रावणको लंका र नेपालको जेन–जेड आन्दोलन


रावणको लंका जलाउँदा नै हनुमान पूजनीय भए। आजका युवाले अन्यायको लंका जलाउँदा तिनीहरूलाई अपराधी होइन, देशका नैतिक नायकका रूपमा स्वीकार गर्न सकियो भने नेपालले नयाँ अध्याय पाउनेछ।
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

इतिहास र मिथक दुवैमा एउटा समान धागो पाइन्छ — अन्याय, दम्भ र शोषण अन्ततः जनताको विद्रोहले वा नैतिक शक्तिले परास्त हुन्छ। रामायणमा रावण एउटा प्रतिभाशाली, पराक्रमी र ज्ञानी पात्र भए पनि उसको घमण्ड, सत्ता मोह र दुरुपयोगले अन्ततः उसको पतन ल्यायो। लंकामा बसेर तिनै लोक हल्लाउने उसको दम्भले हनुमानलाई लंका जलाउन र रामलाई रावणवध गर्न प्रेरित गर्यो। आज हामी हनुमानलाई सर्वत्र पूज्छौँ, रामलाई भगवानको रूपमा मान्छौँ, तर रावणलाई चेतावनीका प्रतीकका रूपमा सम्झन्छौँ।

यो प्रसङ्ग केवल कथा होइन, चेतना हो। नेपालमा हाल देखिएको जेन–जेड आन्दोलनलाई पनि यही दृष्टिकोणबाट बुझ्नुपर्छ। युवा पुस्ताले देखेको अन्याय, अवसरको असमानता, भ्रष्टाचार र राजनीतिक परजीवीताले उनीहरूलाई सडकमा ल्याएको हो। हनुमानले जस्तो रावणको लंका जलाएझैँ यी युवाले सत्ता र शक्तिको घमण्डमा बसेका नेताहरूको ‘लंका’लाई हल्लाइरहेका छन्। उनीहरूले सत्ता कब्जा गरेका छैनन्, बिभीषण बनेकी शुसिला कार्कीलाई नेतृत्वको प्रतीक बनाएर न्यायको बाटो समात्न चाहेका छन्।

यो कुरा बुझ्न जरुरी छ कि स्वतःस्फूर्त विद्रोह र योजनाबद्ध हिंसामा फरक हुन्छ। रामायणमा पनि हनुमानको लंका दहन अन्यायविरुद्धको प्रतिवाद थियो, व्यक्तिगत लाभका लागि गरिएको अपराध होइन। नेपालमा जेन–जेड आन्दोलनमा समेत यही भिन्नता स्पष्ट छ।

  • शान्तिपूर्ण प्रदर्शन र स्वतन्त्र आवाज दबाउन खोज्नु रामको विरुद्धमा उभिनु जस्तै हो।

  • तर आगजनी, लुटपाट र हिंसामा संगठित शक्तिहरू — चाहे एमाले, माओवादी, रास्वपा वा अन्य पार्टीका झोले होऊन् — संलग्न देखिए भने उनीहरूलाई योजनाबद्ध अपराधी मान्न सकिन्छ।

यसैले हनुमानजस्तो युवा पुस्तालाई अपराधीको दृष्टिले खोजेर मुद्धा चलाउनु राष्ट्रको दुर्भाग्य हुनेछ। उनीहरूलाई बुझ्नुपर्छ, संवाद गर्नुपर्छ, र सुधारको बाटोमा साथ दिनुपर्छ। तर यो आन्दोलनलाई अपहरण गर्ने, दिशाहीन पार्ने वा योजनाबद्ध दंगा बनाउने शक्तिहरूलाई भने कानूनको कठघरामा उभ्याउनै पर्छ।

नेता रूपी रावणहरूलाई बुझ्नुपर्ने कुरा के हो भने—लामो समयसम्म जनताको धैर्यलाई दुरुपयोग गर्न सकिँदैन। जसरी रावणले आफ्नो अधिनमा ग्रहहरू राखेर तिन लोक हल्लाए पनि अन्ततः उसका दम्भका पर्खाल राम र हनुमानको संयम र शक्तिले भत्काइयो, आजका राजनीतिक रावणहरूको महल पनि सत्य र न्यायको अगाडि टिक्दैन।

जेन–जेड आन्दोलन केवल सडकमा देखिने भीड होइन, यो चेतनाको विस्फोट हो। जब देशको युवा पुस्ताले नैतिक आडमा र परिवर्तनको दृढ संकल्पका साथ उभिन्छ, उनीहरूलाई रोक्ने शक्ति कुनै हुँदैन। उनीहरूले सत्ता कब्जा गरेका छैनन्, उनीहरूले अवसर कब्जा गर्न खोजेका छैनन्, उनीहरूले न्यायको बाटोमा बिभीषणलाई नेतृत्व दिने उदारता देखाएका छन्। यही कारण उनीहरूलाई रामसरी, हनुमानसरी र बिभीषणसरी मान्नु पर्छ, अपराधीसरी होइन।

नेपालको भविष्यको प्रश्न यो हो—हामी मिथकबाट प्रेरणा लिएर न्याय र नैतिकता रोज्छौं कि दम्भ र दमन? रावणवधलाई अपराध मान्ने हो भने इतिहास र मिथक दुवै पुनर्लेखन गर्नुपर्ने हुन्छ। हनुमानको लंका दहनलाई आतंकवाद ठान्ने हो भने आजका मन्दिरमा घण्टा कसरी बजाउने?

त्यसैले आजको सन्देश स्पष्ट छ —

  • युवा पुस्ताको स्वतन्त्र आवाजलाई अपराध नबनाऔं।

  • योजनाबद्ध हिंसामा संलग्न शक्तिहरूलाई मात्र कानूनी दायरामा ल्याऔं।

  • बिभीषणजस्तै सत्य पक्षमा उभिएकाहरूलाई संरक्षण दिऔं।

रावणको लंका जलाउँदा नै हनुमान पूजनीय भए। आजका युवाले अन्यायको लंका जलाउँदा तिनीहरूलाई अपराधी होइन, देशका नैतिक नायकका रूपमा स्वीकार गर्न सकियो भने नेपालले नयाँ अध्याय पाउनेछ।

यी फोटा हरु बिभिन्न संचामाध्यम मार्फत लीइएका हुन् 

 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई suchanakohak753@gmail.com मा पठाउनु होला । धन्यवाद ।