१. पोखराको प्राकृतिक सौन्दर्य र डाँडाहरूको आफ्नै व्यक्तित्व
जब म पोखराको कुनै अग्लो डाँडामा बसेर यो सहरलाई एकै नजरमा हेर्छु नि, मलाई लाग्छ—यो कुनै चाँदीको थाली हो, जसमा प्रकृतिले अनेकौँ परिकारहरू सजाएर राखिदिएको छ। कतै नीलो फेवाताल, कतै हरिया डाँडाकाँडा, कतै बस्तीका रङ्गीचङ्गी दृश्य त कतै शिरमा सेताम्मे हिउँको मुकुट पहिरिएका हिमाल। लाग्छ, प्रकृतिले आफ्नो सम्पूर्ण सौन्दर्य यही एउटै थालीमा पस्किएर पोखरालाई उपहार दिएको छ।
मलाई लाग्छ, पोखरा उपत्यका प्रकृतिले मानव जातिलाई आफ्नो काखमा राखेर हुर्काउन र रमाउन सृष्टि गरेको एउटा अनुपम स्थल हो। मानौँ, प्रकृतिको अतुलनीय सौन्दर्यबीच मानव जातिलाई सुरक्षित राख्न चारैतिर अग्ला पहाड र हिमालहरूलाई पहरेदार बनाएर उभ्याइएको छ।
पोखराको वरिपरि रहेका डाँडाहरूमध्ये मलाई काहुँडाँडा, सराङकोट र निर्मलपोखरीका डाँडाहरू निकै मन पर्छन्। यी डाँडाहरूलाई हेर्दा मलाई तिनको भौगोलिक बनावट मात्र होइन, आ–आफ्नै व्यक्तित्व र स्वभाव पनि झल्किएजस्तो लाग्छ।
सराङकोट डाँडालाई जब म हेर्छु नि, त्यसको ठाडो र शिर उठाएर उभिएको उचाइ देख्दा लाग्छ, उसले सगर्व भनिरहेको छ—“I am the best!” मानौँ, आफ्नो अग्लोपन र व्यक्तित्वप्रति उसलाई बेग्लै गर्व छ।

तर निर्मलपोखरीको डाँडालाई हेर्दा मेरो मनमा अर्कै अनुभूति जाग्छ। मलाई त्यो डाँडा आमाको काखको तल्लो भागजस्तै लाग्छ, जहाँ टाउको राखेर निश्चिन्त भई आराम गर्न सकिन्छ।
अझ, जब म काहुँडाँडालाई एकोहोरो हेरिरहन्छु नि, लाग्छ, मानौँ कसैले पोखरा सहरको शिरमा एउटा सुन्दर मुकुट पहिराइदिएको छ। काहुँडाँडा त्यही मुकुटजस्तो देखिन्छ, जसले पोखराको सौन्दर्यलाई अझ विशिष्ट बनाएको छ।
यी डाँडाहरूलाई हेर्दा मेरो मनमा एउटा प्रश्न उठ्छ—प्रकृतिले यति सुन्दर बनाइदिएका यी भूगोललाई हामीले कसरी व्यवस्थित गर्ने? कसरी यिनको मौलिकता जोगाउने र प्राकृतिक सौन्दर्यलाई आधुनिक विकाससँग जोडेर भावी पुस्ताका लागि अझ आकर्षक बनाउन सकिन्छ?
