तेजस्विनी सदनः प्रेम र मनोविज्ञानको गहिरो चित्रण


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

हरेक पुस्तकसँग आफ्नै एक यात्रा हुन्छ — जसले पाठकको मन, मस्तिष्क र भावना सबैलाई छोएर जान्छ । अतुल पोखरेलको उपन्यास तेजस्विनी सदन पढ्दा मलाई यस्तै अनुभूति भयो । सिमल बुक पब्लिकेशनबाट निक्लिएको यो पुस्तक आमाबुवाको नाममा समर्पण गरेका छन् लेखकले । उक्त उपन्यासले धेरै अघिको नेपाली समाज र दरबारीया जीवनको गहिरो यथार्थ चित्रण गरेको छ । मनोविज्ञान र दर्शन बोकेको उक्त पुस्तकमा ऐश्वर्य र शक्तिको चकचकीभित्र लुकेको षडयन्त्र, लोभ र दमन अनि प्रेमको कथा छ । राजदरबारका पात्रहरूको आडम्बरयुक्त जीवन र दरबार बाहिरको सरल जीवनबीचको तुलना यो उपन्यासमा प्रभावकारी रूपमा प्रस्तुत भएको छ । लोभलालच, इर्ष्या, मायामोह, यौन उन्माद के छैन र यो उपन्यासमा ! सुख के हो ? खुशी केमा छ ? दुःखका रूपहरू कस्ता कस्ता हुन्छन् ? आखिर जीवन के हो ? सम्झनुस् त ! दरबारमा रहने राजा लगायत राजपरिवारलाई कुनै कुराको अभाव होला त ? धनदौलत, सानमान, इज्जत, प्रतिष्ठा केहीको पनि कमी हुन्छ होला भन्ने सोच्दैनौँ हामी । तर उनीहरूलाई पनि सामान्य मानिसलाईझैँ चरम निराशाको बादलले छोप्ने रहेछ । दरबारभित्र आफ्नैहरूको षडयन्त्रमा जकडिएका निरिह पात्र हुन्, सुचित्रा, मृदुल र सिमरिकाहरू । तेजस्विनी, शार्दूल, शुकर्ण, धनञ्जय, ऋषिमोहन, कलानिधि, एकराज, गोपी गुरु, छविलाल, सरोजिनी, चन्द्रकान्त, रघुनाथ घिसिङ्ग गाउँकी नारी अनि श्रीपुरकी जादूवाली मातारानी यी सबै पात्रहरूको चरित्रचित्रण गजब छ । उनीहरूकै वरिपरि कथा दौडिरहन्छ ।

यो किताब पढेपछि मैले एउटा निष्कर्ष निकालेँ : प्रायः लेखकहरू किताब लेख्ने समय बिथोलिने रहेछन्, अवचेतन मनले नै भनुम् मान्छेको सोझो दिमागले यस्ता किताब लेख्न सक्दैन, कदापि सक्दैन । त्यसैले होला, महाकविदेखि नित्सेसम्म सबै ‘पागल’ कहलाउँछन् । कसरी लेख्न सक्छ सामान्य मान्छेले एउटै पात्रका फरक फरक चरित्र । म आत्तिएँ, डराएँ । किन भनेर प्रश्न गर्न सक्नुहुन्छ । यसका धेरै कारण छन् । पहिलो त मजाले दुईवटा किताब बनाउन मिल्ने शब्दसामाग्रीलाई एउटै किताबमा हालेपछि किताब कति ठूलो होला आफैँ अन्दाज गर्नुहोस् । साँच्चै भन्नुपर्दा किताबको साइज देखेर नै पाठक एकपटक तर्सन्छ । फेरि, प्रत्येक पात्रलाई एउटा न एउटा दुःखको झोला भिराएका छन् लेखकले, यस्ता प्लटहरू कसरी निस्कन्छ लेखकको दिमागमा ? अहँ साधारण मस्तिष्कले यस्तो कृति तयार गर्न कुनै हालतमा सक्दैन ।

