२०७९ वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरूको व्यापक चर्चा भयो । राजधानी काठमाडौंसहित देशका ठुला सहरहरुमा स्वतन्त्र उम्मेदवारहरूको धेरै चर्चा भयो ।
काठमाडौं महानगरपालिकाको मेयरमा इन्जिनियर तथा र्यापर बालेन्द्र शाह (बालेन), धनगढी उपमहानगरपालिको मेयरमा गोपाल हमाल (गोपी) र धरान उपमहानगरपालिकाको मेयरमा हर्क साम्पाङ राई उम्मेदवार भए । यी तिनै जना स्वतन्त्र उम्मेदवारले चुनावमा बाजी मारे ।
पोखरा महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बनेका गनेस पौडेल, कोहलपुर नगरपालिकाको मेयर उम्मेदवार बनेका देवानन्द अर्यालले चुनाव जित्न नसकेपनि निकै चर्चा भयो । पुराना राजनीतिक दल र शक्तिसँग असन्तुष्ट भएका सहरी जनताले मत फेरेको अर्थमा यसलाई लिइयो ।
वैकल्पिक उम्मेदवारले स्थानीय तहमा राम्रो प्रभाव जमाएपछि चर्चित सञ्चारकर्मी रवि लामिछाने राजनीतिमा हाम फाले । उनले २०७९ असारमा राष्ट्रिय स्वतन्त्र पार्टी गठन गर्दै राजनीतिमा प्रवेश गरेको औपचारिक घोषणा गरे । मंसिरमा आम निर्वाचन हुँदैथियो । त्यसको साढे पाँच महिना मात्रै अघि खुलेको रास्वपा संसद्को चौथो शक्तिका रूपमा उदायो । रास्वपाले समानुपातिकतर्फ ११ लाख ३५ हजार मत ल्यायो भने प्रत्यक्षतर्फ ८ सिट जित्न सफल भयो । दुवैतर्फ गरेर २१ सिट ल्यायो ।
विश्लेषकहरु यसलाई पुराना दलप्रतिको वितृष्णाले रास्वपाले मत पाएको रूपमा लिन्छन् । सहरी मतमा ठुलो परिवर्तन देखिएपनि संसदीय राजनीतिमा रास्वपा बाहेक सबै पुरानै दलहरु आए । सरकारको नेतृत्वमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रकै (हाल नेकपा) कै नेताहरु भइरहे । त्यसपछि भ्रष्टाचार, नातावादको विरोधमा जेनजीहरु सक्रिय भए । त्यही बेला सरकारले सामाजिक सञ्जाल दर्ता नभएको भन्दै बन्द गरेपछि भदौ २३ र २४ गते जेनजी आन्दोलन भयो । आन्दोलनमा पुराना राजनीतिक दलका नेता र पार्टीहरु निशानामा परे ।
र, फेरि २०७९ को स्थानीय तहको निर्वाचनमा स्वतन्त्र रुपमा जितेका मेयरहरु नै केन्द्रमा आए । उसो त काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह चुनावपछि पनि कहिले चर्चा बाहिर रहेका पात्र होइनन् । धरानका मेयर हर्क साम्पाङ पनि आफैं चर्चित पात्र हुन् । तर धनगढीका मेयर गोपी हमाल भने आफ्नो ढंगले उपमहानगरका काम गरिरहे पनि खासै चर्चामा आउन चाहेनन् ।
अहिले पुराना शक्ति विशेषगरी कांग्रेस, एमाले र नेकपाहरुलाई संसदीय चुनावमा रोक्न वैकल्पिक शक्तिहरु एक हुनुपर्ने माग उठिरहेको छ । तर स्वतन्त्र रुपमा सहरी मत ल्याएर विजयी भएका तीन ठुला सहरका मेयर आ–आफ्नै तालमा देखिन्छन् ।
प्रधानमन्त्रीका अफर छाडेका बालेन सधैं रहस्यमा
जेनजी आन्दोलनपछि प्रधानमन्त्री बन्न जेनजी लगायतले माग गर्दा पनि अघि नबढेका पात्र हुन् मेयर बालेन । उनलाई जेनजीहरूले राजनीतिमा आह्वान गरेपनि उनी काठमाडौँ महानगरपालिकाको पाँचवर्षे कार्यकाल पूरा नगरी अन्य विषयमा नसोच्ने बताउँदै आएका थिए । बालेनले यसअघि आफूसँग भेट्ने निकटतमहरुलाई आफू मेयरको रुपमा सफल हुन खोजिरहेको र संसदीय राजनीतिबारे सोचिनसकेको बताउने गरेका थिए ।
उनले काठमाडौंका जनताले पाँच वर्षलाई आफूलाई मत दिएको भन्दै सोही अनुसार काम गर्ने बताउँदै आएका छन् । तर सोमबार राति रास्वपा सभापति रवि लामिछानेले भेटेपछि राजीनामा नयाँ तरंग थपिएको छ ।

यद्यपि बालेन अब संसदीय राजनीतिमा आउँछन् कि आउँदैनन् भन्ने अन्योल कायमै छ । रास्वपाका नेताहरका अनुसार बालेनलाई प्रधानमन्त्रीसम्मको उम्मेदवार बनाएर चुनाव लैजान सक्ने योजना छ । नेताहरुका अनुसार रास्वपा सभापति लामिछानेको मुद्दाको टुंगो नलाग्दा र बालेनलाई अगाडि बढाउँदा जनमत बढ्ने आकलन गरिएको छ । बालेनले ठोस निर्णय नगरेपनि उनी वैकल्पिक राजनीतिको केन्द्रमा भने भइरहेका छन् । बालेन पार्टीमा लाग्दा वा उनले समर्थन जनाउँदा केही सिट संसद्मा थपिने नयाँ राजनीतिक दलहरुको आश छ ।