२. प्राकृतिक सम्पदाको बजारीकरण र विकासको सम्भावना
यस सन्दर्भमा केही समयअघि मेरा भाइ राजन पराजुली (नेकपा केन्द्रीय सदस्य तथा विद्यार्थी नेता) सँग कुराकानी गर्ने क्रममा उहाँले थाइल्यान्डको एउटा रोचक प्रसङ्ग सुनाउनुभयो। थाइल्यान्डले एउटै समुद्रका विभिन्न किनारलाई फरक–फरक विशेषतासहित बजारीकरण गरेर छुट्टाछुट्टै पर्यटकीय गन्तव्यका रूपमा विकास गरेको प्रसङ्गले मलाई निकै सोच्न बाध्य बनायो।
एउटै समुद्रलाई फरक–फरक किनारबाट फरक विशेषतासहित प्रस्तुत गरेर त्यसको व्यावसायिक लाभ लिन सकिने रहेछ। त्यसैगरी, बुद्ध नेपालमा जन्मिए पनि बुद्धको नाम र मूर्तिको व्यापारबाट अन्य देशले राम्रो आर्थिक लाभ लिइरहेका छन्।
हामीसँग प्राकृतिक सम्पदा छन्, सांस्कृतिक सम्पदा छन्, मौलिक पहिचान छन्। तर के हामीले तिनको उचित पहिचान र बजारीकरण गर्न सकेका छौँ त?
पोखराका डाँडाहरूलाई पनि तिनको आफ्नै विशेषताअनुसार फरक–फरक पहिचान दिएर विकास गर्न सकिँदैन र? सराङकोट, निर्मलपोखरी र काहुँडाँडालाई एउटै ढाँचामा विकास गर्नुभन्दा तिनको भूगोल, प्राकृतिक सौन्दर्य र मौलिकताअनुसार छुट्टाछुट्टै पहिचान दिन सकियो भने पोखराको पर्यटनले नयाँ उचाइ लिन सक्छ।
नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समेत पोखरा र आसपासका क्षेत्रको एकीकृत पर्यटन विकाससम्बन्धी योजना तयार गरेको छ। यसले पनि पोखराको पर्यटनलाई छरिएर रहेका सम्भावनाहरूको एकीकृत उपयोगमार्फत अगाडि बढाउनुपर्ने आवश्यकतालाई देखाउँछ।
३. पोखराको विकास र पहाडी क्षेत्रको सम्भावना
पोखराको विकासलाई हेर्दा अधिकांश विकासका गतिविधि समथर भूभागमा केन्द्रित भएको देखिन्छ। पहाडी क्षेत्रको विकास भने सडक निर्माणमै सीमित भएको जस्तो लाग्छ। के पहाडको विकास भनेको सडक बनाउनु मात्र हो?
निर्मलपोखरी क्षेत्रमा सञ्चालित बृहत् भरतपोखरी–निर्मलपोखरी–कृष्ती खानेपानी आयोजना निश्चय नै महत्त्वपूर्ण आयोजना हो। तर त्यहाँको विकासलाई खानेपानी र सडकमा मात्र सीमित राख्नु हुँदैन। त्यहाँको प्राकृतिक सौन्दर्य, पर्यटन, स्थानीय संस्कृति र सम्भावनालाई पनि विकासको मूलधारमा जोड्न आवश्यक छ।
म तत्कालीन पोखरा महानगरपालिकाको नेकपा (एकीकृत समाजवादी) महानगर कमिटी अध्यक्षको जिम्मेवारीमा रहँदा पोखराका वरिपरिका पहाडी क्षेत्रलाई समेटेर ‘पोखरा अपर स्याटेलाइट सिटी’का रूपमा विकास गर्ने अवधारणा अघि सारेको थिएँ। यसै विषयमा तत्कालीन महानगर प्रमुख धनराज आचार्य र उपप्रमुख मञ्जुदेवी गुरुङसमक्ष ज्ञापनपत्रसमेत बुझाइएको थियो।
