प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ लाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन निर्वाचनको काममा संलग्न कर्मचारीले अनिवार्य रूपमा पाँच आचरण पालना गर्नुपर्ने भएको छ । निर्वाचन आयोगले निर्वाचनमा खटिने कर्मचारीलाई तटस्थ र जिम्मेवार भूमिका निर्वाह गर्न निर्देशन दिएको छ ।
निर्वाचन आयोगका अनुसार निर्वाचनको काममा संलग्न कर्मचारीले कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा लाग्न नहुने व्यवस्था गरिएको छ । प्रचारप्रसारमा संलग्न हुनु वा त्यसका लागि सहयोग गर्नु पनि निषेध गरिएको छ ।
त्यसैगरी, कुनै राजनीतिक दल वा उम्मेदवारलाई कार्यालय, आफ्नै घर, भवन, सवारी साधन वा अन्य कुनै सामग्री प्रयोग गर्न दिन नपाइने आयोगले स्पष्ट गरेको छ ।
निर्वाचनलाई प्रतिकूल असर पार्ने विषयमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरी वा नगरी सामाजिक सञ्जालमा पोस्ट, रिपोस्ट, शेयर, कमेन्ट, प्रतिकमेन्ट, लाइभ स्ट्रिमिङ, ट्याग वा मेन्सन गर्न पनि निषेध गरिएको छ ।
यसैगरी निर्वाचन प्रयोजनका लागि सम्प्रेषण गर्नुपर्ने सूचना तथा जानकारीबाहेक आफूलाई प्राप्त अन्य कुनै पनि गोप्य सूचना राजनीतिक दल, उम्मेदवार वा अनधिकृत व्यक्तिलाई दिन नहुने व्यवस्था समेत गरिएको छ ।
यसैगरी आयोगले निर्वाचनसम्बन्धी काम गर्दा वा गराउँदा पूर्ण रूपमा तटस्थ र निष्पक्ष रहनुपर्नेमा जोड दिएको छ । यी आचरणको उल्लङ्घन गरे कानुनबमोजिम कारबाही हुने आयोगले जनाएको छ ।