पत्रकार र सूचना अधिकारी बीचसूचनाको हक र सुशासन विषयक अन्तरक्रिया


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बागलुङमा पत्रकार र सूचना अधिकारी बीच अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

नेपाल पत्रकार महासंघ बागलुङ शाखाको आयोजना तथा जिल्ला प्रशासन कार्यालयको समन्वयमा सूचनाको हक र सुशासन विषयक अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

कार्यक्रममा जिल्लाका क्रियाशील पत्रकारहरुले सूचना अधिकारी सूचनाको पहुँचमा नभएको, प्रचारमुखी सूचना मात्रै प्रदान गरेको तथा विज्ञापन एजेन्सीको रुपमा मात्रै काम गरेको लगायतका गुनासा राखेका थिए ।

कार्यक्रममा कान्तिपुरका पत्रकार प्रकाश बरालले सूचनाको हक सम्बन्धी कानुनी व्यवस्थाको विषयमा सहजीकरण गर्नुभएको थियो । उहाँले पछिल्लो समय सूचना माग्ने प्रचलन, सूचनाको पहुँच लगायतको विषयमा जानकारी गराउनु भएको थियो ।

पत्रकार खेमराज गौतमले सूचना अधिकारीसँग सूचना नभएको, ढोरपाटन सिकार आरक्षमा कार्यालय प्रमुख कार्यालयमा नबस्ने गरेको, कालीगण्डकी दोहन भइरहदा समेत पक्राउ नपरेको विषयमा जानकारी गराउनुभएको थियो । यस्तै पत्रकार डम्मर बुढामगरले सूचना अधिकारीले तत्कालै सूचना उपलब्ध गराउन नसकेको, कार्यालयहरु सेवाग्राहीमैत्री नभएको बताउनुभयो ।

यस्तै पत्रकार रोहन जिसीले जिल्ला प्रशासन कार्यालयले अनुगमन नगरेको बताउनुभयो । आनतरिक राजश्व कार्यालयका सूचना अधिकरी मोहन प्रसाद आचार्यले सूचना दिइएको कुरा जस्ताको त्यस्तै नआएको गुनासो गर्नुभयो ।

उहाँले सूचनाको प्रभाव हेरेर मात्रै सूचना दिन सकिने बताउदै सूचना अधिकारीको समेत बाध्यता र सिमितता रहेको बताउनुभयो । कार्यक्रममा पत्रकार महासंघ बागलुङका पूर्व अध्यक्ष राम बहादुर जिसीले पत्रकार र सूचना अधिकारीको दुरी घटाउन आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले पत्रकार र सूचना अधिकारीको सम्बन्ध बढाउन यस्ता कार्यक्रम फलदायी हुने बताउनुभयो ।
“सूचना अधिकारी र पत्रकार राज्यको चौथो अंग र चौथो बाहु हुन्, दुबै मिलेर राज्यका लागि नै काम गर्ने हो, सुशासन र पारदर्शीताका लागि दुबैं अंगले काम गर्नु पर्दछ” गुरुङले भन्नुभयो “सूचनाको हक आम नागरिकलाई भएकाले नागरिक समक्ष सूचना पु¥याउने काममा पत्रकारको भूमिका अतुलनीय छ, सरकारी कार्यालयका सूचना नागरिकको पहुँचमा पु¥याउन प्रविधिसँग जोडिन आवश्यक रहेको छ ।”

प्रजिअ गुरुङले पत्रकारहरुले उठाउनुभएका गुनासो आगमी दिनमा नआउनेगरी काम गर्न सूचना अधिकारीलाई निर्देशन दिनुभएको थियो । कार्यक्रम नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापाको अध्यक्षता, सहायक प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलको स्वागत तथा पत्रकार महासंघ बागलुङका सचिव नारायण रिजालको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई suchanakohak753@gmail.com मा पठाउनु होला । धन्यवाद ।