हर्कको आफ्नै पार्टी, आफ्नै ताल
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राई विजयी भएदेखि श्रमदान भनेर हिँडिरहेका छन् । जेनजी आन्दोलनपछि प्रधानमन्त्रीमा दाबी गर्न आएका साम्पाङले प्रधानमन्त्री नपाएपछि आफैँले श्रम संस्कृति पार्टी गठन गरेर चुनाव केन्द्रित अभियानमा हिँडिरहेका छन् । उनले आक्रामक रुपमा संगठन विस्तार गरिरहेका छन् । अन्य शक्तिहरुको चर्को आलोचना गर्दै आएका छन् ।
तर उनी पार्टीको काममा सक्रिय भएपछि धरान उपमहानगरपालिका भने भद्रगोल अवस्थामा छ । स्थानीय सरकार सञ्चालन ऐन अनुसार नगर प्रमुख लामो समय कार्यालयमा अनुपस्थित हुँदा उपप्रमुखलाई कार्यवाहक जिम्मेवारी दिनुपर्ने व्यवस्था छ । तर मेयर साम्पाङले उपमेयर अइन्द्र बेघालाई कार्यवाहकको जिम्मेवारी नदिई कार्यालय छोडेर हिँड्ने गरेका छन् ।
_TnKTMbKOz2.jpg)
उपमेयरको सचिवालय र उपमहानगरका प्रवक्ता मनोजकुमार भट्टराईका अनुसार मेयर साम्पाङ सातामा एक पटक कार्यालय आउँछन् । ‘उहाँ (मेयर) नहुँदा सबै काम रोकिन्छ । उहाँले सबै कुरा केन्द्रीकृत गर्नुभएको छ । अरूलाई अधिकार प्रत्यायोजन नगर्दा सिफारिस, विकास निर्माणका योजना र भुक्तानीका फाइलहरू रोकिएका छन्,’ प्रवक्ता भट्टराईले भने ।
उपमेयर पक्षले कार्यवाहकको जिम्मेवारी नमागे पनि प्रशासनिक र नैतिक रूपमा मेयरले छोडेर जानुपर्ने उनीहरूको तर्क छ । ‘हामीले मागेको होइन, तर मेयर नहुँदा जनताको काम रोकिनु भएन भन्ने हाम्रो चिन्ता हो । उहाँले कि राजीनामा दिनुपर्यो, कि कार्यवाहक दिएर जानुपर्यो,’ उपमेयर सचिवालयका एक सदस्यले भने ।
तर साम्पाङ श्रम संस्कृति र आफ्नो हर्कवाद लागु गर्ने अभियानमा छन् । यद्यपि सामाजिक सञ्जालमा धेरै सक्रिय हुँदा उनको आलोचना पनि भइरहेको छ । पूर्वी क्षेत्रमा हर्क साम्पाङको प्रभाव पनि देखिएको छ ।
हमाल भन्छन्- राजनीतिक दलमा जानेको सोचेको छैन
धनगढीका मेयर गोपी हमालले पनि अहिलेसम्म राजनीतिक कित्तामा खुलिसकेका छैनन् । उनी स्वतन्त्र रुपमा मेयरको उम्मेदवारी दिनुअघि विवेकशील साझा पार्टीका सुदूरपश्चिम संयोजक थिए । तर उनले पार्टी छोडेको घोषणा गरिसकेका छन् । अहिले विवेकशील साझा पार्टी पनि रास्वपासँग एकीकृत भइसकेको छ । यद्यपि हमाल भने कतै खुलेका छैनन् । मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेशका नेतृत्वले हमालसँग भेट गरेपनि उनले निर्णय दिएनन् । रास्वपाका प्रदेश सभापति प्रकाश विष्ट, प्रदेश महामन्त्री लगायतका नेताहरूको टोलीले मेयर हमालसँग भेटघाट गरेको थियो । प्रदेश सभापति प्रकाश विष्टका अनुसर विशेषगरी मुलुकमा वैकल्पिक शक्तिका रूपमा देखिएका पक्षहरूबिच सहकार्य र एकताको आवश्यकताका बारेमा दुवै पक्षबिच गहन संवाद भएको थियो ।
हमालले आफूलाई नगरबासीले पाँच वर्षका लागि सुम्पिएको जिम्मेवारी पूरा गर्नमै आफ्नो सम्पूर्ण ध्यान केन्द्रित रहेको बताएका छन् । मेयर हमालले रातोपाटीसँग भने, ‘मलाई जनताले पाँच वर्षको लागि जिम्मा दिएका छन् । म अहिले त्यही काममा व्यस्त छु । आफ्नो कार्यकाल नसकिँदासम्म अन्य कुनै पनि राजनीतिक दौडधूपमा लाग्ने मेरो सोच छैन ।’
उनले अगाडि भने, ‘कतिपय साथीहरू भेट्न आउनुहुन्छ, फोटो खिचेर सामाजिक सञ्जालमा हाल्नुहुन्छ र त्यसैलाई आधार बनाएर समाचारहरू बन्छन् । तर मेरो स्ट्यान्ड प्रष्ट छ- म अहिले जनताको काममै केन्द्रित छु ।’
स्वास्थ्यमा केही समस्या रहेपनि आफू नियमित काममा खटिरहेको जानकारी दिँदै मेयर हमालले अहिले कुनै नयाँ दल वा अभियानमा लाग्ने आफ्नो योजना नरहेको बताए । ‘अहिलेको मुख्य प्राथमिकता धनगढीको विकास र नगरबासीको सेवा नै हो,’ मेयर हमालले भने, ‘पाँच वर्षका लागि पाएको म्यान्डेटलाई म तलमाथि हुन दिन्नँ ।’