त्यतिबेला हाम्रो परिकल्पनामा काहुँडाँडालाई ‘टप रूफ सिटी’ अर्थात् पोखराको शिरमा रहेको सहरका रूपमा विकास गर्ने र लेखनाथ क्षेत्रलाई ‘न्यू पोखरा’का रूपमा छुट्टै पहिचान दिने सोच थियो। यी क्षेत्रको भौगोलिक अवस्था र सम्भावनाअनुसार छुट्टाछुट्टै गुरुयोजना बनाएर विकास गर्न सकिन्छ भन्ने मेरो धारणा थियो।
यस अवधारणालाई हामीले सोचमा मात्र सीमित राखेका थिएनौँ। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), पोखरा महानगर कमिटीको तर्फबाट मिति २०८२ जेठ ६ गते पोखरा महानगरपालिकाका प्रमुखसमक्ष प्रस्तुत गरिएको मागपत्रको १२औँ बुँदामा समेत स्पष्ट रूपमा उल्लेख गरिएको छ— ‘काहुँडाँडालाई Top Roof City को अवधारणा बनाई सोहीअनुसारका योजना अगाडि सार्नुपर्ने।’
यसले काहुँडाँडालाई पोखराको शिरमा रहेको मौलिक पहाडी सहरका रूपमा विकास गर्ने सोच औपचारिक रूपमा महानगरपालिकासमक्ष प्रस्तुत गरिएको विकास प्रस्ताव थियो भन्ने देखाउँछ।

४. विकासको नक्कल होइन, मौलिकताको संरक्षण
हामीकहाँ विकासको नाममा अरूले गरेका कामको नक्कल गर्ने प्रवृत्ति पनि देखिन्छ। कुनै ठाउँमा भ्यू टावर बनेको छ भने अर्को ठाउँमा पनि भ्यू टावर बनाउनुपर्ने, कुनै ठाउँमा ठूलो मूर्ति राखिएको छ भने अर्को ठाउँमा पनि त्यस्तै संरचना बनाउनुपर्ने सोचबाट हामी मुक्त हुनुपर्छ।
पुम्दीकोटमा शिवमूर्ति निर्माणपछि प्राप्त सफलतालाई हेरेर सराङकोटमा पञ्चमुखी गणेशको मूर्ति स्थापना गरिएको जस्तो देखिन्छ। सराङकोटका संरचना गलत हुन् भन्ने मेरो आशय होइन। तर एउटा ठाउँमा सफल भएको संरचना अर्को ठाउँमा पनि त्यत्तिकै उपयुक्त हुन्छ भन्ने छैन। जस्तै, मनकामनाको केबलकार सफल भए पनि अन्य ठाउँमा निर्माण गरिएका केबलकारले त्यस्तै सफलता पाउन सकेका छैनन्।
विकास भनेको नक्कल होइन, सिर्जनात्मकता हो। विकास गर्दा त्यस ठाउँको भूगोल, प्राकृतिक स्वरूप, इतिहास, संस्कृति र स्थानीय आवश्यकतालाई बुझ्नुपर्छ। ठाउँअनुसार विकासको स्वरूप फरक हुनुपर्छ। एउटै ढाँचामा सबै ठाउँलाई विकास गर्न खोज्दा तिनको मौलिक पहिचान हराउन सक्छ।
त्यसैले काहुँडाँडाको विकास गर्दा पनि अरू ठाउँको नक्कल होइन, काहुँडाँडाकै आफ्नै पहिचान र विशेषतालाई केन्द्रमा राख्नुपर्छ।
५. काहुँडाँडामा १५ मिनेटको सहरको अवधारणा
हुन त काहुँडाँडा अहिले ट्राफिक समस्या भएको क्षेत्र होइन। तर पनि १५ मिनेटको सहरको अवधारणालाई यहाँ अत्याधुनिक सहरका रूपमा भन्दा पनि परम्परागत नेपाली वास्तुकला र संस्कृतिमा आधारित एउटा मौलिक सांस्कृतिक सहरका रूपमा विकास गर्न सकिन्छ।
अब प्रश्न उठ्छ—काहुँडाँडालाई कस्तो सहरका रूपमा विकास गर्ने?