प्रायः जसो एउटा उपन्यासमा एउटा प्रमुख पात्र हुन्छ, अरु दुई चार सहायक । यस्तै कल्पना गर्छौँ हामी र त्यस्तै किताब पढेका पनि छौँ । तर यो तेजस्विनी सदन तपार्इँले नजरअन्दाज गरेको जस्तो होइन र छैन पनि । यो उपन्यासमा बीस भन्दा बढि पात्र छन् । किताब पढ्दै जाँदा ती सबै कथाका प्रमुख पात्र हुन् जस्तो लाग्छ । पाठकलाई लाग्छ, सदनको राजा उपन्यासको मुख्य हिरो होला तर होइन । लेखकले कथाको स्वरूप यस्तो बनाएका छन् कि त्यहाँका प्रत्येक कर्मचारी पो अग्र भागमा देखिन्छन्, उनीहरूको कथाले पो सांसारिक माया—मोहको परिभाषा बुझाउँछ पाठकलाई । महाभारत पढ्नुभएको छ ? ठ्याक्कै त्यस्तै प्रत्येक पात्रको बेजोड भूमिका छ यहाँ पनि । कुनै कुनै बेला त धृतराष्ट्र जस्तै निरिह लाग्छन् तेजस्विनी सदनका राजा मृदुल प्रभाकर काश्यप । विचरा साहित्यको मोहमा डुबेका राजाको एउटा कविता सम्म सुनिदिने कोही छैन । उफ् संसार ! उनी बारम्बार एकराजसँग एउटै कुरो दोहो¥याइरहन्छन् – मलाई तेजस्विनी सदनभित्रको जीवनबाट मुक्ति दिलाउन मद्दत गर । यहाँभित्र श्वास लिँदा मलाई चिसा दाउराबाट निस्केको धुँवामा बसेजस्तो उकुसमुकुस हुन्छ । मेरो आशा भनेकै दरबारभित्रको जीवनबाट मुक्ति पाउनु हो । राजा मृदुलमा दरबारको वैभवले छुँदैन, विषाद र पीडा लुकेको छ उनको जीवनमा ।

हेर्नोस् ! तेजस्विनी सदन पढेपछि मेरो सोचाइ फेरियो । मैले आजसम्म यो तरिकाबाट (लेखकको आँखाबाट) संसार हेर्न सकेकी रहिनछु । वास्तवमा संसार बुझ्न, जालझेल थाहा पाउन, स्वार्थ र राजनीतिको भाषालाई आफ्नो हृदयभित्र पुग्ने गरेर अन्तरघुलन गराउन सबैभन्दा पहिले यस्तै किताबहरू पढ्नुपर्ने रहेछ ।

कथा एकराज नाम गरेको एउटा सोझो गाउँले केटोबाट शुरु हुन्छ । एकराज नौ वर्षको हुँदा उसका आमा र बा दुवै गोलोक पुगिसकेका हुन्छन् । एक्लो एकराजलाई गाउँका दयालु पात्र सिद्घिभूषण लम्सालले नै हुर्काएका हुन्छन् । उनी समाजमा गोपी गुरु नामले प्रख्यात छन् । उनको पनि आफ्नै कथा छ — चौध वर्षे उमेरमा घर छोडेर हिँडेका उनी मन्दिर, धाम, देवालयका अनेक सङ्गतले कसरी कसरी वाराणसी पुगेर धेरै वर्ष बिताएपछि उनी असल गुरु महात्मा बनेर आफ्नै गाउँ— जन्मथलो फर्किएर आउँछन् ।  आइपुग्दा घरका मान्छेको अत्तोपत्तो थिएन अरे । त्यसै बखत आफ्नो नाम सिद्घिभूषण परित्याग गरेर गोपी नाम धारण गर्दै साधु भएका बुढा एकराजका एक्ला छिमेकी हुन् । तिनलाई मानिसहरूले गोपी गुरु भनेको सुन्दै आएको एकराजले पनि गोपी गुरु नै भनेर सम्बोधन गर्छ । हरेक दिन बिहान मान्छेहरू गुरुको आँगनमा आफ्नै आफ्नै परिबन्दका विषयमा सल्लाह र ज्ञान लिन आएका हुन्थे । ती मान्छेलाई छेउमा बसाएर बुढा बिहानभरि प्रश्नोत्तर र प्रवचन गर्दथे । तिनैका वरिपरि घुम्दै हुर्केको एकराजले सानै उमेरमा जीवन र जगतबारे धेरै ज्ञान प्राप्त गरिसकेको थियो । बाआमा बितेपछि गोठमा बाँधेका गाईवस्तु चराउन सधैँ जङ्गल जाने गथ्र्याे एकराज । जङ्गल नजिकै एउटा ठूलो पर्खाल थियो । पर्खाल पारिपट्टि निकै सुन्दर मचानहरू देखिन्थे । एकदिन सधैँजस्तै जङ्गलमा गाईहरू चरिरहेका थिए । ऊ भने रुखको फेदमा बसेर बाँसुरी फुकिरहेको थियो । पर्खालपारि मचानको बरन्डामा उभिएर आफैँतर्फ हेरिरहेकी एउटी सुन्दरी देख्यो उसले । बाँसुरीको मीठो धूनसँग मुग्ध भएकी थिइन् ती अप्सरा । यो धूनसँग उनी यति मोहित हुन्छिन्, एकोहोरो सङ्गीतप्रतिको उनको निष्ठाले उनलाई एउटा रहस्यमय लोकको दर्शन गराउँछ । यता एकराज भने प्रथम दृष्टिमै ती दिव्य सुन्दरीप्रतिको एकतर्फी प्रेममा घायल भएर आफैँसँग आत्मलापमा लीन भैरहन्छ । गाई चराउने त उसको नित्य कर्म थियो नै, अब त्यो रूपको दर्शन पाउँछु कि भन्ने एउटा झिनो आशा पनि जोडिन पुग्यो एकराजको मनमा । एकदुई पल्ट त टाढाबाट भएपनि बोल्ने मौका जुरेको थियो उसलाई । तिनै रूपसीको मोहमा परेर केटाले गाँउ छोड्यो । गाउँ छोडेपछिबाट सदनभित्र नपसुन्जेलसम्म त्यो सोझो केटो एकराजले कति पापड बेल्यो भन्ने रहस्य थाहा पाउनलाई तेजस्विनी सदन पुस्तकभित्र पाठक आफैँ एकपटक डुब्नुपर्छ ल !

