अमेरिकी इतिहासमा पहिलोपटक बहालवाला राष्ट्रपतिको हस्ताक्षर कागजी नोट (डलर) मा छापिने भएको छ। अमेरिकी ट्रेजरी डिपार्टमेन्टले बिहीबार गरेको घोषणा अनुसार आगामी गृष्म ऋतुदेखि राष्ट्रपति डोनाल्ड ट्रम्पको हस्ताक्षर अंकित मुद्रा प्रचलनमा आउनेछ।
अमेरिकी स्वतन्त्रताको २५०औँ वार्षिकोत्सवको अवसर पारेर ल्याउन लागिएको यो नयाँ डिजाइनका नोटहरूले विगत १६५ वर्षदेखि चल्दै आएको एउटा लामो प्रशासनिक परम्परालाई पनि अन्त्य गरिदिएको छ। सन् १८६१ देखि अमेरिकी सङ्घीय मुद्रामा ट्रेजररको हस्ताक्षर अनिवार्य रहँदै आएको थियो। तर अबदेखि ट्रेजररको हस्ताक्षर हटाइनेछ र त्यसको सट्टामा राष्ट्रपतिको हस्ताक्षर रहनेछ।
ट्रेजररले ट्रेजरी सचिवको मातहतमा रही ब्यूरो अफ एनग्रेभिङ एन्ड प्रिन्टिङ र अमेरिकी टकमारी (मिन्ट) जस्ता विभागहरूको रेखदेख गर्ने गर्छन्। आगामी जुन महिनादेखि राष्ट्रपति ट्रम्प र ट्रेजरी सचिव स्कट बेसेन्टको हस्ताक्षर भएका १०० डलरका नोटहरू छापिनेछन् र त्यसको केही हप्तापछि अन्य दरका नोटहरू बजारमा आउनेछन्। हालसम्म पूर्व राष्ट्रपति जो बाइडेनको पालाका ट्रेजरी सचिव जेनेट येलेन र पूर्व ट्रेजरर लिन मालेर्बाको हस्ताक्षर भएका नोटहरू उत्पादन भइरहेका छन्।
यो परिवर्तनलाई ट्रम्प प्रशासनले आफ्ना उपलब्धिहरूलाई संस्थागत गर्ने रणनीतिका रूपमा लिएको छ। ट्रम्पले आफ्नो कार्यकालमा विभिन्न भवन, सरकारी कार्यक्रम, युद्धपोत र सिक्काहरूमा आफ्नो नाम जोड्ने प्रयासलाई तीव्रता दिँदै आएका छन्।
गत हप्ता मात्रै ट्रम्पले नियुक्त गरेका सदस्यहरू सम्मिलित एक कला प्यानलले ट्रम्पको तस्विर अंकित सुनको सिक्काको डिजाइनलाई स्वीकृति दिएको थियो। यद्यपि, जीवित व्यक्तिको तस्विर सिक्कामा छाप्न नपाइने कानुनी प्रावधानका कारण नियमित प्रचलनमा रहने १ डलरको सिक्कामा भने ट्रम्पको तस्विर राख्न सकिएको छैन।
ट्रेजरी सचिव स्कट बेसेन्टले एक विज्ञप्ति जारी गर्दै ट्रम्पको दोस्रो कार्यकालमा भएको आर्थिक वृद्धि र वित्तीय स्थायित्वलाई कदर गर्न डलरमा राष्ट्रपतिको हस्ताक्षर राख्नु उपयुक्त हुने दाबी गरेका छन्। उनले अमेरिकी स्वतन्त्रताको २५०औँ वर्षगाँठ मनाउँदै गर्दा देशका ऐतिहासिक उपलब्धि र ट्रम्पको नाम डलरमा अंकित हुनुभन्दा शक्तिशाली सम्मान अरू हुन नसक्ने उल्लेख गरे।
यस्तै, वर्तमान ट्रेजरर ब्रान्डन बिचले पनि ट्रम्पलाई ‘स्वर्ण युगको आर्थिक पुनरुत्थानको वास्तुकार’ भन्दै यो कदमको समर्थन गरेका छन्।
कानुनी रूपमा अमेरिकी ट्रेजरीलाई नोटको डिजाइन परिवर्तन गर्ने व्यापक अधिकार छ, विशेष गरी जाली नोट रोक्नका लागि यस्तो गरिन्छ। तर कानुनले ‘इन गड वि ट्रस्ट’ जस्ता शब्दहरू हटाउन दिँदैन र केवल दिवंगत व्यक्तिहरूको मात्र तस्विर राख्न अनुमति दिन्छ।
त्यसैले डलरको समग्र स्वरूपमा परिवर्तन नगरी केवल ट्रेजररको हस्ताक्षर हटाएर ट्रम्पको हस्ताक्षर थपिने अधिकारीहरूले स्पष्ट पारेका छन्। १६५ वर्षदेखि चल्दै आएको परम्परा अन्त्य गरी आफ्नो हस्ताक्षर मुद्रामा राख्ने ट्रम्प पहिलो अमेरिकी राष्ट्रपति बन्ने निश्चित भएको छ।