सूचनाको हक प्रवर्धनमा पत्रकारको भूमिकाबारे केन्द्रित अभिमुखीकरण कार्यक्रम बिहीबार ललितपुरमा सम्पन्न भएको छ ।
नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाको समन्वय तथा ललितपुर महानगरपालिका वडा नं. २१ को सहयोगमा कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष उमिद बागचन्दले पत्रकारहरूले प्राप्त गर्ने सूचनाको प्रकृति, स्रोत र तिनलाई आम नागरिकसम्म प्रभावकारी रूपमा कसरी पु¥याउने भन्ने विषयमा स्पष्ट पारे । उनले समाचार लेखनमा स्रोतको विश्वसनीयता अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्दै प्रायः मौखिक रूपमा सूचना लिने चलन रहेको तर आवश्यक पर्दा लिखित रूपमा सूचना माग नगर्दा कानुनी प्रक्रियामा समस्या आउन सक्ने बताए । कुनै मुद्दा अदालतसम्म पुगेमा समाचारको स्रोत प्रमाणका रूपमा पेश गर्नुपर्ने भएकाले लिखित रूपमा सूचना माग गर्ने अभ्यास विकास गर्न उनले सुझाव दिए ।
ललितपुर महानगरपालिका वडा नं. २१ का वडा अध्यक्ष रविन्द्र महर्जनले वडामात्र होइन, महानगरपालिका नै सूचनाको हक प्रवद्र्धनमा जिम्मेवार रहेको बताए । उनले भने, “सूचनाको हकको महत्वलाई बुझेरै बजेट विनियोजन गरिएको हो ।” आगामी दिनमा पनि पत्रकार महासङ्घसँग सहकार्य निरन्तर रहने उनले उल्लेख गरे ।
त्यस्तै महासङ्घका केन्द्रीय सदस्य सूर्य सुवेदीले सङ्घीय संरचनामा सूचनाको हकसम्बन्धी स्पष्ट व्यवस्था भए पनि सर्वसाधारणको पहुँच अझै सीमित रहेको बताए । यस्तो अवस्थामा सूचनामा पहुँच विस्तार गर्न पत्रकारहरूको भूमिका महत्वपूर्ण हुने उनको भनाइ थियो । प्रत्येक कार्यालयमा सूचना अधिकारी रहने र ती कार्यालयहरूले प्रत्येक तीन–तीन महिनामा सूचनाको अद्यावधिक तथा सार्वजनिक गर्नुपर्ने प्रावधान रहेको जानकारी उनले गराए ।
अग्रज पत्रकार प्रभुनारायण बस्नेतले कानूनभन्दा माथि कोही पनि नहुने भन्दै जो–कोहीले सूचना मागेमा उपलब्ध गराउनु राज्यका निकायहरूको दायित्व भएको बताए ।
महासङ्घ ललितपुरका अध्यक्ष रामहरि कार्कीले पहिले धनसम्पत्ति हुने व्यक्ति नै धनी मानिने भए पनि अहिले समय परिवर्तन भइसकेको उल्लेख गरे । “अहिले जससँग सूचना छ, ऊ नै शक्तिशाली हुन्छ,” उनले भने । महासङ्घसँग सहकार्य गरेकोमा उनले वडाप्रति धन्यवाद पनि व्यक्त गरे ।