अब कथा दरबारभित्र शुरु हुन्छ । एकराजले अब सरल बाटोलाई त्यागिसकेको थियो । गाईवस्तु विव्रmी गरेर फुक्काफाल भएको थियो केटो, यतिसम्म कि उसले आफ्नो एउटा प्रिय बाँसुरी पनि साथमा राख्न सकेन । अन्ततः उसले सदनभित्र घोडाको तबेलामा काम पायो । सदनका राजा मृदुल सज्जन र सरल स्वभावका पात्र हुन् । रानी तेजस्विनीको नाममा नै दरवारको नाम राखिएको हुन्छ, तेजस्विनी सदन भनेर । राजाको जीवनमा रानीको लोभ, षडयन्त्र र दमन छायाँझैँ अघिपछि दौडिरहन्छ । रानीलाई दरबार नजिकैको सिमानामा पर्ने छविलाल ब्राह्मणको डेढ कोष जमिन हत्याउने र आफ्नो सदनको क्षेत्रफल बढाउने इच्छा जाग्छ । राजाको एउटै मात्र भाइ हुन्छ शार्दूल दिवाकर काश्यप । ऊ चरित्रहीन, कामुक र निर्दयी पात्र हो । सदनभित्र चुपचाप लोग्नेको अत्याचार सहेर बसेकी शादूर्लकी पत्नी सुचित्राको कथा हाम्रो नेपाली समाजमा रहेका धेरै महिला दिदीबहिनीसँग मेल खान्छ । उनीजस्तै लोग्नेद्वारा अपमानित भएर जीवन बिताउने नारीहरू अझै यो समाजमा कति छन् कति । बाहिर अनेकौँ सम्बन्ध राखेर ऐशआरामको जीवन बिताउने शार्दूल जस्ता पात्रहरू पनि यो समाजमा नभएका कहाँ हुन् र । लेखकले नेपाली समाजमा घट्न सक्ने यस्तै कथाहरूलाई चित्ताकर्षक रूपमा प्रस्तुत गरेका छन् । यो उपन्यासमा महिलाको मनोविज्ञानलाई सही समयमा सही तरिकाले उतार्न सक्नु नै लेखकको सबल पक्ष हो । लेखकले जुझारु नारी पात्र सुचित्रालाई कथामा शुरुदेखि अन्त्यसम्म नै यति बोल्ड बनाएका छन् कि उनको अडिग स्वभावको अघि बदमास सार्दूल पनि हार खान्छ । दरबारभित्र छिर्ने समय पर्खिरहेकी सोझी घिसिङ्नी अनि ऊसँगको सम्बन्धबाट जन्मिएको शार्दूल पुत्र जस्तै अन्यायमा परेकाहरू कति होलान् हाम्रो समाजमा । जङ्गलबिच हुर्किरहेको एउटा कलिलो बिरुवा दरबारको सपना देख्दा देख्दै कुन बेला उखेलिन्छ थाहा छैन ।

