा इन्सुलिन उत्पादन गर्न सक्दैन, शरीरले त्यस इन्सुलिनलाई प्रभावकारी रूपमा उपयोग गर्न सक्दैन, तब ग्लुकोज रगतमा जम्मा हुँदै जान्छ । यो अवस्था मधुमेह हो । 

मधुमेहका प्रकार

टाइप १ र टाइप २ गरी मधुमेह दुई प्रकारका हुन्छन् । टाइप १ प्राय: बालबालिका र किशोरकिशोरीमा बढी देखिन्छ । यसमा शरीरको प्रतिरक्षा प्रणालीले इन्सुलिन उत्पादन गर्ने बीटा कोषहरू नष्ट गर्छ । बिरामीले जीवनभर इन्सुलिन लिइरहनुपर्छ ।

टाइप २ मधुमेह प्राय: वयस्कमा देखिन्छ । यो अवस्थामा शरीरले इन्सुलिनलाई प्रभावकारी रूपमा उपयोग गर्न सक्दैन । 

मोटोपन, निष्क्रिय जीवनशैली र अस्वस्थ खानपान मधुमेहका मुख्य कारण हुन् । 

मधुमेहका लक्षण
बारम्बार प्यास लाग्ने, बारम्बार पिसाब लाग्ने, अत्यधिक भोक लाग्ने, वजन अचानक घट्ने, थकान महसुस हुने, छालामा संक्रमण वा घाउ ढिलो निको हुने, दृष्टि धमिलो हुने, मुख सुक्खा हुने, थकान महसुस हुने, खुट्टा पोल्ने वा झमझमाउने मधुमेहका लक्षण हुन् । यस्तै यौनाङ्ग वरिपरि चिलाउने,    मुख वा घाँटीमा बारम्बार घाउ आउने, पिसाब फेरेको ठाउँमा कमिला लाग्ने जस्ता समस्या पनि मधुमेह हुँदा देखिन्छन् । 

 

मधुमेह नियन्त्रण कसरी गर्ने ?

सुगर (मधुमेह) नियन्त्रणका लागि खानपानको भूमिका सबैभन्दा महत्त्वपूर्ण हुन्छ । सही आहारले ब्लड सुगरलाई नियन्त्रण गर्न मद्दत गर्छ र दीर्घकालीन जटिलताबाट जोगाउँछ । 

मधुमेहका बिरामीले अन्न र कार्बोहाइड्रेट (कम भएका), ओट्स, फाइबरयुक्त रोटी (जौ, फापर, ओखर), ब्राउन राइस (कम मात्रामा), क्विनोआ, चना, सिमी, मुसुरो खानु फाइदाजनक हुन्छ । 

यस्तै हरियो सागसब्जी (पालुङ्गो, मेथी, तोरीको साग), काँक्रो, काउली, भेण्डी, फर्सी, लौका, करेला,मुला, बन्दाकोभी खानुपर्छ । फलफूलहरूमा स्याउ, नासपाती, अम्बा, जामुन, सुन्तला, किबी, मेवा, काफल सन्तुलित मात्रामा खान सकिन्छ । 

उसिनेको अण्डा, माछा, कुखुराको मासु, दाल, तोफु, पनिर जस्ता प्रोटिनयुक्त खानेकुरा धेरै चिल्लो नराखी खान सकिन्छ । 

टोन्ड वा लो–फ्याट दुध, दही पनि मिलाएर खानुपर्छ । बदाम, ओखर, चिया बिउ पनि आवश्यक मात्रामा थोरै खानु राम्रो हुन्छ । 

मधुमेहका बिरामीले टाढा रहनुपर्ने केही खानेकुरा छन् । 

चिनी र चिनी भएका परिकारबाट टाढै रहनुपर्छ । लड्डु, बर्फी, हलुवा, मिठाई, केक, पेस्ट्री, गुलाबजामुन जस्ता गुलिया खानेकुरा खानुहुँदैन । 

प्याकेट जुस, चकलेट, कोल्ड ड्रिंक, सेतो चामल, मैदा, पास्ता, चाउचाउ, बिस्कुट नखाएकै राम्रो हुन्छ । खाए पनि निकै कम मात्रामा खानुपर्छ । 

सेतो रोटी, पाउरोटी, प्रोसेस्ड फुड, फास्टफुड, मःम, बर्गर, पिज्जा, आलु चिप्स, पापड, तेलमा तारेका खाना नखानु उत्तम हुन्छ । फलफूलहरुमा केरा, आँप, अंगुर, लिची, तरबुजा पनि नखाएको राम्रो हुन्छ । मधुमेह रोगीले धुम्रपान र मदिरा सेवन गर्नु हुँदैन । यी कुराले रक्तचाप र सुगर बढाउने खतरा हुन्छ । 

खाना खाँदा पनि एकैचोटि धेरै होइन, बेलाबेलामा थोरैथोरै गरेर खानु राम्रो हुन्छ । खानुभन्दा अघि वा पछि हिँडडुल गरेमा ब्लड सुगर नियन्त्रणमा मद्दत मिल्छ । 

आवश्यक मात्रामा पानी पिउनुपर्छ । नियमित रुपमा ब्लड सुगर जाँच गर्नुपर्छ । डाक्टरको सल्लाहअनुसार औषधि र इन्सुलिन लिनुपर्छ । 

मधुमेह नियन्त्रणका लागि खानपान र जीवनशैलीमा अनुशासित बन्न जरुरी छ । सही खाना, नियमित व्यायाम र चिकित्सकको सल्लाह पालनाले दीर्घकालीन स्वास्थ्य सुनिश्चित गर्न मद्दत पुग्छ । 

(जोशी हेल्थ असिस्टेन्ट हुन् ।)

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई suchanakohak753@gmail.com मा पठाउनु होला । धन्यवाद ।