नेपालले भारतको जग्गा मिचेको तथ्य सार्वजनिक गर्न प्रधानमन्त्रीलाई कांग्रेसको २४ घण्टे अल्टिमेटम


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहलाई नेपालले भारतको जग्गा मिचेको तथ्य सार्वजनिक गर्न २४ घण्टे अल्टिमेटम दिएको छ । राष्ट्रियसभा बैठकमा सोमबार कांग्रेसले २४ घण्टाभित्र नेपाल सरकारले भारतको कुन–कुन ठाउँमा जग्गा मिचेको छ जानकारी गराउन माग गरेको हो । 

बैठक सुरु भए लगत्तै पार्टीको तर्फबाट आकस्मिक समय लिएर सांसद रञ्जित कर्णले प्रधानमन्त्रीलाई त्यस्तो अल्टिमेटम दिएका हुन् ।‘‘ हिजो प्रधानमन्त्रीजीले प्रतिनिधिसभाको रोष्ट्रममा उभिएर नेपालले भारतको केही जग्गा मिचेको बताउनुभयो,’ सांसद कर्णले भने, ‘सम्माननीय प्रधानमन्त्रीलाई आग्रह गर्न चाहन्छु– २४ घण्टाभित्र नेपाल सरकारले भारतको कुन–कुन ठाउँमा जग्गा मिचेको छ जानकारी गराउनुहोला ।’

तथ्य सार्वजनिक गर्न नसके जनतासँग माफी माग्नुपर्ने कांग्रेसले बताएको छ । ‘यदि तथ्य उपलब्ध गराउन सक्नु भएन भने प्रधानमन्त्रीज्यूले जनतासँग सार्वजनिक रूपमा माफी माग्नुपर्छ ।’

आइतबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री बालेनले भनेका थिए, ‘तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ– भारतले नेपालको जग्गा मात्र हैन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ ।’

त्यस्तै, सांसद कर्णले प्रधानमन्त्री शाहको सीमा विवादबारेको अभिव्यक्तिमाथि छानबिन समिति गठन गर्न पनि माग गरेका छन् ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई suchanakohak753@gmail.com मा पठाउनु होला । धन्यवाद ।