सदनभित्र अर्को पनि एउटा बिर्सनै नसकिने पात्र छ सुकर्ण । तबेलाको हाकिम हो ऊ । सुकर्णको तबेलासम्म अनेक तिकडम र चाकरी गरेर आइपुगेको हुन्छ एकराज । घोडाको लिदी सोर्ने काम पाएको छ एकराजले । सानो टहरोमा अटाएका हुन्छन् शुकर्णका तीन जनाको परिवार । त्यही टहरोको एउटा कुनामा थपिन्छ एकराज पनि । सुकर्णको चरित्रचित्रण गजब गरेका छन् लेखकले । ऊ समलिङ्गी हुन्छ । उसको खराब आचरणका कारण एकराज डराउनु स्वभाविक हो, पाठक पनि त झस्कन्छन् उसको हर्कत थाहा पाएर ।

उपन्यासले सदनलाई वैभवको प्रतीकका रूपमा देखाउँछ तर अन्त्यमा कथा अर्कैतिर मोडिन्छ । राजा मृदुलले साधारण जीवन रोज्नु, शार्दूलको अनैतिकता र दम्भले निम्त्याएको पतन, तेजस्विनीको उग्र लालच, यी सबै पात्रलाई पाठकले नियाल्दा दरबारभित्र चमक भएपनि सुख कत्ति पनि भेटिँदैन । बाहिर साधारण जीवनमा दुःख भएपनि स्वतन्त्रता छ । लेखकले यी दुई संसारबिचको तुलना कुशलतापूर्वक गरेका छन् । लेखाइ बेजोड छ । बेलाबेलै गोपी गुरु, एकराज, राजा मृदुल र हजाम कलानिधिको दर्शनको गहिराइमा चुर्लुम्म डुब्छन् पाठक । पात्रहरूको संवादमा भावनाको तीव्रता छ, घटनाक्रम नाटकीय लागे पनि यथार्थसँग नजिक छ ।

युवा उपन्यासकार अतुल पोखरेलले उपन्यासका माध्यमबाट दिन खोजेको सन्देश— सत्ता र सम्पत्ति क्षणभङ्गुर हुन्छन् । जीवनको वास्तविक सुख भनेको प्रेम र स्वतन्त्रतामा हुन्छ । नारी पात्रहरू समाजको शोषण र उत्पीडनको प्रतीक हुन् तर उनीहरूले बिस्तारै विद्रोह र स्वतन्त्रताको बाटो पनि रोज्न थालेका छन् । खासमा भन्दा तेजस्विनी सदन उपन्यास दरबारभित्रको छलछाम, लोभ, षडयन्त्र र दमनको कथा हो । देखावटी ऐश्वर्यको संसार अन्ततः भत्किन्छ । मानवीय प्रेम र श्रममूलक जीवन मात्र स्थायी हुन्छ । राजा मृदुलले सत्ता त्यागेर सामान्य भन्दा पनि अति नै सामान्य जीवन रोज्नु, राजकुमारी सिमरिकाले सङ्गीतमय स्वतन्त्र संसार चिहाउनु, एकराजले जीवनको सही अर्थ बुझ्नु, सुचित्राको जीवनमा नयाँ किरण देखिनु यी सबै घटनाले उपन्यासको अन्त्य बडो रहस्यमय बनेको छ । सम्बन्ध के हो ? सन्तान के हो ? दुःख चाहिँ के हो ? यी तीनवटै प्रश्नको उत्तरका लागि लेखकले चन्द्रा नामकी एक्ली बुढीलाई उभ्याएका छन्, जसले आफ्नी एकमात्र जवान सुत्केरी छोरी लीलावती अनि भर्खरै न्वारन सकेर नामाकरण मात्र भएकी सात दिनकी नातिनी चित्रवदनालाई सदनभित्रको एउटा स्त्रीलम्पटले दाउराको चिर्पटले हानेर ठहरै पारेको देखेकी छे ।

