सरकारको वर्तमान प्रशासन सुधार योजनाको मर्म अनुरूप सार्वजनिक सेवालाई थप सुदृढ, नागरिक-केन्द्रित र सेवाग्राहीमैत्री बनाउने उद्देश्यका साथ स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान (LDTA) द्वारा आयोजित 'नागरिक केन्द्रित सेवा प्रवाह प्रशिक्षण' को पहिलो चरण आज सफलतापूर्वक सम्पन्न भएको छ ।
गत जेठ ५ गतेदेखि सुरु भएको यस गरिमामय विशेष कार्यक्रम अन्तर्गत पहिलो चरणमा ४ वटा समूहको तालिम सफलतापूर्वक समापन गरिएको प्रतिष्ठानले जनाएको छ । सार्वजनिक सेवा प्रवाहको अग्रपंक्ति (फ्रन्टलाइन) मा खटिने कर्मचारीहरूको कार्यक्षमता विकास गरी जनताले अनुभूत गर्ने गरी सुशासन प्रवर्द्धन गर्न यो तालिम सञ्चालन गरिएको हो ।
चालु आर्थिक वर्षभित्र ६०० जना फ्रन्टलाइन सहायकस्तरका राष्ट्रसेवक कर्मचारीहरूलाई प्रशिक्षित गर्ने महत्वाकांक्षी लक्ष्यसहित यो अभियान सुरु गरिएको हो । प्रतिष्ठानका अनुसार राष्ट्रसेवक कर्मचारीहरूको दक्षता वृद्धि नै सुशासनको मुख्य आधार रहेकाले यो प्रशिक्षण अभियानलाई आगामी आर्थिक वर्षहरूमा पनि निरन्तरता दिइने नीति लिइएको छ ।
प्रशासन सुधार योजनाको बुँदा नं. २२ को भावना र मर्मलाई आत्मसात् गर्दै सञ्चालित यस प्रशिक्षणले सरकारी कार्यालयहरूमा आउने सेवाग्राहीप्रतिको व्यवहारमा सकारात्मक परिवर्तन ल्याउने, सेवा प्रवाहलाई छिटो-छरितो र झन्झटमुक्त बनाउने तथा समग्र निजामती प्रशासनको छवि उच्च राख्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास प्रतिष्ठानले लिएको छ ।