नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले भारतीय इन्फ्लुएन्सर, भ्लगर र पोडकास्टरहरूलाई नेपालको परिचय भ्रमण (फ्यामिलियराइजेसन ट्रिप) गराउने भन्दै आवेदन आह्वान गरेको छ ।
राजदूतावासले आज २० मेमा जारी गरेको सूचनामा पाँच जना भारतीय डिजिटल सामग्री निर्माताहरू छनोट गरी नेपाल भ्रमण गराइने उल्लेख छ ।
यस भ्रमणको मुख्य उद्देश्य नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, आध्यात्मिक स्थल र विविध पर्यटकीय सम्भावनाहरू भारतीय बजारमा डिजिटल माध्यमबाट प्रवर्द्धन गर्नु रहेको छ ।
को–कोले गर्न सक्छन् आवेदन ?
भारतीय नागरिक वा भारतमा बसोबास गर्ने डिजिटल सामग्री निर्माताहरूले यस अवसरका लागि आवेदन दिन सक्नेछन् । युट्युब, इन्स्टाग्राम, फेसबुक, एक्स लगायत डिजिटल प्लेटफर्ममा सक्रिय उपस्थिति भएका र भ्रमण, संस्कृति, आध्यात्म, खाद्य, साहसिक वा पर्यटनसम्बन्धी सामग्री बनाउनेहरू यस कार्यक्रमका लागि योग्य हुनेछन् ।
राजदूतावासले उच्च गुणस्तरीय भिडिओ, रिल, पोस्ट र भ्लग बनाउन सक्षम तथा जिम्मेवार पर्यटन र सांस्कृतिक संवेदनशीलताप्रति सचेत उम्मेदवारलाई प्राथमिकता दिने जनाएको छ ।
छनोट प्रक्रिया
आवेदकको छनोट सामग्रीको सान्दर्भिकता, दर्शक पहुँच तथा संलग्नता, सिर्जनशीलता, कथाकथन क्षमता र अंग्रेजी, हिन्दी वा क्षेत्रीय भारतीय भाषामा दर्शकसँग प्रभावकारी संवाद गर्ने दक्षताका आधारमा गरिने सूचनामा उल्लेख छ ।
छनोट भएपछि के गर्नुपर्छ ?
छनोट भएका सहभागीहरूले नेपाल भ्रमणपश्चात् भ्रमण भ्लग, रिल, सर्ट्स, स्टोरी, पोडकास्ट वा पोस्टहरू तयार पारी प्रकाशित गर्नुपर्ने छ । साथै भारतीय पर्यटकलाई नेपाल भ्रमण गर्न प्रोत्साहन गर्ने कम्तीमा एउटा प्रशंसापत्र समेत तयार गर्नुपर्ने छ । राजदूतावास र साझेदार संस्थाहरूले उचित श्रेयसहित यस्ता सामग्री पुन: साझा गर्न सक्नेछन् ।
कहाँ र कहिलेसम्म आवेदन ?
इच्छुकहरूले आफ्नो पूरा नाम, राष्ट्रियता, सम्पर्क विवरण, सामाजिक सञ्जाल ह्यान्डल, अनुयायी संख्या, पूर्ववर्ती कार्यका नमूना, भ्रमणमा रुचिको कारण र प्रस्तावित सामग्री विचारहरू समावेश गरी ३० मे २०२६ भित्र eonnewdelhi@mofa.gov.np मा इमेल पठाउन सक्नेछन् ।
इमेलको प्रतिलिपि econepemb@gmail.com मा पठाउनुपर्ने छ भने विषयमा ‘Application for Nepal Familiarization Trip for Influencers’ उल्लेख गर्नु पर्नेछ ।
भ्रमणको मार्गचित्र, मिति र अन्य विवरण छनोट भएका सहभागीहरूलाई पछि जानकारी गराइने राजदूतावासले सूचनामा उल्लेख गरेको छ ।