अर्को एउटा पात्र छ गोपी गुरु जस्तै दार्शनिक हजाम कलानिधि । दोबाटोमा बसेर कपाल काट्ने काम गर्छ कलानिधि । उसका दुई छोरा छन् काम गर्न सक्ने उमेरका तर केही गर्दैनन् । मन लाग्यो भने कहिलेकाहीँ माछा मार्न जान्छन् नत्र आमाले पकाएको भात खाएर दिनभर सुतिरहन्छन् । एकराजले किन घर छोडेको त यहाँहरूलाई थाहै छ । तिनै सदनभित्रकी राजकुमारीको अदभूत सौन्दर्यमा परेपछि उनलाई आफ्नो बनाउने कोराकल्पनामा डुबेर उसले घर छोड्यो, गाउँ छोड्यो । मायाले उच–निच भन्दैन, धनी–गरिब भन्दैन । त्यसैले त होला क अक्षरसम्म नजानेको गाउँमा बस्ने दुःखी टुहुरो गोठालो एकराजले दरबारको सुख सयलमा हुर्किएकी राजकुमारीलाई सेतो घोडामा चढाएर भगाइ लैजाने सपना बुनेको । यसरी आफ्नो गोप्य मुकाम हासिल गर्नका लागि सदनमा कुनै काम पाइन्छ कि भनेर हिँड्दै जाँदा बाटोमा भेट भएको एउटा सज्जन पात्र हो कलानिधि । यो धेरै अघिको समयको कथा हो भनेर प्रमाणित गर्नलाई प्रसस्तै उदाहरण छोडेका छन् लेखकले जस्तै— कलानिधिसँग भएको ऐना । जीवनमा पहिलो पल्ट ऐना देख्छ उसले । यो कसरी प्राप्त भयो ? यस्तो माल कसरी बन्यो ? के यो पानी सुकाएर बनाउने हो ? भनेर अनेक प्रश्न गर्छ कलानिधिसँग एकराजले । उसको जिज्ञासु मनलाई जीवनको सारतत्व बुझाएर शान्त बनाउँछ कलानिधिले । कलानिधि भन्छ, यो ऐना त एउटा विम्ब मात्र हो । एउटा वस्तु हो – एउटा बहुमूल्य वस्तु । सही ऐना त तिम्रो आफ्नै छातीभित्र छ– त्यो अमूल्य छ । यो ऐनाले तिमीलाई तिम्रो छातीभित्रको ऐना हेर्न सम्झाउने मात्र हो । तिमी सदा त्यो ऐना हेर । यसरी लेखकले ऐनालाई विम्ब बनाएर यो सारा जगत्लाई चेतनाको बिज छरिदिएका छन् । साधारण अर्थ लगाउने हो भने आज ऐना नदेख्ने कोही होला त यो संसारमा ? कोही छैन । तर आफूभित्रको ऐना हेरेर आफैँलाई चिन्न धेरै कठिन छ । झन् यो आडम्बरयुक्त समाजले त हामीलाई कहिल्यै नपुगिने लोकमा लिएर दौडिरहेछ । यसरी म को हुँ वाला कलानिधि प्रसङ्गले पाठकलाई एक झिल्को जीवन दर्शन दिएर जान्छ ।

