कर्णाली प्रदेश सरकारले बेवारिसे, असहाय तथा विपन्न बिरामीहरूलाई यातायात खर्च उपलब्ध गराउने घोषणा


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

  ‘जसको कोही हुँदैन, उसका लागि सरकार छ’ भन्ने नारालाई कर्णाली प्रदेश सरकारले सार्थक बनाउने प्रयास गरेको छ । विकट भूगोल र आर्थिक विपन्नताका कारण उपचारका लागि अस्पताल पुग्न वा उपचारपछि घर फर्कन नसक्ने नागरिकका लागि सरकारले सहारा दिने भएको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले अबदेखि बेवारिसे, असहाय तथा विपन्न बिरामीहरूलाई यातायात खर्च उपलब्ध गराउने घोषणा गरेको हो ।

यसका लागि सम्बन्धित वडाको सिफारिस वा उपचार गरिएको अस्पतालले बेवारिसे, असहाय, विपन्न, यातायात खर्चको अभावले अस्पताल पुग्न वा अस्पतालबाट घर जान नसक्ने बिरामी सिफारिस गरेको हुनुपर्ने सर्त छ । यस्तो सिफारिससहित मन्त्रालयमा निवेदन गरेबमोजिम भौगोलिक दुरीको आधारमा ५ हजार रुपैयाँदेखि २० हजार रुपैयाँसम्म यातायात खर्च उपलब्ध गराइने सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले बताए ।

आर्थिक अभावले अस्पतालको यात्रा तय गर्न नसक्ने वा उपचारपछि घर फर्कने पैसा नभएर अलपत्र पर्नेहरूको पीडालाई सरकारले सम्बोधन गरेको मन्त्री भण्डारीको भनाइ छ ।‘आर्थिक अवस्था कमजोर भएकै कारण कुनै पनि नागरिकले स्वास्थ्य सेवाबाट वञ्चित हुनु नपरोस् भन्ने हाम्रो प्रतिबद्धता हो,’ उनले भने, ‘यो सुविधाले दुर्गमका गरिब जनतालाई ठुलो सहयोग पुग्ने अपेक्षा गरिएको छ ।’

उपचारका क्रममा मृत्यु भई आर्थिक अभावमा धार्मिक संस्कार गर्न नसक्ने नागरिकका लागि शववाहन बापतको रकम पनि मन्त्रालयले व्यहोर्ने भएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई suchanakohak753@gmail.com मा पठाउनु होला । धन्यवाद ।