शुक्लाफाँटामा जंगली हात्तीको त्रास


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

  शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटाका बासिन्दा दुई सातादेखि जङ्गली हात्तीको त्रासमा बाच्न बाध्य छन् । रात पर्नुअघि नै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बस्ती छिर्ने हात्तीले स्थानीयको धानबालीमा क्षति गर्दै आएका छन् ।

स्थानीयका अनुसार यस अवधिमा ३५ भन्दा बढी परिवारको झण्डै चार विघा खेतको धानबालीमा हात्तीले नोक्सानी पुर्याएका छन् । ‘पहिले हात्ती धान पाक्ने बेला मात्र आउँथे, तर यस वर्ष बाला नलाग्दै पुगेका छन्’, स्थानीय केशवदत्त जोशीले भने, ‘यसरी निरन्तर आउँदा बाली पूर्णरूपमा सखाप हुने खतरा बढ्दै गएको छ ।’

जोशीले गए राती घरको आँगनमै हात्ती पुगेको घटना सुनाए । ‘ढोकाबाट निस्कँदै गर्दा हात्ती आँगन नाघ्दै थियो’, उनले भने, ‘जम्काभेट भएको भए ज्यानै लिने थियो भगवानले बचाए ।’ गाउँका अधिकांश पुरुष रोजगारीका लागि भारततर्फ गएका हुँदा घरमा महिलामात्र हुने गरेका छन् । ‘दिउँसो मजदुरी गर्न जानुपर्छ, रातभर हात्ती धपाउन जाग्राम बस्नुपर्छ, यसरी मजदुरी गर्नै नसक्ने अवस्था छ’, प्रेम लुहारले दुखेसो पोखे, ‘मजदुरी नगरे पेट पालिन्न, हात्ती नभगाए बाली नष्ट हुन्छ, कहिलेकाहीँ घरै भत्काउने खतरा हुन्छ ।’

 

स्याली नदी किनारमा लगाइएको मेसवायर भत्काएर हात्ती खेत र बस्तीमा प्रवेश गर्ने गरेका छन् । ‘हात्तीले ठाउँ–ठाउँमा मेसवायर भत्काएका छन्, विद्युतीय तारवार जडानको माग गर्दा सुनुवाइ भएको छैन’, स्थानीय दानसिंह कुवँरले भने । उनका अनुसार मेसवायरमा जनावरलाई नमार्ने तर झड्का दिने प्रणाली भए हात्तीको प्रवेश रोक्न सकिन्थ्यो । निकुञ्ज कार्यालयदेखि स्थानीय तह र प्रदेश सरकारसम्म माग गर्दा पनि सहयोग नपाएको गुनासो उनले सुनाए ।

‘अघिल्ला वर्ष हात्ती आगो देखेर तर्सन्थे, तर अहिले तर्सनै छाडेका छन्’, उनले भने, ‘निकुञ्ज कार्यालयसँग पटाका माग्दा जनावर रिसाउने र ठुलो क्षति गर्ने भन्दै दिन नमिल्ने जवाफ दिएर फर्कायो, आगो देखेर तर्सिदैंन, हात्ती बस्ती प्रवेश गर्ने ठाउँमा बत्तीको व्यवस्था छैन, यसले मानविय क्षति हुने सम्भावना बढ्दै गएको छ ।’

सिमलफाँटा गाउँको गल्ली नं १ र २ सबैभन्दा बढी प्रभावित छन् । वडाध्यक्ष प्रतापसिंह धामीका अनुसार विद्युतीय करेन्ट प्रवाह गर्ने उपकरण महँगो भएकाले वडाको बजेटले धान्दैन । ‘नगर र प्रदेश सरकारसँग आवश्यक सहयोग मागेका छौं’, उनले भने, ‘अश्वासन पाइए पनि अहिलेसम्म बजेटको टुङ्गो लाग्न सकेको छैन ।’ सुनदेवी मध्यवर्ती समितिले दातृ निकायको सहयोगमा मेसवायर लगाएको भए पनि हात्तीले भत्काएपछि अन्य जनावर पनि खेतमा पस्ने र बाली नष्ट गर्ने समस्या बढेको स्थानीयको भनाइ छ । 

निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत पर्ने नगरपालिकाका १० वडा प्रभावित रहेका छन् । वर्षातको समयसँगै भारतीय दुधुवा नेशनल पार्कमा पानी भरिन सुरु भएपछि हात्तीको बथान लालझाडी संरक्षण क्षेत्र हुँदै निकुञ्ज प्रवेश गर्ने गर्दछन् । निकुञ्जको अग्लो क्षेत्रमा वर्षातको समयभर हात्तीका बथान ओहोर दोहोर गर्ने गर्दछन् । निकुञ्ज वरपरका गाउँका किसानले लगाएको धान लगायतका बालीमा क्षति पुर्याउने गर्दछन् । विगत तीन वर्षदेखि हात्तीले मानविय र भौतिक क्षति पनि निम्त्याउँदै आएका छन् । 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई suchanakohak753@gmail.com मा पठाउनु होला । धन्यवाद ।