मेरो विचारमा काहुँडाँडालाई केवल पोखरा हेर्ने एउटा पर्यटकीय दृश्यावलोकन स्थलका रूपमा मात्र सीमित राख्नु हुँदैन। यसलाई व्यवस्थित, जीवन्त र मौलिक पहिचान बोकेको आधुनिक पहाडी बस्तीका रूपमा विकास गर्नुपर्छ। यसका लागि विश्वमा चर्चामा रहेको ‘१५ मिनेटको सहर’को अवधारणालाई काहुँडाँडाको भूगोल र आवश्यकताअनुसार प्रयोग गर्न सकिन्छ।
आज पोखराजस्तो डाँडाकाँडा समेटिएर बनेको महानगरमा त झन् यो योजनाले धेरै राम्रो काम गर्न सक्छ। मानिसले दैनिक आवश्यकताका लागि लामो दूरी यात्रा गर्नुपर्ने बाध्यता घटाउन सकिन्छ। यसले मानिसको समय र खर्च बचत गर्नुका साथै विद्यालय बसको लामो यात्राका क्रममा बारम्बार भइरहने दुर्घटनाको जोखिमसमेत कम गर्न सहयोग पुर्याउन सक्छ।
आधुनिक सहरहरूमा अहिले ट्राफिक जाम, वायु प्रदूषण र दैनिक सामान्य आवश्यकताका लागि पनि लामो दूरी यात्रा गर्नुपर्ने समस्या बढ्दै गएको छ। मानिसको धेरै समय सडक र यात्रामै बितिरहेको छ। यही समस्यालाई कम गर्दै मानिसको जीवन सहज, स्वस्थ र गुणस्तरीय बनाउने उद्देश्यले १५ मिनेटको सहरको अवधारणा अघि सारिएको हो ।
यस अवधारणालाई फ्रान्सेली–कोलम्बियाली वैज्ञानिक तथा सहरी योजनाकार कार्लोस मोरेनोले सन् २०१६ मा अघि सारेका थिए। उनले आधुनिक सहरमा मानिसहरू विद्यालय, कार्यालय, अस्पताल र बजार पुग्न घण्टौँ यात्रा गर्नुपर्ने अवस्थालाई नजिकबाट अध्ययन गरेका थिए। यसले ट्राफिक जाम, इन्धन खर्च र प्रदूषण बढाइरहेको थियो। सहरमा अनावश्यक यात्रा घटाउन सके कार्बन उत्सर्जन पनि कम गर्न सकिन्छ भन्ने उनको सोच थियो।
सन् २०२१ मा कार्लोस मोरेनोसहितका अनुसन्धानकर्ताहरूले Introducing the “15-Minute City”: Sustainability, Resilience and Place Identity in Future Post-Pandemic Cities शीर्षकमा अनुसन्धानपत्र प्रकाशित गरे। उक्त अनुसन्धानपत्रले १५ मिनेटको सहरलाई दिगो, समावेशी र मानवकेन्द्रित सहरी विकासको अवधारणाका रूपमा व्याख्या गरेको छ।
यस अवधारणालाई पेरिसकी तत्कालीन मेयर आन हिडाल्गोले आफ्नो सहर विकासको नीतिमा प्राथमिकता दिइन्। पछि कोरोना महामारी विश्वभर फैलिँदा मानिसहरूले घरनजिकै खाद्यान्न, स्वास्थ्य सेवा र अन्य आधारभूत सुविधा उपलब्ध हुनुको महत्त्व अझ बढी महसुस गरे। त्यसपछि १५ मिनेटको सहरको अवधारणाले विश्वव्यापी चर्चा पायो।
यस अवधारणाको मूल मर्म भनेको मानिसले आफ्नो दैनिक जीवनका अधिकांश आवश्यकता पैदल हिँडेर वा साइकल चलाएर करिब १५ मिनेटभित्रै पूरा गर्न सक्ने वातावरण निर्माण गर्नु हो।
जस्तैः
१. शिक्षा – विद्यालय तथा कलेज।
