नेपाल नागरिक उड्डयन प्राधिकरण यतिबेला नेतृत्वविहीन छ । बुधबार प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि उनी स्वतः निलम्बित भएका छन् । योसँगै निमित्त महानिर्देशक को बन्छ भन्ने चासो बढेको छ ।
क्यानमा महानिर्देशकको मातहतमा पाँचजना उपमहानिर्देशक तहका ६ जना अधिकारी छन् । त्यसमध्ये वरीयताको हिसाबले प्रतापबाबु तिवारी पहिलो क्रममा छन् । त्यसपछि क्रमशः प्रेमनाथ ठाकुर, हंशराज पाण्डे, देवचन्द्र लाल कर्ण, जगन्नाथ निरौला र बाबुराम पौडेल छन् ।
क्यानको इतिहासमा निमित्त मात्रै नभएर महानिर्देशक समेत आन्तरिक रुपमै पदपूर्ति गर्ने अभ्यास छ । त्यसैले यिनैमध्येबाट निमित्त पाउन सक्ने सम्भावना देखिन्छ ।
अहिलेसम्म अधिकारी निलम्बन भएको पत्र अहिलेसम्म आयोगले मन्त्रालयमा पठाएको छैन । त्यसैले बुधबार यसबारे कुनै निर्णय नभएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालले कुनै निमित्त महानिर्देशकबारे कुनै निर्णय नलिएको मन्त्रालयका सचिव हरिकुमार मैनाली बताउँछन् ।
पत्र प्राप्त भएसँगै मन्त्रीको हैसियतले प्रधानमन्त्रीले नै क्यानको निमित्त महानिर्देशक मैनाली बताउँछन् । सरकारले अहिलेसम्म आधिकारिक पत्र प्राप्त नगरेपनि क्यानले वेबसाइटबाट भने महानिर्देशकको रुपमा अधिकारीको नाम हटाइसकेको छ ।
क्यानले डिसेम्बर ३१ मा आफ्नो २७ औं वार्षिकोत्सव मनाउँदैछ । निमित्तको जिम्मेवारी पाउने व्यक्तिले नै वार्षिकोत्सवको नेतृत्व समेत गर्नेछ । अधिकारीको कार्यकाल आगामी माघ १९ गते सकिँदैछ । अर्को कार्यकालको नियुक्तिको प्रयासमा रहेका उनी भ्रष्टाचार मुद्दामा परेपछि उनको सम्भावना टरेको देखिन्छ ।
निमित्तको जिम्मेवारी पाउने व्यक्तिले आगामी कार्यकालको समेत मुख्य दाबेदार हुने सम्भावना देखिन्छ । यद्यपि तत्कालका लागि वरीयताक्रममा पहिलो नम्बरमा रहेका तिवारीले नै निमित्तको जिम्मेवारी पाउने सम्भावना छ ।