अर्को प्रसङ्ग छ घोडाको । उपन्यासमा चार घोडा छन् : पवनजित, अलङ्कार, त्रिशूल र देवदत्त । घोडाको नाम चयन पनि गजबकै छ । एकपल्ट किताब पढेपछि सधैँ मनमा हलचल मचाइरहन्छन, यी सुन्दर घोडाहरूले । स्मरण रहोस् आज हामी उड्ने कारको जमानामा छौँ । उबेला बाटोघाटोको सुबिधा नहुँदा घोडामा चढेर ओहोरदोहोर गर्ने, सामान ढुवानी गर्ने साधनस्रोतको नाममा तिनै घोडा मात्र थिए । त्यतिबेला विशेषगरी रइज परिवारसँग घोडाहरू हुन्थ्यो । यो उपन्यासमा योङ लेखक अतुलले घोडालाई विम्ब बनाएर कथाका पात्रलाई यताउता दौडाएको पढ्दापढ्दै पाठकले आफैँ घोडा दौडाउन थालेको पत्तै हुँदैन । कतिपय प्रसङ्गमा कतै मानदेवको पालाकै कथा त पढ्दै छुइन भनेर पाठक झुकिन्छन् । अब के होला भन्ने कौतुहलले गर्दा कथा पढ्न भने अल्छि चैँ पटक्कै लाग्दैन । पाठक तान्ने शुत्र पूरै कन्ठ गरेर लेखेका छन् लेखकले यो उपन्यास । लेखकले आफूलाई सायद मानदेवको लिच्छवीकालीन समयतिर पु¥याएर लेखेका छन् यो किताब । यहाँ क्रयविक्रयको नाममा अशर्फीको प्रसङ्ग छ । राजकुमारी सिमरिका स्कुल, कलेज कतै जान्नन् त्यसको मतलब छोरी स्कुल नजाने समयको कथा हो यो । किनभने राजा मृदुललाई लेख्न पढ्न आउँछ । दिनभर कथाकविता लेखिरहन्छन् उनी । त्यसकारण पनि छोरा मान्छेलाई पढाउने र छोरी मान्छेलाई नपढाउने युग भन्ने बुझिन्छ । लेखकले कथामा धेरै पछाडि फर्काएर आजको कथा लेख्नुको एउटै कारण आज पनि कतिपय समाज यस्तै अन्धकारमा रुमल्लिरहेको छ है भनेर देखाउन पनि हुन सक्छ ।

अन्तिमतिर सबैभन्दा दयनीय पात्र रानी तेजस्विनी बन्छिन् । दरबारमा सत्ता, सौन्दर्य र लोभले ग्रस्त उनी आफ्ना असफल षडयन्त्र, अधुरा इच्छाका जञ्जालमा हराएर नष्ट हुन्छिन् । यो दृश्यले पाठकलाई गहिरो पीडा दिन्छ, किनकी लोभ र घमण्डको अन्त्य सधैँ यस्तै हुन्छ । उता वृद्घ छविलाल ब्राह्मणको यो उमेरसम्म बिहे नगरी बस्नुको राज थाहा पाउँदा एकराज जस्तै पाठक पनि एकपल्ट जिल खान्छन् ।

एकराजले कथाको अन्त्यतिर अतितलाई स्मरण गर्न चाह्यो एकपल्टः आफ्ना चार गाईहरू र आफ्नो प्रिय बाँसुरी मिथिलेशलाई दिएर पाँच मोहोर चाँदीका सिक्का र दुई वटा हाँस हातमा बोकेको उसले सम्झिरह्यो, त्यो निख्खर कालो नाक चुच्चे अनुहार कलानिधि हजामको छोरा एवम् आफ्नी चिर अभिलसित प्रियतमाको अनुहार । हरेक मनुस्यका आफ्नै आफ्नै हिजो, आज र भोलि छन् । तसर्थ, यी सहस्र मनुष्यहरूका जीवनकालमा कसको हिजो कसको आजसँग टकराउँछ अनि कसको आज कसको भोलिसँग ठोक्किन्छ भनेर भन्न सकिँदैन रहेछ ।

यसरी जङ्गलदेखि शुरु भएको कथा दरबारसम्म पुग्छ र फेरि घुम्दै घुम्दै प्रकृतिकै हरियालीमा आएर मिसिन्छ । पुस्तकको यात्रा सकिए पनि त्यसले मनमा छोड्ने प्रभाव दीर्घकालीन हुन्छ । तेजस्विनी सदन त्यही प्रकारको कृति हो—जहाँ शब्दहरूभन्दा पनि अनुभूति बलियो भएर आउँछ । उक्त उपन्यासलाई मैले अतुल पोखरेलको पहिलो उपन्यास भनेर सोचेकी थिएँ— तर भाषा, विचार र संरचनाले अनुभवी कलमको अनुभूति गरायो । लेखकको आगामी यात्रामा अझ नयाँ र सशक्त कृतिहरू देख्न पाउँ भन्ने शुभकामना व्यक्त गर्दै, म यो समीक्षा टुंग्याउन चाहन्छु ।

यो लेख हामीले साहित्य पोस्ट बाट लिएका हौँ 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई suchanakohak753@gmail.com मा पठाउनु होला । धन्यवाद ।