२. स्वास्थ्य – अस्पताल, स्वास्थ्य चौकी तथा औषधि पसल।
३. व्यापार – बजार, किराना पसल तथा सपिङ क्षेत्र।
४. रोजगारी – कार्यालय तथा व्यावसायिक क्षेत्र।
५. मनोरञ्जन – पार्क, खेलमैदान तथा सांस्कृतिक केन्द्र।
६. यातायात – सार्वजनिक यातायात, साइकल लेन र पैदलमार्ग।
अब यही अवधारणालाई काहुँडाँडाको भौगोलिक बनावट र स्थानीय आवश्यकताअनुसार विकास गर्न सकिन्छ। यहाँ पनि मानिसले सामान्य दैनिक आवश्यकताका लागि टाढा जानुपर्ने अवस्था नहोस्। व्यवस्थित बस्ती, स्थानीय बजार, स्वास्थ्य सेवा, शिक्षा, खुला क्षेत्र र हरियालीलाई एकीकृत रूपमा विकास गर्न सकिन्छ।
१५ मिनेटको सहर र स्वतन्त्र आवागमनको प्रश्न
तर १५ मिनेटको सहरको अवधारणामाथि केही आलोचना र आशङ्काहरू पनि व्यक्त हुने गरेका छन्। कतिपय आलोचकहरूले यस अवधारणाले मानिसलाई निश्चित क्षेत्रभित्र सीमित राख्ने र खुला ठाउँमा जेलमा राखेजस्तो अवस्था सिर्जना गर्न सक्ने तर्क गर्छन्। मानिसको स्वतन्त्र आवागमनमाथि नियन्त्रण हुन सक्ने आशङ्का पनि व्यक्त गरिन्छ।
यस्ता आलोचनालाई पनि बेवास्ता गर्नु हुँदैन। तर १५ मिनेटको सहरको मूल अवधारणा मानिसलाई १५ मिनेटभन्दा टाढा जान रोक्नु वा निश्चित क्षेत्रभित्र थुन्नु होइन। बरु मानिसले दैनिक जीवनका आवश्यकताहरू पूरा गर्न अनावश्यक रूपमा लामो दूरी यात्रा गर्नुपर्ने बाध्यता हटाउनु हो। यो मानिसको स्वतन्त्र आवागमन सीमित गर्ने होइन, जीवनलाई सहज बनाउने अवधारणा हो।
मेरो बुझाइमा विकासका नाममा मानिसको स्वतन्त्रता खुम्चिनु हुँदैन। मानिसले चाहेको ठाउँमा स्वतन्त्र रूपमा आवतजावत गर्न पाउनुपर्छ। काहुँडाँडाको सन्दर्भमा पनि यसलाई कुनै बन्द संरचना वा सीमित बस्तीका रूपमा होइन, मानिसले स्वतन्त्र रूपमा जीवन बिताउन पाउने, तर आफ्ना दैनिक आवश्यकताहरू नजिकै पूरा गर्न सक्ने खुला, व्यवस्थित र जीवन्त पहाडी सहरका रूपमा विकास गर्नुपर्छ।
६. परम्परागत नेपाली वास्तुकला र सांस्कृतिक बस्ती
एकपटक म मेरा मित्र नेत्रलाल भण्डारी (पोखरा–१७, महतगौंडा) सँग चिया खाँदै बसेको थिएँ। कुरैकुरामा उहाँले आफ्नो एउटा रोचक कुरा सुनाउनुभयो। उहाँ हरेक वर्ष एउटा रूख रोप्ने गर्नुहुँदो रहेछ। अझ, यस वर्ष त उहाँको निकै प्यारो पाल्तु कुकुरको मृत्यु भएछ। त्यसपछि उहाँले उक्त कुकुरको दाहसंस्कार गरी गाडेको ठाउँमा अम्बाको बिरुवा रोप्नुभएछ।
यो प्रसङ्गले मलाई एउटा कुरा सोच्न बाध्य बनायो—आफ्नो ठाउँको विकास र पर्यावरण संरक्षणका लागि हामीले ठूलो योजना वा सरकारी बजेट नै कुर्नुपर्दैन। कहिलेकाहीँ चुपचाप एक्लै गरेको सानो सुरुवातले पनि ठूलो अर्थ राख्न सक्छ। त्यसैगरी, काहुँडाँडाको विकास र वातावरण संरक्षणमा पनि प्रत्येक व्यक्तिले आ–आफ्नो ठाउँबाट योगदान दिन सक्छन्।
