गुल्मीमा अनुदानको रासायनिक मलको कालोबजारी गरी चर्को मूल्यमा बिक्री गरेको आरोपमा प्रहरीले एक जना पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार कालीगण्डकी गाउँपालिका-१ स्थित नव प्रगतिशील कृषि सहकारी संस्था लिमिटेडका सचिव ४४ वर्षीय प्रेमनारायण पाण्डेलाई पक्राउ गरिएको हो ।
उक्त सहकारीमार्फत सहुलियतमा बिक्री–वितरण गर्न अनुदान प्राप्त युरिया र डीएपी मल अनधिकृत रूपमा बढी मूल्यमा बिक्री भइरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रिडीबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक(डीएसपी) वीरेन्द्रवीर विश्वकर्माले बताए ।
प्रारम्भिक अनुसन्धानबाट अनुदानमा खरिद गरिएको रासायनिक मल स्थानीय व्यापारीमार्फत चर्को मूल्यमा बिक्री–वितरण गरिएको खुलेको उनले जानकारी दिए ।
प्रहरीले विभिन्न पसल तथा घरबाट युरिया मल ५० केजीका २१४ बोरा र डीएपी मल ५० केजीका १०६ बोरा गरी कुल ३२० बोरा रासायनिक मल पनि बरामद गरेको छ । घटनामा संलग्न पाण्डेविरुद्ध कालोबजारी तथा केही सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय गुल्मीबाट पाँच दिनको म्याद थप गरिएको छ ।