काहुँडाँडालाई पोखरा महानगरपालिकाले केन्द्र वा प्रदेश सरकारको मुख ताक्नुभन्दा आफ्नै स्रोत, साधन र योजनाबाट नेपाली मौलिक वास्तुकला तथा सांस्कृतिक पहिचानलाई महत्त्व दिँदै आधुनिक सांस्कृतिक सहरका रूपमा विकास गर्न सक्छ। नेपाली वास्तुकला र संस्कृतिलाई आत्मसात् गर्दै १५ मिनेटको सहरको अवधारणामा आधारित एउटा मौलिक पहाडी सहरका रूपमा यसको विकास गर्न सकिन्छ।
हाम्रा परम्परागत घरहरूमा ढुङ्गा, माटो र काठको प्रयोग गरेर निर्माण गरिने घरहरूको आफ्नै सौन्दर्य र मौलिकता छ। आधुनिक सुविधाहरूलाई समेट्दै यस्तै नेपाली शैलीका घरहरूको डिजाइन र निर्माण गर्न सकियो भने काहुँडाँडाले छुट्टै पहिचान बनाउन सक्छ।
यसका लागि महानगरपालिकाले स्थानीयलाई प्रोत्साहन गर्न निर्माण अनुदान, सम्पत्ति करमा छुट तथा प्राविधिक सहयोग उपलब्ध गराउन सक्छ। परम्परागत वास्तुकलालाई आधुनिक सुविधासँग जोडेर नमुना बस्ती निर्माण गर्न सकिन्छ।
महेन्द्रपुलमा नगरप्रमुख धनराजज्यूको पहलमा विश्वका विभिन्न देशका झण्डाहरू समेटिएको जीवित संग्रहालय बनाउने काम गरिएको छ। यसले एउटा फरक पहिचान निर्माण गर्ने प्रयास गरेको छ। त्यसैगरी, काहुँडाँडामा नेपालको विविधता झल्किने सांस्कृतिक बस्ती निर्माण गर्न किन नसकिने?
नेपालका विभिन्न जातजाति, भाषा, धर्म, संस्कृति, रहनसहन, खानपान र वास्तुकलालाई एउटै स्थानमा झल्काउन सकिन्छ। यसले आन्तरिक तथा बाह्य पर्यटकलाई नेपालको मौलिक सांस्कृतिक विविधता बुझ्ने अवसर दिन सक्छ।
यसरी काहुँडाँडालाई केवल पर्यटक आएर पोखरा हेर्ने ठाउँका रूपमा होइन, नेपाली मौलिकता र आधुनिक जीवनशैलीको अनुभव गर्न सकिने एउटा विशिष्ट गन्तव्यका रूपमा विकास गर्न सकिन्छ।
७. मेरो परिकल्पना : पोखराको शिर, पोखराको मुकुट
मेरो परिकल्पना एउटा यस्तो सहरको हो, जुन विश्वका सबैभन्दा सुन्दर सहरहरूमध्येको पोखरा सहरको शिर अर्थात् काहुँडाँडा हो। परम्परागत नेपाली वास्तुकलाले सजिएको, नेपालभरिका संस्कृति झल्किने एउटा आधुनिक गाउँ।
जब यहाँको बिहान सूर्यका सुनौला किरणसँगै चम्किनेछ, तब संसारले भन्नेछ—
“उः हेर, पोखराको शिर, पोखराको मुकुट!”
र यहाँ पुग्ने हरेक नेपालीले गर्वका साथ भन्नेछ—
“उः हेर, म पनि त्यहाँ छु!”
लेखक पोखरा निबासी नेकपाको नेता हुनुहुन्छ र पोखराको बिकासको लागि के के गर्न सकिन्छ भन्ने बिषयमा उहाले निरन्तर कलम चलाइरहनुभएको छ